भदौं महिना भित्र निकास दिने सहमति

काठमाडौं, १३ भदौं । प्रमुख तीन दलले भदौं महिना भित्र राष्ट्रिय सहमति गरेर मुलुकलाई निकास दिने निष्कर्ष निकालेका छन् ।
त्यसका लागि बैठकले तीन दलका शीर्ष नेताहरुलाई सहमति खोज्ने जिम्मेवारी समेत दिएको छ । नयाँ बानेश्वरमा आज बसेको एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले संविधानसभाको बिघठन पछि उत्पन्न राजनीतिक तथा संवैधानिक संकट समाधानका बारेमा छलफल गरेका हुन् ।
उनीहरुले बैठक सकारात्मक रहेको भन्दै छलफल र सम्वादलाई निरन्तरता दिने जनाएका छन् । उनीहरुले भदौं महिना भित्रै निकास निकाल्ने गरेर निरन्तर छलफल चलाउने जनाए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ चुनाव गर्ने वा संविधानसभा पुनःस्थापनाका दुई विकल्प बैठकमा राखेका थिए । दुवै विकल्पमा तीनै दलले सकारात्मक प्रतिक्रिया दिएको एमाओवादीको दाबी छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले तीन दलका शीर्ष नेताहरुलाई प्रस्तावहरुमा साझा सहमति खोज्ने जिम्मेवारी दिएको बताए । उनले जिम्मेवारी पाएका नेताहरुले आन्तरिक परामर्श गरेर निकास दिने उल्लेख गरे ।
कांग्रेसका प्रचार विभाग प्रमुख डा.मिनेन्द्र रिजालले तीन दलवीच सकारात्मक छलफल भएको बताए । उनले निकास आउनेमा आफूहरु विश्वस्त रहेको बताए ।
एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राखेका दुई प्रस्तावमाथि सकारात्मक छलफल भएको जानकारी दिए ।
राष्ट्रिय सहमतिको सरकार गठनमा समेत बैठकमा छलफल भएको थियो ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया