गतिरोध चाँडै अन्त्य गर्नुस् : राष्ट्रपति

काठमाडौं, १३ भदौ । राष्ट्रपति डा. रामवरण यादवले अहिलेको राजनीतिक गतिरोध चाँडै अन्त्य गर्न आग्रह गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति डा. यादवले गतिरोध अन्त्यका लागि दलहरूबीच संवाद थाल्न सुझाव दिएका छन् ।
भेटका क्रममा राष्ट्रपतिले संविधानसभा विघटन भएको तीन महिना बित्न लागे पनि दलहरूबीच सहमति हुन नसकेको भन्दै अध्यक्ष दाहालसमक्ष चिन्ता व्यक्त गरे । उनले पछिल्ला राजनीतिक घटनाक्रम तथा दलहरूबीच भइरहेको कुराकानीबारे दाहालसित चासो राखेका थिए । जवाफमा दाहालले दलहरूबीच संवाद सुरु भएको र चाँडै निकास निस्कने आश्वासन दिलाएका थिए ।
दलहरूबीचको संवाद र सहमतिबाट अहिले मुलुकमा देखिएको अन्योल चाँडै अन्त्य होस् भन्ने चाहना राष्ट्रपतिले व्यक्त गरेको भेटपछि दाहालले पत्रकारलाई बताए । दलहरूबीचको छलफलबाटै चाँडै सहमतिमा पुग्ने विश्वास आफूले दिलाएको जानकारी उनले गराए । ‘दलहरूबीच फेरि संवादको क्रम सुरु भएको छ, सहमतिबाटै अघि बढ्छौँ भनेर मैले राष्ट्रपतिसमक्ष भनेँ,’ उनले पत्रकारसित भने । राष्ट्रपति चाँडै प्रमुख दलहरूलाई बोलाएर छलफल गर्ने मनस्थितिमा रहेको पनि उनको भनाइ थियो ।
राष्ट्रपतिलाई भेट्नुअघि दाहालले कांग्रेस सभापति सुशील कोइरालासित महाराजगन्जस्थित कोइराला निवासमा छलफल गरेका थिए । उनीहरूबीच अहिले देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको थियो । दलहरूबीच विगतमा भएका कमीकमजोरी अन्त्य गर्दै शान्ति, संविधान र राजनीतिक संकटको निकासमा केन्द्रित भई छलफल गर्ने सहमति नेताहरूबीच भएको छ । कोइरालासितको छलफलपछि दाहालले बुधबार बिहान प्रमुख चार दलको बैठक बस्ने बताए ।
दाहालले दलहरूबीच नयाँ ढंगले सहमतिका लागि छलफल भइरहेको बताए । सहमतिका लागि गम्भीर ढंगले जाने विषयमा कांग्रेस नेतृत्वसित छलफल भएको जानकारी उनले गराए । ‘हामीसित सहमतिको विकल्प छैन । अब नयाँ ढंगले अगाडि बढ्छौँ, खुला हृदयले छलफल गरी सहमतिमा पुग्छौँ,’ उनले भने ।
दाहालले प्रमुख दलबीच पछिल्लोपटक भएको बैठकले सहमतिको विकल्प नभएको निष्कर्ष निकाल्दै अवरुद्ध सेना समायोजन प्रक्रिया अघि बढाउने निर्णय गरेर सकारात्मक कामको थालनी गरेको बताए ।
दाहालको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनपछि दलहरूबीचको दूरी बढेका बेला गत आइतबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा शीर्ष नेताहरूले राजनीतिक तथा संवैधानिक संकट समाधानका लागि सोमबारदेखि निरन्तर संवादमा जुट्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया