क्लिनिकमा बालिकाको मृत्यु

विराटनगर, १३ भदौ । क्लिनिकमा उपचार गराउने क्रममा मोरङ अमरदहकी ११ वर्षीया बालिकाको मृत्यु भएपछि प्रहरीले क्लिनिकका सञ्चालकलाई पक्राउ गरेको छ ।

अमरदह–७ का हिरो यादवकी छोरी सञ्जु कुमारीको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले क्लिनिक सञ्चालक भारत कटियारका अर्जुन शर्मालाई नियन्त्रणमा लिएको हो । सोमबार राति फुड पोइजन भएर बिरामी भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको हो । क्लिनिक सञ्चालक शर्मालाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो । उपचारका क्रममा दिएको औषधिको मात्रा बढी भएका कारण बालिकाको मृत्यु भएको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि शर्मा पक्राउ परेका हुन् । अनुसन्धानका क्रममा शर्माले नेपाली नागरिकतासमेत लिएको पाइएको छ । उनले अवैधरूपमा भारतीय प्रमाणपत्र राखेर घरमै औषधि पसल र क्लिनिक सञ्चालन गरिरहेका थिए ।
शर्माले एकसाथ रेनिटिडिन, जिन्टामाइसिन र मेट्रोक्लोप्रामाइड नामक तीन सुई लगातार लगाइदिएपछि बालिकालाई थप च्यापेको थियो । बिरामीको अवस्था नाजुक बनेपछि स्पाक्समो र मेट्रोक्लोप्रामाइड नामक दुई टयाब्लेट पनि शर्माले बालिकालाई खुवाएका थिए । सोमबार राति सवा नौ बजे बिरामी भएपछि उपचार गराउन पुगेका आफन्तले शर्माको लापरवाहीका कारण बालिकाको ज्यान गएको बताए ।
उपचारका क्रममा बालिकाको दुई घन्टापश्चात् मृत्यु भएको थियो । बालिकाको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरिए पनि रिपोर्ट सार्वजनिक गरिएको छैन । प्रहरीले शर्मालाई पक्राउ गर्ने क्रममा उनले क्लिनिक र औषधि पसल अनधिकृतरूपमा सञ्चालन गरिरहेको पाइएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर धजिन्द्र कार्कीले जानकारी दिए । उनले क्लिनिक र औषधि पसल सञ्चालनका लागि कतै पनि अनुमति लिएका छैनन् । उनको शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नक्कली हुन सक्ने आशंकामा छानबिनको घेरामा राखिएको कार्कीले बताए । उनले भारतको बिहारबाट नेपालको अहेवसरहको अध्ययन गरेको बताएका छन् ।

प्रतिक्रिया