महिला र राजनीति

आधा आकाश वा आधा हिस्साको प्रतिनिधित्व गर्ने नेपाली महिलाहरूको वर्तमान अवस्था कस्तो हुनुपर्छ ? यो सबैको चासो तथा चिन्तनको विषय हो । हाल विश्वमा लैंगिक विभेदका कुरा गर्नै हुँदैन । महिला र पुरुष लैंगिक रूपमा मात्र फरक रहेका छन् । शारीरिक भिन्नताबाहेक अरू अर्थमा लिने अधिकार कोही कसैलाई पनि हुँदैन । यति हुँदाहुँदै पनि वर्तमान समयमा नेपालमा महिलाको अवस्था सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपमा समेत पछाडि नै परिरहेको छ । समाजमा रहेका परम्परावादी सोच, चिन्तन तथा दृष्टिकोणले समेत महिला अगाडि बढ्न सकिरहेका छैनन् । पितृसत्तात्मक सोच अजम्बर रूपमा रहेको छ र महिलालाई हेर्ने दृष्टिकोणमा परिर्वतन आउन सकिरहेको छैन । महिलाको सामाजिक सुरक्षामा राज्यले कुनै त्यस्तो कडा नीतिनियम ल्याउन सकिरहेको अवस्था छैन । आर्थिक रूपमा महिलाको आफ्नो हक प्रचलन गर्न पाएका छैनन् । लोकतन्त्र प्राप्ति सँगसँगै महिलाले हरेक क्षेत्रमा प्राप्त गर्दै गएका हकअधिकारलाई ध्यानमा राख्दै भर्खर मात्र छोरासरह छोरीले प्राप्त गरिसकेको पैतृक सम्पत्ति विवाहपछि फिर्ता गर्न नपर्ने कानुन निर्माण गरिएको छ । तर, उक्त कानुनलाई व्यावहारिकतामा ढाल्नुचाहिँ महत्त्वपूर्ण पक्षका रूपमा आउँछ ।
पैतृक सम्पत्तिमा समान अधिकार रहनुका साथै हरेक महिलाको शैक्षिक अवस्थामा पनि विकास हुनु जरुरी हुन्छ । आर्थिक विकासका लागि विभिन्न व्यावसायिक तथा सेवा क्षेत्रमा प्रवेश गरी आयआर्जनजस्ता कार्य अगाडि बढाउँदै आर्थिक सशक्तीकरण गर्नुपर्ने हुन्छ । यस्ता अर्थोपार्जन कार्य अबका दिनमा बढ्दै जानु एकदमै आवश्यक भइसकेको छ । सबै कुराको मुख्य आधार भनेको आर्थिक अवस्था नै भएकाले आर्थिक पक्ष जबसम्म सुदृढ हुँदैन तबसम्म महिलाका हरेक हक, अधिकार, स्वाभिमान तथा स्वतन्त्रतालाई व्यावहारिक रूपमा जीवित राख्न सकिँदैन । त्यसैले पैतृक सम्पत्तिमा समान अधिकारसँगै महिलाले शैक्षिक तथा आर्थिकस्तरको विकास गर्दै जाने हो भने उनीहरू आपैँmमा आत्मनिर्भर हुनसक्छन् । यसले समाजमा उनीहरूको हैसियत आपैँm बढ्दै जानेछ । परम्परागत तथा धार्मिक कार्यले समेत महिलालाई आत्मसन्तुष्टिको साधनका रूपमा व्याख्या गरेको पाइन्छ । आर्थिक महत्त्व नहुने पूर्वीय समाजमा महिलालाई अत्यन्तै आदर र सम्मानका साथ शक्तिकी देवी भगवती, अर्थकी देवी लक्ष्मी, शिक्षाकी देवी सरस्वतीका रूपमा सम्मान गरिन्थ्यो । तर, वास्तविक जीवनमा महिला घरको चौघेराभित्र कैद हुँदै गएपछि महिलाका सम्पूर्ण हकअधिकार कटौती हुँदै गए । र, उनीहरूलाई समाजको बदलिँदो अवस्थामा अधिकारविहीन बनाइएको छ । यसरी हरेक महिलालाई अबला, बेसहारा, कमजोर, सोच्नसक्ने क्षमता नभएको व्यक्तिका रूपमा परिभाषित गरिने गरेको पाइन्छ ।
यसरी हरेक क्षेत्रबाट पछाडि पारिँदै आएका महिला सामाजिक तथा राजनीतिक रूपमा कसरी अगाडि बढ्न सक्छन् र ? महिलालाई घरभित्र मात्र सीमित गरिँदै लगिएपछि स्वत: उनीहरूको हरेक भूमिका बाहिरी समाजमा कम हुँदै जानु स्वाभाविक हो । राजनीतिमा महिलाले चासो दिएर लागेको खण्डमा पोथी बास्यो भन्ने कुराले गर्दा महिलाहरू भित्रभित्रै आफ्ना हक तथा अधिकारप्रति सचेत भएर पनि आफ्ना कुरा तथा व्यावहारिक प्रस्तुति, हरेक कार्यमा निर्णायक भूमिका प्रस्तुत गर्नबाट पनि पछि परिरहेका छन् । यी विभिन्न सामाजिक तथा सांस्कृतिक कारणले महिला राजनीतिमा आउन अत्यन्तै प्रतिकूल अवस्था रहेको हो ।
राजनीतिमा महिला सहभागिता न्यून भएकै कारण हरेक नीतिनिर्माण गर्ने ठाउँमा महिलाको आवाज पुग्नसकेन । आफ्नो प्रतिनिधित्व हुन नसक्दा महिलाका पक्षमा न कानुन बन्यो न त महिलाले कुनै अवसर नै प्राप्त गर्न पाए । हाल राजनीतिमा पछाडि परेका महिला आज आएर अगाडि बढ्न लागि परिरहेका छन् । हरेक महिला संगठित भई हरेक कार्यमा सरिक हुनथालेका छन् । अहिले लोकतन्त्र प्राप्तिसँगै महिलाहरू पनि जुर्मुराउन थालेका छन् । यससँगै उनीहरू आफ्ना हकअधिकार के हुन भनेर खोजी गर्दे अगाडी बढ्न थालेका छन् । अत: अबको देशको बदलिदो परिस्थितिसँगै महिलाको अवस्था सम्पूर्ण लैंगिक विभेद अन्त्य, सामाजिक सुरक्षा, समान कामका लागि समान ज्याला, सम्पूर्ण प्रकारका घरेलु र सामाजिक हिंसाको अन्त्य, शैक्षिक तथा नेतृत्व विकास कार्यमा अवसरजस्ता अधिकार सुरक्षित गरिनुपर्छ । अनि मात्र नयाँ नेपाल निमार्णका लागि एकै रथका दुवै पाटाको महत्त्वपूर्ण भूमिकाले सुन्दर शान्त नेपाल भनेर विश्वमा चिनाउन सकिन्छ । र, नेपाललाई दीर्घकालीन शान्तिको देश भनेर चिनाउन सम्भव हुन्छ ।

प्रतिक्रिया