शिक्षक बनाएबापत रकम असुली

जाजरकोट, १२ भदौ । विद्यालयमा शिक्षक बनाइदिएको भन्दै विद्यालय व्यवस्थापन समितिले मोटो रकम असुल गरेको छ । खगेनकोट गाविस–७ स्थित पञ्चभँयार माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले शिक्षक नियुक्तिमा रकम असुलेको हो । विद्यालयमा लेखापाल नियुक्ति गर्दा दलबहादुर केसीबाट एक लाख ५० हजार रुपियाँ, पिसिएफ कोटामा शिक्षक राख्दा एक लाख २० हजार रुपियाँ असुल गरिएको नवनियुक्त लेखापाल दलबहादुर केसीले बताए ।

केसीले भने, ‘रकम नदिए लेखापाल नियुक्ति गर्दैनौँ भने ।’ उनले जागिरका लागि पनि गैरकानुनी रूपमा रकम दिन बाध्य भएको सुनाए । विद्यालयमा महिला शिक्षकको दरबन्दी खाली भएकोले कोटामा शिक्षक बन्नका लागि दुई लाख रुपियाँ माग गरिएको खुलासा भएको छ । ‘व्यवस्थान समितिले दुई लाख रुपियाँ जसले बुझाउँछ त्यसलाई नै शिक्षक नियुक्ति गर्ने भनेको छ,’ एक शिक्षकले भने, ‘अहिलेसम्म तीन जनाले मात्र दरखास्त दिएका छन् ।’
विद्यालयमा शिक्षक नियुक्तिका लागि शिक्षा कार्यालयबाट विज्ञापन लिँदा जिल्लास्थित सञ्चारमाध्यममा सार्वजनिक सूचना प्रकाशन/प्रसारण नगरी समितिले आफूखुसी गरिरहेको स्थानीयले बताए । शिक्षा कार्यालयमा समेत विज्ञापन लिएको सूचना टाँस गरिएको छैन । शिक्षा अधिकारी गिरमान थापाले छानबिन गरिने बताए । उनले भने, ‘छानबिनमा दोषी पाइए कारबाही हुन्छ ।’

प्रतिक्रिया