प्रहरीले लुकायो सर्वसाधारणको कार

विराटनगर : मोरङ प्रहरीले सर्वसाधारणसँग नियन्त्रणमा लिएको महंगो कार पाँच महिनादेखि लुकाएर राखेको खुलासा भएको छ । कारका धनीद्वारा पुनरावेदन अदालत विराटनगरमा मोरङ प्रहरीविरुद्ध मुद्दा दायर भएपछि प्रहरीको अनियमितता सार्वजनिक भएको हो ।
विनाकारण सवारीसाधन नियन्त्रणमा लिएको भन्दै धरानका गोपाल मोक्तानले जिल्ला प्रहरी कार्यालय मोरङलाई विपक्षी बनाएर पुनरावेदन अदालत विराटनगरमा मुद्दा दायर गरेका हुन् ।
वा ९ च १८०१ नम्बरको आफ्नो स्याब्रोलेट बिट कार मोरङ प्रहरीले विनाकारण नियन्त्रणमा लिएको मोक्तानको दाबी छ । आइतबार दायर गरिएको मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङको नाममा परमादेशको मागसमेत गरिएको छ । अधिवक्ता कमल लामाले प्रहरीले गत चैत पहिलो साता गाडी नियन्त्रणमा लिएर विनाकारण राखेकाले मुद्दा दायर गरिएको बताए । लामाका अनुसार, चालक वीरबहादुर कटुवाललाई सार्वजनिक अपराधमा मुद्दा चलाएर गाडी भने अदालतमा जानकारी नै नदिई प्रहरीले राखेको हो । २२ लाख रुपियाँमा खरिद गरिएको गाडी हिमालयन बैंक धरान शाखाको नाममा छ । हिमालयन बैंकले फाइनान्स गरेको कार प्रहरीले नियन्त्रणमा राखेको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डिएसपी उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय मोरङविरुद्ध मुद्दा दायर भएको जानकारी आफूलाई पनि आएको बताए । उनले बेवारिसे अवस्थामा रहेको गाडी ल्याएको भन्दै कोही आधिकारिक कागजपत्र लिएर आए प्रक्रिया पुर्‍याएर दिन तयार रहेको बताए ।
प्रहरीले मोरङको कानेपोखरीबाट गाडी नियन्त्रणमा लिएको थियो । मोरङकै उर्लाबारीमा भएको डकैती काण्डमा संलग्न भनिएका फणिन्द्र तामाङ गाडीमा चढेको थाहा पाएपछि प्रहरीले पिछा गर्ने क्रममा तामाङ कानेपोखरीमा आइपुग्दा गाडीबाट ओर्लेर भागेका थिए । बीच सडकमा प्रहरीले गाडी तेस्र्याएर रोक्न खोजेपछि उनी फरार भएका थिए । त्यसपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो । तामाङ प्रहरीको मोस्ट वान्टेड सूचीका अभियुक्त हुन् । (सौस)

प्रतिक्रिया