खुट्टाबिनाका ‘क्ल्याइम्बर’

न्युयोर्क : ह्युग हेर नाम गरेका अमेरिकी युवकका दुवै खुट्टा छैनन् । तर, नक्कली खुट्टाको सहयोगले उनले कहालीलाग्दा थुप्रै हिमाल र पहाड छिचोलिसकेका छन् । ‘क्ल्याइम्बिङमा यति रमाउँछु कि भनेर साध्यै छैन,’ उनी भन्छन् ।
किशोरवयमा हिमाल यात्राका क्रममा उनका दुवै खुट्टा काम नलाग्ने भएका थिए । तैपनि, यसले ‘क्ल्याइम्बिङ’ को सौखबाट उनलाई विमुख गराउन सकेन । सन् १९८२ मा १७ वर्षको छँदा उनी माउन्ट वासिंगटन चढ्न अर्का साथीसँग गएका थिए । हिमआँधीले उनीहरूको यात्रा अवरुद्ध गरिदियो । आँधीले दुवैलाई घाइते बनायो । अन्तत: उनले दुवै खुट्टा गुमाउनुपर्‍यो ।
पछिल्लोपटक दुई सय फिट अग्लो चट्टान उक्लिएपछि उनको एउटा खुट्टा खस्न पुग्यो । तर, उनले होसियारीपूर्वक खसेको खुट्टा डोरीले मास्तिर ताने र यात्रालाई निरन्तरता दिए । अमेरिकास्थित म्यासाचुसेट इन्सिच्युट अफ टेक्नोलोजीले हेरका लागि नक्कली खुट्टा बनाइदिएको हो । नयाँ खुट्टाले जीवन औधी सहज भएको उनको अनुभव छ ।
आफ्ना लागि नयाँ खुट्टा दिने प्रविधिप्रति मख्ख पर्दै उनी भन्छन्, ‘प्रविधि झनझन परिष्कृत बन्दै छ । मानिस र मेसिनबीचको सहकार्य अद्भुत बन्दै छ ।’ नक्कली खुट्टाको सहयोगले सग्लो मानिसले भन्दा कठिन काम गर्न सकेकोमा सन्तोष व्यक्त गर्दै उनी भन्छन्, ‘अब त्यो दिन टाढा छैन जब हामी सबै शारीरिक अशक्तताबाट मुक्त हुनेछौँ ।’ नक्कली खुट्टाले हिँडदा कम शक्ति खपत हुन्छजस्तो लाग्छ । ‘साँच्चै खुट्टाको तुलनामा अहिलेको खुट्टा निकै हलुंगो छ, हिँड्न पनि सजिलो,’ उनी सुनाउँछन् ।
हेरको जीवनबाट अरूले प्रेरणा पाऊन् भनेर अमेरिकी टेलिभिजन कार्यक्रम ‘हु सेज आइ कान्ट’ ले उनको कथा प्रस्तुत गर्ने भएको छ । शारीरिक रूपमा अशक्त मानिसले खेलकुद क्षेत्रमा गरेको प्रगतिको गाथा ‘हु सेज आइ कान्ट’ मा प्रस्तुत हुने गरेको छ । (डेलिमेल)

प्रतिक्रिया