समस्या समाधानको विकल्प

नेपाललाई भडखालोमा पुर्‍याउन २०६३ सालपछि उदाएका नेताहरूले विदेशीहरूको पारामा लागेर मुलुकको यो दुर्गति गराए । बुद्धको जन्मभूमि आज विदेशीहरूको रणभूमि बनेको छ । नेपालजस्तो शान्तिप्रिय राष्ट्र आज अफगानिस्तान, इराक र सुडानजस्तो गुहयुद्धमा परिणत हुन लागेको छ । देशको यस्तो हबिगत गराउन नेपालका माओवादी नेता प्रचण्ड र बाबुराम भट्टराईहरू नै हुन् भन्दा आफैँलाई नराम्रो लाग्छ । तर, वास्तविकता यही हो । यिनीहरूलाई भारतीय गुप्तचर संस्थाको सहयोग र निर्देशनबाट भारतमा सुरक्षितसाथ राखिएको रहेछ । पछि कांग्रेस र एमालेका नेताहरूलाई समेत उतै बोलाएर २०६२ सालमा १२ बुँदे सहमति गराए । त्यही मौकामा अमेरिका, युरोपियन राष्ट्र र क्रिस्चियनहरू पैसाको खोलो बगाउँदै यहाँका गरिब बाहुन, आदिवासी जनजातिलाई झुठा आश्वासनको लोभ देखाएर नेपाललाई क्रिस्चियनीकरण गर्न भित्रिए । त्यसरी सत्ता कब्जा गरेर जानी जानी देशलाई डुबाउन खोज्ने सत्तासीन भएका माओवादी, कांग्रेस, एमालेका अगुवाहरूलाई कारबाही गर्ने कि नगर्ने ? अहिले प्रश्न उठेको छ ।
स्मरणीय होस्– ६ वर्षदेखि लगातार भत्ता र करोडौँ सुविधा पचाएर देशलाई जातीय युद्धमा फसाउन खोजिएको छ । सत्ताको लुछाचुँडीमा मात्र लागिरहने कांग्रेस, एमाले, मधेसी अगुवाहरूलाई माओवादीले हतियार बनाएर प्रयोग गर्दा पनि बुझ बचाउनेहरू घोर निन्दनीय छन् । यहाँका भोकाहरूलाई छानी–छानी भारतीय र पश्चिमी देशका गुप्तचर संस्था र क्रिस्चियन संगठनहरूबाट प्राप्त पैसा खाएर आफ्नो मातृभूमिको चिरहरण गराउन प्रजातन्त्रको जामा लाएर यो पूण्यभूमि फसाउन खोज्नेहरूलाई अराष्ट्रिय भन्ने कि नभन्ने ? नेपाल किन यसरी डुब्ने स्थितिमा पुग्यो ? राजा पाखा लागेको स्थितिमा यसको जिम्मावारी अब कसले लिन्छ ? देशलाई भडखालोमा पार्न अझै माओवादीका नेताहरू सक्रिय भएर लागिरहेका छन् । उनीहरू कुनै हालतमा देश जेसुकै होस् सत्ता छोड्ने पक्षमा छैनन् । कांग्रेसका सुशील कोइराला, रामशरणहरू, माधव नेपाल, खड्ग ओलीहरूले जति धमास दिए पनि कांग्रेस, एमालेलाई माओवादीले गणनामा नै राखेको छैन । किनकि भारतीय गुप्तचर संस्थाले नेपालको अधोगति गराउन मात्र उनीहरूलाई प्रयोग गरिरहेको छ । कांग्रेस, एमाले र मधेसीहरूलाई भारतले पत्याउँदैन पनि ।
हिजो २०४७ सालको संविधानका निर्माता कांग्रेस, एमालेहरू संसारमा २०४७ सालको संविधान सर्वोत्कृष्ट छ भन्थे । उनीहरूले नै भारतीय डिजाइनको संविधानसभाबाट संविधान बनाउने बाटोमा हिँडेर संविधानसभा माग गरे । आखिरमा संविधानसभालाई मागिखाने भाँडो बनाएर नेपाललाई विखण्डन गराउन खोजे । यसले गर्दा देशभित्र हत्या, बलात्कार, लुट, अपहरण, गुण्डागर्दीले परकाष्ठा नाघ्यो । जनता असुरक्षा, डर, त्रासबाट आतंकित नेपाली महँगी, अभावबाट आहत भए । यसैगरी भ्रष्टाचार, घोटाला र सत्ताको दुरुपयोगबाट पीडित भए । देशको माया नगर्ने माओवादीका नेताहरू र विदेशीहरूको संयुक्त दुस्प्रयासबाट नेपालको पहिचान र गौरवमय परम्परा धराशयी बनाउने काम भइरहेको छ । विदेशीहरू जनजातिका केही अगुवाहरूलाई आफ्नो बनाएर नेपाली जनतालाई जातीय युद्धमा फसाउन सक्रिय बनेर लागेका छन् । अनेकतामा एकताको बाटोमा आबद्ध नेपाली जनतामा आज साम्प्रदायिक तानातानले रुवाबासी छ ।
यिनीहरू कोही संसद्वाद र साम्यवाद भन्छन्, कहिले जनगणतन्त्र र कहिले लोकतन्त्र भन्छन् । माओवादीले हिजो पन्ध्रौँ हजार निरीह जनता, सैनिक र प्रहरीहरूको हत्या, हजारौँ जनताको अंगभंग र विस्थापित गराउने र विकासका पूर्वाधारहरू ध्वस्त बनाउने काम गरे । विभिन्न जातिलाई एउटै नेपाली जातिमा परिणत गराउनु पर्नेमा नेपाललाई जातीय साम्प्रदायिक जञ्जालमा माओवादीले नै फसाए । जति देश बिग्रन्छ उति माओवादी नेता किन खुसी छन् ? यही एउटा रहस्यमय कुरा छ ? माओवादीहरू मुखले राष्ट्रवादी हाँै भन्छन् । हिट्लर पनि आफूलाई देशभक्त ठान्थे । उनको विनाश यस्तै जातीय कारणले भयो । माओवादीभित्रका सबै प्रचण्ड र बाबुराम भट्टराईजस्तो आफ्नो देश विदेशीको रणभूमि बनाउन चहँदैनन् । माओवादीहरूले बुझुन् कि जातीय कुरा र माओवादी छाड्दै गरेका पूर्वलडाकु नै भोलि उनीहरूकै लागि घातक हुन सक्छन् । यस्तै रहिरहने र माओवादी नेता खास गरेर प्रचण्ड र बाबुराम सत्ता नछाडेर हतियार आतंकको धम्की दिन्छन् भने भोलिका दिनमा त्यो माओवादी नेतातर्फ नै फर्कन सक्छ ।
चटकेले विष्णु भगवान्को जस्तो रूप धारणा गरेर हिँड्दैमा कसले पत्याउँछ ? यो खालको जालसाजी धेरै दिन टिक्दैन । वास्तवमा माओवादी नेताहरू–प्रचण्ड, बाबुराम भट्टराईहरू जनतालाई भ्रममा राख्दै आफ्नो उद्देश्य पूरा गर्न खोज्दै छन् भन्ने कुरा सारा दुनियाँलाई थाहा हुँदै छ । तर, असत्यको कहीँ पनि जित हुँदैन, सत्यकै विजय हुन्छ । नेपालमा पनि २०६२ सालपछि ७ जना ठगहरूले विदेशीको आड पाएर तथानाम गर्न खोजेकाले नेपालमा राजाले पनि नारायणहिटी छोडेर नागार्जुन जानुपरेको थियो । यो अत्याचार नेपाली जनताले कति दिन खप्लान् ? सहमति–सहमति कतिदिन सहमति ? सहमतिको नाममा विनाप्रतिपक्ष संसदीय प्रजातन्त्रलाई अधिनायकवादी स्वरूपमा परिणत गराइँदै छ । जनता सार्वभौम भन्ने माओवादी, कांग्रेस, एमालेहरूले जनताको झनझन अपहेलना गर्दैछन् । मठाधीश बनेर माओवादीहरू नेपालको अस्तित्व समाप्त गर्नमा लागेका छन् । तर, सबैले ख्याल गरुन् कि सधैँ देश यस्तै अन्धकारमा रहिरहँदैन । ‘हिजो खायो खिरैखिर भोलि गयो तिरैतिर’ हुन सक्छ ।
सत्तासीन नेता रछ्यानका फूलको माला लगााएर रमाइरहेका छन् । माओवादी सेनाको त्रास देखाएर पश्चिमा देशहरू पैसाको खोलो बगाएर क्रिस्चियनीकरण र फ्रि तिब्बतको रणनीति लागूगर्न नेपालमा पसेका छन् । एसियामा क्रिस्चियनहरूको अमानवीय चाल देखेर चीनका राष्ट्रपति हुजिन ताओले एसियामा बढ्दो क्रिस्चियनीकरणको विरोधमा सन् २०११ अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा भनेका छन्– ‘पश्चिमा क्रिस्चियन नीतिमा आधारित संस्कृति र विचार फैलाएर चीनमा आफ्नो पकड जमाउने र त्यसपछि चीनलाई विभाजन गर्ने लक्ष्यका साथ दीर्घकालीन रणनीति बनाएर काम गरिरहेकाले बुझेर सचेत हुन र प्रतिवाद गर्दै चिनियाँ मौलिकपनको संरक्षण गर्न/गराउन हामी सबै केन्द्रित हुन जरुरी छ ।’ त्यस्तै नेपालमा माओवादीहरू क्रिस्चियनको इसारामा प्रशस्त पैसा लिएर नेपाललाई क्रिस्चियनीकरण गर्नमा लागेका छन् । राज्यसत्तामा बाटो बिराएर हिँडेकाहरू कोही पनि टिक्न सक्दैनन् । अत: राष्ट्र खतरामा छ । राष्ट्रलाई निकास दिने हो भने सबैको सहमतिमा राम्रो शासनका लागि कडा अनुशासनको नीति अवलम्बन गरेर संसदीय प्रजातन्त्रलाई जीवन्त राख्न २०४७ सालको संविधानमा टेकेर नेपाललाई हिँडाउन सकिन्छ । २०४७ सालको संविधानमा फर्किनु नै हाम्रो बाध्यता हो । संविधानसभा असफल भएपछि वा सत्ता अफापसिद्ध भएपछि संसारका कति देशहरूमा पुरानै संविधान र शासन प्रणालीलाई अपनाइसकेका अनेकौँ घटना छन् । नेपालमा पनि २०६३ साल वैशाख ११ गते राजासँग सम्झौता हुँदा चार वर्षअगाडि कांग्रेसी सत्ताले आफैँ विघटन गरेको प्रतिनिधिसभा ब्युँतिन्छ भने देश संकटबाट मुक्त गराउन २०४७ सालको संविधान किन ब्युँतिदैन ?

प्रतिक्रिया