सालकलाई बचाउनै गाह्रो

काठमाडौं, ११ भदौ । आहारा र वासस्थानको तालमेल नमिल्दा दुर्लभ एवं संरक्षित वन्यजन्तु सालक बचाउन हम्मेहम्मे परेको छ । राजधानी आसपास बर्सेनि भेटिने सालकको उद्धार गरी बचाउन खोज्दा पनि दुई/चार महिनाभन्दा बढी बचाउन नसकेपछि डेढ वर्षदेखि सदर चिडियाखानाले सालक राख्न छाडेको छ ।
‘जतिसुकै स्याहारसुसार गर्दा पनि ल्याएको केही दिन वा महिनाभन्दा बढी सालकलाई बचाउनै सकिएन,’ सदर चिडियाखाना जावलाखेलका भेटेरीनरी डाक्टर जीवन थापाले सौर्यसँग भने, ‘त्यसैले डेढ वर्षदेखि चिडियाखानामा सालक राख्नै छाड्यौँ ।’
उनले चिडियाखानाभित्र प्राकृतिकजस्तै वासस्थान र आहाराको व्यवस्था गरिएको भए पनि सालकलाई नौ महिनाभन्दा बढी बचाउन नसकिको बताए । उनका अनुसार लजालु र मानिस आएको चाल पाउनासाथै गुजुल्टिएर ढुंगाजस्तै भएर बस्ने यो जन्तुको अध्ययनमा समेत समस्या भएको छ । सदर चिडियाखानामा २०५८ देखि हालसम्म उपत्यका आसपासबाट उद्धार गरेर ल्याइएका २२ सालकमध्ये एउटा मात्रै सबैभन्दा बढी नौ महिना बाँचेको रेकर्ड छ । बाँकीलाई ल्याएको केही दिनदेखि दुई चार महिनाभन्दा बढी बचाउन सकिएन । चिडियाखानामा ०५८, ०६१ र ०६९ मा दुई/दुई, ०६२ र ०६३ मा तीन/तीन, ०६७ मा ६ र ०६८ मा चारवटा सालक ल्याइएको थियो ।
चिडियाखानामा सालक मर्ने क्रम नरोकिएपछि पछिल्लो समय उद्धार गरेर ल्याइएका सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग मिलेर जंगलमा छाडिँदै आएको थापाले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित सालक पहाड र तराईमा पाइने लजालु र कत्ला भएको जनावर हो । यसले कमिला र धमिरा खान्छ भने जंगलको ओसिलो माटो खनेर भित्र बस्छ । एक त समाउनै गाह्रो, समाउन सके पनि गुजुल्टिएर ढुंगाजस्तो भएर केही गर्न नमिल्ने हुँदा सालकको अध्ययन गर्न समस्या आएको विभागले जनाएको छ ।
‘सालकको स्वभाव र कडा बनावटले यसको अध्ययन गर्नै गाह्रो छ, अध्ययनविना जोगाउन गाह्रो,’ विभागका वरिष्ठ इकोलोजिस्ट डा. महेश्वर ढकालले भने, ‘त्यसैले उद्धार गरिएका सालक नजिकका वनमै छाड्ने गरेका छौँ ।’
उनले सालक शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, नजिकका सामुदायिक वन र राष्ट्रिय वनमा छाड्ने गरिएको जानकारी दिए । सालकको मासु खाँदा क्यान्सर नलाग्ने, गर्भपतन रोक्न औषधीको काम गर्नेजस्ता मान्यता रहेकाले यसको तस्करीसमेत हुँदै आएको छ ।
अध्ययन नभएकै कारण सालकको संख्या कति छ भन्ने तथ्यांक कुनै निकायसँग छैन । नेपालमा इन्डियन र चाइनिज गरी दुई प्रजातिका
सालक पाइन्छन् ।

प्रतिक्रिया