सरकार–सशस्त्र मोर्चाबीच सहमति

भैरहवा, ११ भद्रौ । सरकार र तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चाबीच भएको वार्तामा पाँचबुँदे सहमति भएको छ । शान्तिभूमि लुम्बिनीमा आइतबार भएको वार्तामा मोर्चासँग रहेको हतियार सरकारलाई बुझाउने र मोर्चाका संयोजक तथा सदस्यलाई सरकारले सुरक्षा दिनेलगायत सहमति भएको हो ।

वार्ता मोर्चाका थुनुवा तथा बन्दी एवं मुद्दा चलेका कार्यकर्ताको अद्यावधिक विवरण मोर्चाले शान्ति मन्त्रालयमा बुझाउने, यसअघि भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै आगामी वार्ता आवश्यकताअनुसार आपसी सहमतिमा तय गर्ने पनि सहमति भएको छ । सहमतिपत्रमा शान्तिमन्त्री टोपबहादुर रायमाझी र मोर्चाका तर्फबाट संयोजक सञ्जयकुमार गुप्ता उर्फ कौटिल्यले हस्ताक्षर गरेका छन् । लुम्बिनीको होटल होक्केमा आइतबार दुई घन्टासम्म चलेको वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री रायमाझीको नेतृत्वमा शान्ति मन्त्रालयका सचिव धुव्रप्रसाद शर्मा र सहसचिव दीपेन्द्रनाथ शर्मा सहभागी थिए । यस्तै, मोर्चाका तर्फबाट मोर्चाका संयोजक शर्माको नेतृत्वमा रविदत्त मिश्र उर्फ राजगुरु र सत्यनारायण शाह थिए ।
वार्तापछि मोर्चाका तर्फबाट सहभागी कौटिल्यले शान्तिपूर्ण राजनीतिका लागि वार्तालाई महत्त्वका साथ लिने बताए तर संघीयता र गणतन्त्र खतरामा पार्ने काम भएमा फेरि हतियार उठाउने चेतावनीसमेत दिएका छन् । सरकार र मोर्चाबीच यसअघि दुई चरणको वार्ता सम्पन्न भएको थियो । पहिलो वार्ता ०६८ असार ३० मा हेटौंडामा भएको थियो भने दोस्रो वार्ता ०६८ पुस १६ मा वीरगन्जमा भएको थियो । ०६८ असारमा भएको पहिलो चरणको वार्तामा सरकारका तर्फबाट शान्तिमन्त्री पम्फा भुसाल र मोर्चाका तर्फबाट संयोजक प्रह्लाद गिरी उर्फ पवन सहभागी थिए । त्यसैगरी, पुसमा सम्पन्न वार्तामा सरकारका तर्फबाट सत्य पहाडी र मोर्चाको तर्फबाट पवन सहभागी थिए । सरकारसँग मोर्चाको यो तेस्रो चरणको वार्ता हो । वार्ताका लागि मोर्चाका सदस्यहरू भारतीय गाडी एच आर १२ ५३३५ नं. मारुती कार र युपी ३२ विडब्लु ४००१ नं.को बलेरो जिपमा वार्ता स्थलमा आएका थिए । मोर्चाले सार्वभौमसत्ता सम्पन्न तराई प्रान्तको माग गर्दै वि.सं. ०६१ देखि तराई केन्द्रित भई सशस्त्र युद्ध गर्दै आएको थियो ।

प्रतिक्रिया