सहमति खोज्न तीन दल सहमत

काठमाडौं, १० भदौं । एकीकृत माओवादीले ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’लाई धेरै चासो नदिन उल्लेख गरेपछि प्रमुख तीन दल मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि विश्वासको वातावरण निर्माण गरेर जान सहमत भएका छन् ।
लामो समय पछि माओवादी लडाकुको रेखदेख समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा आज बसेको शीर्ष बैठकले विश्वासको वातावरण निर्माण गरेर सहमति खोज्ने निष्कर्ष निकालेका हुन् ।
सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता भीम रावलले एमाओवादीले बैठकमा गठबन्धनलाई धेरै महत्वमा नदिन आग्रह गरेको जानकारी गराएको बताए । ‘एमाओवादीले गठबन्धनलाई खासै महत्व नदिएको जनाएको छ,’ उनले भने, ‘एमाओवादीले राजनीतिक रुपमा डिफेन्स गर्न मात्रै गठबन्धन बनाएको हामीलाई जानकारी गराएका छन् ।’
एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि तीन दलका वीच आजको बैठकबाट विश्वासको वातावरण निर्माण भएको दाबी गरे । ‘प्रमुख तीन दलवीच अहिले सम्म देखएको अविश्वास हटाउने काम भएको छ,’ उनले भने, ‘सहमतिका लागि आगामी दिनमा सम्वाद र छलफल गर्दै जाने छौं ।’
उनले संविधान, शान्ति प्रक्रिया, राष्ट्रिय सहमतिको सरकारलगायतका बारेमा पनि सँगसँगै निकास खोज्न शीर्ष नेताहरु सहमत भएको बताए ।
कांग्रेस नेता मिनेन्द्र रिजालले राजनीतिक गतिरोधको अन्त्य गर्ने सहमति भएको बताए । उनले वार्ता र सम्वादलाई जारी राख्न तयार रहेको भन्दै सोमबार बस्ने विशेष समितिमा शान्ति प्रक्रिायका बारेमा छलफल हुने उल्लेख गरे ।
तीन दल एमाओवादी, कांग्रेस र एमालेका वीच झण्डै पानी बाराबारको अवस्थामा पुगेका समयमा शीर्ष नेताहरुले निकास दिन सहमति गरेका हुन् ।
शीर्ष बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया