सुनसरी र नक्साललाई बक्सिङ सफलता

काठमाडौं, १० भदौ । सुनसरीले प्रथम नोबिसकप राष्ट्रव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको १८ वर्षमुनिको टिम च्याम्पियनको उपाधि शनिबार जितेको छ ।
समग्रमा सुनसरीले तीन स्वर्ण जित्यो । उक्त उमेरसमूहमा मकवानपुरका सुशन मानन्धर उत्कृष्ट मुक्केवाज चुनिए भने १८ वर्षमाथि नक्साल ‘ए’ २ स्वर्ण र १ रजतसाथ शीर्षस्थानमा रहयो । मेघदूत ‘ए’ का माणिक शाही उत्कृष्ट मुक्केवाज ठहरिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको ४२–४४ केजीको फाइनलमा मकवानपुरका सोम लामाले जुम्लाका सर्जन परियारलाई हराएर स्वर्ण जिते । ४४–४६ केजीमा झापाका राजेश हेमरन पहिलो भए ।
फाइनलमा उनले नवलपरासीका किरण विकलाई पाखा लगाए । ४६–४८ केजीमा सुनसरीका सन्तोष राईले शीर्षस्थान हात पारे । फाइनलमा उनले नवलपरासीका अमृत विकलाई निराश पारे । ४८–५० केजीमा मकवानपुरका सुशन मानन्धरले काठमाडौंका सञ्जय भुजेललाई हराउँदै शीर्षस्थान कब्जा गरे ।
सुनसरीका निर्मल इजाम ५०–५२ केजीमा पहिलो भए । उनले उदयपुरका दीपक मगरलाई हराए । ५२–५४ केजीमा काठमाडौंकाा विष्णु बुढामगरले जुम्लाका कलन रावललाई पाखा लगाउँदै पहिलो स्थान हात पारे । ५४–५७ केजीमा सुनसरीका विराज राई, ५७–६० केजीमा यङस्टारका सन्तोष आलेमगर, ६०–६३ केजीमा थानकोटका विश्व महर्जन तथा ६६–७० केजीमा बोसीगाउँ ‘ए’ का रोहिन महर्जनले स्वर्ण हात पारे ।
१८ वर्षमाथिको ४६–४९ केजीमा मेघदूत ‘ए’ का माणिक शाही, ५२ केजीमा नक्साल ‘ए’ का लक्ष्मण तामाङ, ५६ केजीमा पाटनका रोहित अवाले, ६० केजीमा बाँकेका हेमन्तकुमार शाही, ६४ केजीमा नक्साल ‘ए’ का निवास तण्डुकार, ६९ केजीमा भक्तपुर ‘ए’ का सन्दीप ब्याञ्जु, ७५ केजीमा पाटनका सुजन महर्जन तथा ८१ केजीमा गोकुल गुरुङले स्वर्ण चुमे ।
चारदिने प्रतियोगिताको १८ वर्षमुनि ३५ टिमका १०८ खेलाडीले १० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । ८ स्वर्ण समावेश १८ वर्षमाथि ३७ टिमका १०९ खेलाडी सहभागी थिए । अहिलेसम्म कुनै प्रतियोगिता नखेलेका नयाँ खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको नेपाल बक्सिङ संघले जनाएको छ ।

प्रतिक्रिया