आउन थाले हिउँदका आगन्तुक

काठमाडौं, १० भदौ । हिउँदको जाडो छल्न उत्तरी देशबाट आगन्तुक चरा नेपाल आउने क्रम सुरु भएको छ । धेरैजसो चरा असोज र कात्तिकमा आउने भए पनि एक/दुई प्रजातिका भने साउनमै आइसकेको चरा विशेषज्ञले जनाएका छन् ।
हरेक वर्ष जाडो छल्न नेपाल आउने यस्ता चराका प्रजातिमध्ये रूख सुडसुडिया (ग्रिन स्यान्ड पाइपर) र टिमटिमा (कमन ग्रिन स्यांक) तराई क्षेत्रका सिमसारमा आइसकेको चराविशेषज्ञ डा. हेमसागर बरालले बताए । डा. बरालका अनुसार ती दुई प्रजाति सबैभन्दा पहिले भित्रिने हिउँदे आगन्तुक चरा हुन् ।
‘सुरुमै नेपाल भित्रिने चरा आइसकेका छन्, अब अन्य प्रजातिका चरा क्रमश: आउँछन्,’ उनले सौर्यसँग भने, ‘रूख सुडसुडिया र टिमटिमा आउनु भनेको हिउँदे आगन्तुक चरा नेपाल भित्रिन सुरु भएको संकेत हो ।’
उत्तरी चीन, मंगोलिया, रसिया, साइबेरिया, कोरियालगायत देशबाट करिब डेढ सय प्रजातिका हजारौँ चरा जाडो छल्न हरेक वर्ष नेपाल आउँछन् । तिनीहरू तराईका जलाशय, नदी, सिमसार क्षेत्रमा रहेर हिउँद काट्छन् र गर्मी सुरु हुनुसाथ रैथाने वासस्थानतर्फ फर्कन्छन् । विशेषज्ञका अनुसार त्यसबाहेक ५० प्रजातिका चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुकतर्फ लाग्छन् । अक्टोबरदेखि उत्तरी मुलुकमा बाक्लो हिउँ पर्ने हँुदा किरा–फट्यांग्रा तथा अन्य आहारा नपाइने र बस्न पनि गाह्रो हुने भएकाले चरा जाडो छल्न नेपाल आउने गरेका हुन् ।
हिउँदमा जाडो छल्न, आहाराका लागि र वर्षायाममा बच्चा कोरल्न आगन्तुक चरा आउनु नियमित भए पनि पछिल्ला वर्ष यस्ता चराको संख्या कम हुँदै गएको छ । ‘पहिले–पहिले डेढ सय प्रजातिका चरा बथानका बथान तराईमा आउँथे तर अचेल सानो समूह र एक्लाएक्लै देखिन्छन्,’ हिमाली प्रकृतिका प्रमुख प्राविधिक सल्लाहकारसमेत रहेका डा. बरालले भने, ‘नेपालमा सिमसार क्षेत्रको ह्रास, वासस्थान घट्दो र चोरी–सिकारका कारण आगन्तुक चरा घटेका हुन् ।’
हिउँदे आगन्तुक चरामध्ये अढाई किलोको शरीर हुने खोया हाँस (बार हेडेड गुज) विशेष प्रजातिको चरा मानिन्छ । जुन विश्वको सबैभन्दा उच्च भूभागमा बस्ने र नौ हजार तीन सय ७५ मिटरको उचाईमा उडिरहेको देखिएको विशेषज्ञ बताउँछन् । उनीहरूका अनुसार छिमेकी मुलुक चीन र भारतमा यो प्रजातिको चरा बढी मात्रामा पाइने भए पनि हिउँदमा नारायणी, कर्णाली, कोसी र यिनका सहायक नदीमा समेत यो चरा देखिन्छ ।

प्रतिक्रिया