जाजरकोटमा भाइरल ज्वरोको प्रकोप

जाजरकोट, १० भदौ । जाजरकोटमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ । जनस्वास्थ्य कार्यालय जाजरकोटमा दैनिक एक सय ५० भन्दा बढी भाइरल ज्वरो र निमोनियाका बिरामी उपचारका लागि आउने गरेका छन् ।

लामो समयदेखि भाइरल ज्वरोको प्रकोप बढे पनि स्वास्थ्य संस्थामा आवश्यक औषधि नहुँदा उपचारमा समस्या परेको छ । औषधि अभावले भाइरललगायतको महामारीजन्य रोग नियन्त्रणमा आउन सकेको छैन । जिल्ला जनस्वास्थ्य र अन्य स्वास्थ्य संस्थामा मेट्रोन निराजोल, पारासिटामोल, कोटिरन जिंक, आइरन चक्की, एमोक्सिस, मेगापान, सिप्रो, मेट्रो इन्जेक्सनलगायत दर्जनभन्दा बढी जटिल प्रकृतिका रोगको औषधि अभाव भएको जनस्वास्थ्य प्रमुख डा.विवेककुमार
लालले बताए ।
‘दूषित पानीका कारण ज्वरो, टाइफाइड, निमोनिया र आउँरोगको संक्रमण बढेको छ,’ प्रमुख लालले भने, ‘तर आवश्यक औषधिको अभाव छ । कार्यालयमा आएको बजेटबाट खरिद गरेको औषधिले जेनतेन धानेका छौँ ।’ समयमै औषधि आपूर्ति नभए विभिन्न रोगको प्रकोप नियन्त्रणमा कठिनाइ उत्पन्न हुन सक्ने डाक्टर लालले बताए ।
स्वास्थ्य संस्थामा औषधि अभाव भएपछि सेवाग्राही निजी मेडिकलको महंगो र कडा औषधि प्रयोग गर्न बाध्य छन् । सरकारले नि:शुल्क बाँड्ने औषधि अस्पतालमा नपाउँदा निजी मेडिकलबाट किन्नुपरेको स्थानीय सुनिता विश्वकर्माले बताइन् । उनले भनिन्, ‘अस्पतालमा जाँच गराएर औषधि नभएको भन्दै मेडिकलमा पठाउँछन् । औषधि महंगो भए पनि प्रयोग गर्नैपर्‍यो ।’
सरकारले जिल्ला अस्पतालबाट ८५, प्राथमिक स्वास्थ्य केन्द्रबाट ४०, स्वास्थ्य चौकीबाट ३५ र उपस्वास्थ्य चौकीबाट ३० प्रकारका औषधि उपलब्ध गराउने भने पनि जाजरकोटमा भने कागजमा सीमित छ । आपूर्ति व्यवस्था महाशाखाअन्तर्गतको केन्द्रीय मेडिकल स्टोरले गत आर्थिक वर्षमा जिल्लामा दस प्रतिशतसम्म पनि औषधि पठाउन सकेन । स्टोरले ग्यास्ट्रिक इन्जेक्सन र क्यानुला २० पिस मात्र पठाएको कार्यालयले जनाएको छ । औषधि ढुवानी हुन नसकेर केन्द्रीय मेडिकल स्टोर पथलैया, बारामा थन्किएको छ । चार महिनायता जिल्लामा औषधि आपूर्ति हुन नसकेको जिल्ला जनस्वास्थ्य स्वास्थ्य प्रमुख लालले जानकारी दिए ।

प्रतिक्रिया