राष्ट्रपति विरुद्ध सडकमा ओर्लने चेतावनी

काठमाडौं, ९ भदौ । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले फेरि पनि अध्यादेश रोके राष्ट्रपति डा.रामवरण यादव विरुद्ध सडकबाट प्रतिबाद गर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज आयोजित साक्षत्कारमा उनले आइतबार बस्ने मन्त्रिपरिषदले अध्यादेश ल्याउने बताए । ‘संसद नभएको बेला अध्यादेश ल्याउनु संवैधानिक बाटो हो,’ उनले भने, ‘अध्यादेश पुनः रोके राष्ट्रपति विरुद्ध बैचारिक र राजनीतिक रुपमै सडकमा ओर्लन्छौ ।’
राष्ट्रपतिले यस अघि अस्वीकार गरेका निर्वाचन सम्बन्धी दुई अध्यादेशसमेत ल्याउने तयारी भएको उनको भनाई थियो ।
कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सरकार अध्यादेशबाट शासन सञ्चालन गर्ने रणनीतिका साथ अगाडि बढे राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउनु पर्ने बताए ।
उनले भने, ‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर अध्यादेशका बारेमा सचेत गराउनु पर्छ ।’
एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईले सरकार निरकुंशता तिर उन्मुख रहेकाले राष्ट्रपतिको संवैधानिक दायर फराकिलो भएको दाबी गरे । उनले संवैधानिक क्रियाशिलताका लागि राष्ट्रपतिले थप कदम चाल्नु पर्ने आवश्यक्ताल रहेको बताए ।

प्रतिक्रिया