म वाहियात मानिसका लागि लेख्दिनँ

विश्व साहित्यमा चिरपरिचित नाम हो, बर्तोल्त ब्रेख्त । जर्मनीमा जन्मिएका उनका कविता, नाटकलगायत रचनाले राष्ट्रियताको साघुरो घेरा तोड्दै विश्वभरका साहित्यप्रेमीको मनमा डेरा जमाएका छन् । प्रगतिवादी विश्वसाहित्यका महान् धरोहर ब्रेख्तका रचना दोस्रो विश्वयुद्ध र तत्पश्चात्को शितयुद्धकालीन विषम परिस्थितिमा पनि मानव मात्रको मुक्तिका लागि आवाज उठाउने सवालमा शिथिल भएनन्, बरु झन् धारिलो र आक्रामक भएर देखापरे । यिनै ब्रेख्तसाग बर्नार्ड गुलेमिनले सन् १९२६ मा अन्तर्वार्ता लिएका थिए । ब्रेख्तको अन्तर्वार्ता नेपालका साहित्यप्रेमीलाई रुचिकर हुने ठानेर सो अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत गरिएको छ :

बर्तोल्त ब्रेख्त, विश्वप्रसिद्ध साहित्यकार
मैले तपाईंलाई कविका रूपमा र नाटककारका रूपमा आदर गरेँ भने के म गलत हुन्छु ?
मेरा कविताको बढी नै निजी चरित्र छ । ती बेन्जो वा पियानोका लागि निर्दिष्ट गरिएका छन् र तिनले अनुकरणात्मक निकासको माग गर्छन् । अर्कातिर मेरा नाटकले मेरा निजी अनुभूतिलाई प्रतिविम्बन गर्दैनन्, संसारको अनुभूतिलाई प्रतिविम्बन गर्छन् । अर्का शब्दमा वस्तुगत रूपमा लिइएका भौतिक तत्त्वहरू, स्वाभाविक र कवितात्मक अर्थमा विरोधी भावनाहरू ।
तपाईंका नाटकको उत्पादनमा सधैँ त यस्तो पाइँदैन नि ?
कुनै पनि कुरा अपेक्षा गरिएजस्तो हुँदैन । ती अधिकांशत: एकदम गलत रूपले खेलिएका छन् । उनीहरूले त्यस्तो कविलाई उत्पादन गरेका छन् जसलाई उनीहरू ममा छ भन्ने सोच्छन्, उनीहरू ममा त्यस्तो देख्छन् जुन म विरलैले मेरा नाटकबाहिर छु र निश्चत रूपमा नाटकहरूभित्र त छँदै छैनँ ।
त्यसो हो भने तपाईं आफ्ना पात्र र घटनामा र नाटकमा अभिव्यक्त गरिने सम्बन्धित सबै कुरामा लेखकको काव्यात्मक सहभागितालाई अस्वीकार गर्नुहुन्छ हैन ?
म थिएटरसम्बन्धी कुनै पनि कुराभित्र मेरा भावना प्रवाहित हुन अनुमति दिन्नँ । त्यसले संसारलाई विकृत पार्छ । म अत्यधिक मात्रामा बौद्धिकतामा आधारित चित्रणको शास्त्रीय, खरो विधि अपनाउने प्रयास गर्दछु । म त्यस्ता वाहियात मानिसका लागि लेख्तिनँ जो आफ्ना हृदयका तारलाई झंकृत पार्नुलाई बढी मूल्यवान् ठान्छन् ।
अनि तपाईं कसका लागि लेख्नुहुन्छ त ?
त्यस खालका मानिसका लेख्छु, जो आफूलाई आनन्दित बनाउन थिएटरमा आउँछन् र आफ्ना टोपीहरू थिएटरभित्र बिर्सेर हिँड्न हिचकिचाउँदैनन् ।
तर अधिकांश मानिस त आफ्नो हृदयलाई पोख्न चाहन्छन् हैन र ?
दर्शकलाई सम्मान गर्ने एक मात्र तरिका उनीहरूको बोधको स्तरलाई सम्भव भएसम्म उच्च रूपमा अनुमान गर्नु हो । सत्र वर्षे ठिटाहरूमा हुने सरलता जनतामा हुन्छ भन्ने विश्वास गर्नु एकदमै गलत हो । म दिमागलाई सम्बोधन गर्छु ।
म तपाईंका सामग्रीमा कहिलेकाहीँ बौद्धिक गहनताको अभाव पाउँछु । तपाईं घटनाहरूलाई पारदर्शी बनाउनु हुन्न ?
म नग्न घटनाहरू प्रदान गर्छु, त्यसो भयो भने जनसाधारण आफैँले सोच्न सक्छन् । यही कारण तीक्ष्ण इन्द्रियसहितका दर्शक मेरा आवश्यकता हुन्, जो अवलोकन गर्न जान्दछन् र आफ्नै बुद्धि उपयोग गरेर आनन्दित हुन सक्छन् ।
तपाईं दर्शकलाई आफ्नो सामग्री सहज बनाउन चाहनुहुन्न त ?
दर्शक मैले उनीहरूलाई प्रदान गरेको सामग्रीमा स्वयं प्रवेश गर्न सक्षम मनोवैज्ञानिक हुन आवश्यक छ । म मेरा नाटकमा घट्ने सबै कुरा समग्र र पूर्ण रूपमा यथार्थ हुन् र ती सही छन् भनेर सुनिश्चित गर्दछु । म मानव प्रकृतिसम्बन्धी आफ्नो ज्ञानका बारेमा जुनसुकै बाजी लगाउन पनि तयार छु । तर, म व्याख्याका लागि व्यापकतम अवसर भने छाडिदिन्छु । अर्थ मेरो नाटकमा अन्तर्निहित हुन्छ, त्यसलाई खोजेर निकाल्नुपर्ने हुन्छ ।
तपाईंको विधिका विपरीत आफ्ना सामग्रीलाई बोधगम्य बनाउने कलाकारहरूका विरुद्ध केही भन्नुपर्ने त छैन नि ?
त्यस्ता लेखकहरू हुन्छन्, जसले खालि घटनाहरू प्रस्तुत गर्छन् । म यस्तै लेखकहरूभित्र पर्दछु । मेरो सामग्री बोधगम्य हुन्छ । त्यसकारण मैले तिनलाई बोधगम्य बनाउने आवश्यकता नै पर्दैन । घटनाबाट टाढा, तात्त्विक रूपले घटनाबाट विभाजित लेखक पनि हुन्छन्, जसले सिद्धान्त प्रदान गर्छन् । यस्तो मामिलामा सिद्धान्तलाई घटनाहरूका आधारमा परीक्षण गर्नुपर्ने हुन्छ । अन्तिममा कार्य गर्ने तेस्रो विधि पनि छ, जसले विश्लेषण र जीवन्त सामग्रीको पारस्परिक अन्तर्वेधन प्रदान गर्दछन् । म पहिलो विधि मात्र नाटकका लागि पूर्णतया अनुकूल हुनसक्छ भन्ने विश्वास गर्छु ।
निश्चय नै । तर, विशिष्ट मामिलामा यसले दर्शकलाई अन्योलमा पार्दछ, उसले सामग्रीमा आफ्नो बाटै फेला पार्न सक्तैन । त्यस्तो हो भने यसका लागि समकालीन थिएटर उत्तरदायी छ । यसले अनुसन्धान लायक हरेक कुरालाई अस्पष्ट र रहस्यमय रूपमा प्रस्तुत गर्छ ।
नाटकका घटनाहरूलाई बोधगम्य बनाउने काम निर्देशकको हो, लेखकको होइन भन्न खोज्नुभएको हो तपाईंले ?
जुन युगमा नाटकको मञ्चन गरिँदै छ त्यस युगका लागि यसको उत्तर होहुन्छ । वास्तविक थिएटरका नाटकहरू उत्पादन गरिएपछि नै बुझिन्छन् । तर, चिरस्थायी धूमिलपनलगायत प्रभुत्वमा रहेका शासकीय धूमिलपनबाट मुक्त हुन आवश्यक छ । अहिलेको सर्वाधिक धूमिल कुरो भनेको खराब पोस्टर (विज्ञापन सामग्री) हो । म एपिक थिएटरको पक्षपाती हुँ । घटनाहरूलाई निर्देशकले असाध्यै गम्भीरताका साथ यथातथ्य रूपले अनावरण गर्नै पर्छ । हिजोआज सामान्यतया नाटकको अर्थ मुख्यत: अभिनयकर्ताले आफ्नै तरिकाले दर्शकको हृदयमा खेल्ने कारणले गर्दा अस्पष्ट हुने गरेको छ । नाटकमा प्रस्तुत गरिएका पात्रहरू आफैँ दर्शकबाट अनुगृहीत हुने गर्छन् र यसरी ती विकृत हुन्छन् । अहिलेको अभ्यासका विपरीत दर्शकका सामु तिनलाई एकदमै खरो रूपमा, वस्तुगत र शास्त्रीय तरिकाले प्रस्तुत गरिनु पर्छ । ती भावनाका विषय होइनन्, तिनलाई बुघ्नुपर्ने हुन्छ । भावनाहरू निजी सामग्री हुन् र यस कारण संकीर्ण मानसिकताका हुन्छन् । जेजस्तो भए पनि दिमाग इमानदार र सापेक्ष रूपले सबैलाई ग्रहण गर्न सक्षम हुन्छ ।
यो त पूर्णतया बुद्धिवाद हो । मेरो दृष्टिमा भर्खरैको गत युगको बुद्धिविरोधी प्रवाहको सिकार नबन्नु महान् उपलब्धि हो ?
सम्भवत: । मानिसहरूले कहिलेकाहीँ सोच्ने गरेजस्तो त्यस्तो डरलाग्दो रूपले अस्थिर र गडबड मानिस म होइन । म आफ्ना नाटकहरूमा आफूलाई यसको विशुद्ध सामग्रीमा सीमित राख्छु । तर, म मात्र प्रारूपित को चित्रण गर्छु । म चयन गर्छु जुन व्यवस्थित र क्रमबद्ध हुन्छ । यदि मेरा पात्रमध्ये कोही अन्तर्विरोधमा फस्तछ भने पनि त्यो किन हुन्छ भने एउटा व्यक्ति दुई फरक स्थितिमा कहिल्यै पनि उस्तै हुन वा रहन सक्तैन । बाह्य परिवर्तनहरूले उसलाई निरन्तर रूपले आन्तरिक पुनर्निर्माणका लागि बाध्य पार्छन् । निरन्तरको अहम् एउटा मिथ वा अतिकल्पना हो । मानिस निरन्तर विनाश र निर्माण भइरहेको, स्वयम्लाई नयाँमा रूपान्तरित गरिरहेको एउटा परमाणु हो । जे अस्तित्वमा छ त्यसैलाई चित्रण गर्नुपर्छ ।
तपाईंले हासिल गरेको यस निष्कर्षमा जहाँ यथार्थको अशान्त स्थितिलाई दिमागले स्विकार्दछ ?
हो, एक मात्र दिमागले । अस्थिरता र अशान्तिको के कारणले मात्र अस्तित्व छ भने हाम्रा दिमाग त्रुटिपूर्ण छन् । संसारबाहिर जे छ हामी त्यसलाई अतार्किक भन्छौँ ।
मैले नसोधी नहुने प्रश्न के हो भने अहिले तपाईं के काम गर्दै हुनुहुन्छ ?
म दुइटा काममा लागेको छु । पहिलो होसाम्सन कोर्नरको जीवनी ।
तपाईंलाई यसमा काम गर्न केले प्रेरित गरेको थियो ?
साम्सोन कोर्नर भव्य र महत्त्वपूर्ण मानिस हुन् । उनका बारेमा जान्ने सहजतम उपाय उनको जीवनी भन्नु हो । म यथार्थलाई अति नै मूल्य दिन्छु । जे होस्, साम्सन कोर्नरजस्ता मानिसका बारेमा गरिने कार्य हातमा गन्नलायक काम हो : यो खुसीको विषय हो । उनका बारेमा मलाई प्रभावित गर्ने कुरो के थियो भने उनी फिल्म क्षेत्रमा एकदमै गैरजर्मन तरिकाबाट प्रकट भए । उनले वस्तुगत रूपले काम गरे । यसको महान् सुकोमल सौन्दर्य छ । उदाहरणका लागि साधारण बसको टिकटलाई उनी आफ्नो गोजीमा यसरी राख्छन् कि त्यो तरिका साधारणतया एकदमै अनुकरण गर्न नसकिने खालको छ । यही कारण उनी अति उल्लेखनीय फिल्म अभिनेता हुन् ।
काम कस्तो छ त ?
अति आनन्ददायी । मैले उनलाई मसित कुराकानी गर्न आग्रह गरेको छु, म उनका मतहरूलाई असाध्यै महत्त्व दिन्छु । मानिसका भावनामा भन्दा बढी उनीहरूका विचारमा मेरो बढी चाख छ । विचारबाट नै मुख्यत: भावना जन्मन्छन्, ती सह–उत्पादन हुन् । जे होस्, विचार निर्णयात्मक हुन्छन् । कहिलेकाहीँ मात्र भावनाले उच्च तहको प्राथमिक महत्त्व हासिल गर्दछन् । तर, हामीलाई के थाहा छ भने विचार सधैँ अनुभवमा आधारित हुँदैनन् ।
यो पनि यथार्थमा भन्दा बुद्धिवाद हो ?
हरेक कारबाही अन्तर्दृष्टिबाट उत्पन्न हुन्छ । यथार्थपरक ढंगले भन्ने हो भने आवेगमा आधारित कार्य कतै पाइँदैन । यहाँ पनि पृष्ठभागमा दिमाग नै हुन्छ ।
तपाईंले गर्दै गरेको अर्काे कामचाहिँ के हो नि ?
man is man :बल मा काम गर्दै छु, यो सुखान्तक नाटक हो । यो विशेष उद्देश्यका लागि एउटा मान्छेबाट अर्का मान्छेमा प्राविधिक पुनर्जागृतीकरणको विषयसित सम्बन्धित छ ।
पुनर्जागृतीकरणको कामको जिम्मा कसले लिएको छ नि ?
तीनजना संवेग–इन्जिनियरहरूले ।
के प्रयोग सफल भयो त ?
सफल भयो, हरेकले आनन्दको सास फेरे ।
सम्भवत: यसको निष्कर्षआदर्श मानिस त होला ?
विशेष रूपले त होइन ।
अनुवाद : निनु चापागाईं

प्रतिक्रिया