झापामा सूचनामा बन्देज

झापा, ९ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विभिन्न घटना तथा दुर्घटनाको सूचना दिन रोक लगाएको छ । जिल्लामा हुने घटनाका विषयमा कसैलाई पनि जानकारी नदिने निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख नवराज खड्काले सूचनाका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीलाई सम्पर्क गर्नुपर्ने बताए । ‘यहाँबाट सूचना दिन मिल्दैन,’ खड्काले भने, ‘माथिको आदेश छ, जिल्लाको घटनालाई अब इटहरीमा सम्पर्क गरेर लिनुपर्छ ।’
नेपाल पत्रकार महासंघ झापाले ट्राफिक प्रहरीको यस्तो निर्णयप्रति विरोध जनाएको छ । ‘यो नागरिकको सूचना पाउने अधिकारमाथिको अंकुश हो,’ महासंघ झापा अध्यक्ष गणेश पोखरेलले भने, ‘जुन कार्यालय जहाँ छ, त्यहीँबाट सूचना दिनुपर्छ, पत्रकार र नागरिकले सूचनाका लागि एउटा जिल्लाबाट अर्काे जिल्ला वा बाहिर जान सम्भव छैन ।’
पूर्वाञ्चल ट्राफिक प्रहरी प्रमुख एवं डिएसपी प्रकाश लामाका अनुसार सामान्य घटना जिल्लाबाट मिले पनि ठूला घटना क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दिने व्यवस्था मिलाइएको हो ।

प्रतिक्रिया