ग्रामीण टेलिमेडिसिन सेवा विस्तार गरिँदै

काठमाडौं, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष ग्रामीण टेलिमेडिसिन सेवा विस्तार गर्ने भएको छ । डेढ वर्षअघि २५ जिल्लाबाट सुरु गरिएको यो सेवा यस वर्ष ५ जिल्लामा विस्तार गर्न लागिएको हो ।
जटिल प्रकृतिका रोगबारे चिकित्सकबाट परामर्श लिन र ग्रामीण जनतालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यो सेवा पाँच जिल्लामा विस्तार गर्न लागिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. मिङ्मार गेलजेन शेर्पाले बताए । विभागले यस वर्ष दैलेख, बैतडी, सल्याान, डडेलधुरा र डोटीमा सेवा विस्तार गर्न लागेको हो । सेवा विस्तारका लागि विश्व बैंकमा फाइल पठाइसकिएको महानिर्देशक शेर्पाले बताए । उनले भने, ‘बैंकले स्वीकृति दिनेबित्तिकै काम अगाडि बढ्नेछ ।’ स्वास्थ्यका उपकरण, औषधिलगायत सामग्री खरिदका लागि विश्व बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । महानिर्देशक शेर्पाका अनुसार देशभरका अधिकांश जिल्लामा इन्टरनेटको विस्तार भएकाले टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । सेवालाई विस्तारै ७५ जिल्लामा विस्तार गर्न योजना रहेको उनले जानकारी दिए ।
सेवा विस्तारपछि दुर्गमका बासिन्दाले स्थानीय तहमै विशेषज्ञको चिकित्सको सेवा पाउने महानिर्देशक डा. शेर्पाले बताए । ‘यो सेवा विस्तारपछि दुर्गमका बासिन्दाले स्थानीय तहमै विशेषज्ञ चिकित्सकको सेवा पाउनेछन्,’ डा. शेर्पाले भने, ‘विकटका बासिन्दाले ‘राम्रा डाक्टरलाई देखाउन महँगो खर्च गरेर सुविधासम्पन्न अस्पतालमा धाउनुपर्ने समस्या हट्नेछ ।’ पाटन अस्पतालमा केन्द्रीय समन्वय कक्ष रहेको टेलिमेडिसिन सेवाबाट जनतालाई प्रभावकारी रूपमा विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको उनको भनाइ छ । हाल अछाम, बझाङ, बाजुरा, दार्चुला, दोलखा, डोल्पा, गोरखा, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, खोटाङ, मनाङ, मुगु, मुस्ताङ, ओखलढुंगा, प्युठान, रसुवा, रोल्पा, रुकुम, संखुवासभा, सिन्धुली, सिन्धुपाल्चोक, सोलुखुम्बु र ताप्लेजुङमा सञ्चालन भइरहेको छ ।
विभागका अनुसार यसका लागि अत्याधुनिक ‘भिडियो कन्फेन्सिङ’ विधि प्रयोग गरिएको छ । यस प्रविधिबाट ग्रामीण क्षेत्रमा रहेका चिकित्सकले पाटनको केन्द्रमा रहेका चिकित्सक तथा विज्ञहरूसँग संवाद गर्छन् । त्यसबाट पनि समस्या समाधान हुन नसके पाटनमा रहेका चिकित्सकले सार्क सेन्टरबाट भारतको सञ्जय गान्धी मेडिकल इन्स्टिच्युटका चिकित्सकसँग संवाद गरी समाधान निकाल्छन् । ‘ग्रामीण टेलिमेडिसिन कार्यक्रम विद्युतीय सञ्चारमाध्यम प्रयोग गरेर बिरामी र चिकित्सकबीच साक्षात्कार गर्ने एक माध्यम हो,’ डा. शेर्पाले भने, ‘यसलाई स्टोर एन्ड फर्वाड र फिडियो कन्फेन्स पनि भनिन्छ ।’ जसअन्तर्गत बिरामीसँग प्रत्यक्ष कुराकानी गरेर रोगबारे बुझ्न सकिन्छ भने केन्द्रका विशेषज्ञहरूले दुर्गमका बिरामीको अवस्था बुझी औषधि सिफारिस गर्छन् ।’ उनका अनुसार ग्रामीण टेलिमेडिसिनको माध्यमबाट बिरामीको ८० प्रतिशत उपचार गर्न सकिनेछ । ग्रामीण टेलिमेडिसिन सुरु गरिएका जिल्ला अस्पतालमा एक चिकित्सक तथा एक स्वास्थ्य सहायक र त्यहाँ चाहिने कम्प्युटरलगायत प्राविधिक सामग्रीको सम्पूर्ण व्यवस्था गरिएको छ ।
पाटन अस्पताल परिसरमा रहेको सेन्टरमा केही स्वास्थ्यकर्मीसहित ६ वटा कम्प्युटरको व्यवस्था गरेको छ । सेवा सञ्चालनका लागि प्रसूति, सर्जरी, अर्थोपेडिक, पेडियाट्रिकलगायत विशेषज्ञ डाक्टर कार्यरत छन्् । कार्यालय समयमा सीमित रहेको यो सेवा सरकारले २४ घन्टा उपलब्ध हुने गरी व्यवस्था गर्न लागिरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया