आधुनिक संगीतमा रमाएका सिंह

काठमाडौं : ०५१ सालबाट नेपाली संगीत क्षेत्रमा संघर्ष सुरु गरेका मनोज सिंह अब स्थापित संगीतकार बनिसके । आधुनिक विधाको संगीतकारका रूपमा एक सय ५० भन्दा बढी गीतमा संगीत भरिसके । आनन्द कार्कीको एकै वचन, नव सिलवालको आरधाना उनको र गल्ती मेरै होलगायत उनले संगीत दिएका गीत निकै चले । विशेषगरी एल्बमहरूमा सोलो संगीत भर्न रुचाउने सिंह संगीतको औपचारिक ज्ञान हासिल गरेर मात्र यो क्षेत्रमा प्रवेश गरेका हुन् । उनले मुम्बईको गन्धर्व महासंगीत विद्यालय हुँदै भारतीय संगीत गुरु नारायणराव पटवर्धन र पण्डित श्रीनिवास खलेबाट संगीत प्रशिक्षण लिएका छन् । अहिले आफैँले संगीत भरेका तीन एल्बम र एक चलचित्रको गीत रेकर्डिङका लागि मुम्बई जाने तयारी गरिरहेका सिंह ती गीत भारतीय गायकगायिका कुमार सानु, साधना सरगम, संजीवनीलगायतलाई गाउन लगाउने सोचमा छन् । यसअघि उनले मेरो माया तिमीलाई चलचित्रमा पनि संगीत दिइसकेका छन् । सानैदेखिको रुचिका कारण संगीत क्षेत्रमा होमिएका सिंह पेसाले नेपाल प्रहरी हुन् ।

प्रतिक्रिया