रंग‍-विविध

“म माया नपाएकी अभागी”

सौर्य अनलाइन २०६९ भदौ ८ गते ४:०५ मा प्रकाशित

एथलेटिक्समा राष्ट्रिय मेडल जितेर काठमाडौंबाट भर्खरै घर आइपुगेकी थिएँ । मन खुसीले उफ्रिरहेको थियो । बुबाआमासँग विजयको खुसी साटौँला भन्दै थिएँ ।  उहाँहरूले एक्कासि भन्नुभयो– हामीले तिम्रो बिहे छिन्यौँ, केटाको नाम हो, डिबी मल्ल । म छाँगाबाट खसेजस्ती भएँ । बिहे गर्ने उमेरै कहाँ भएको थियो र ? जम्मा १५ वर्ष, १० कक्षामा पढ्दै गरेकी । साह्रै नरमाइलो लाग्यो, धेरैबेर रोएँ । राष्ट्रिय खेलाडी बनेर चिनिने ठूलो सपना थियो । बुबाआमाको निर्णयसँग मेरो सपना तुहियो । त्यो खुसी साट्न नपाउँदै म अर्काकी भइसकेकी रहेछु । दिल्लीमा हुने एसियन गेममा पनि छनोट भएकी थिएँ, तर बिहेका कारण जान पाइनँ । त्यही दिनदेखि मेरो खेलजीवन समाप्त भयो ।
चलचित्रको रंगीन भूमिका र मेरो व्यक्तिगत जीवनबीच आकाश–जमिनको फरक छ । प्रेमसम्बन्धको मामिलामा पनि यस्तै नै हो । मायाको सवालमा एकदमै अभागी महिला, काँचको पर्दाबाहिरको वास्तविक जिन्दगीमा मायाको अनुभूति गर्नै पाइनँ । जवानीमा माया बस्दाको अनुभूति कस्तो हुन्छ, थाहा छैन । कारण थियो– बाल उमेरमै भएको त्यही विवाह । घर फर्कंदा बुबाआमाले मेरो नाममा जनैसुपारी गरिसक्नुभएको रहेछ । केटा देखेकै छैन, कुरा छिनिइसकेछ । जनैसुपारी हुनु भनेको कन्यादानै दिएबराबर मानिन्छ, बन्दुकको गोलीजस्तै हानेपछि नफर्कने ।
बाबुआमाकी एउटी मात्रै छोरी । सानै उमेर भए पनि मलाई माग्न थुप्रै ठाउँबाट आइरहेका थिए । तर, बुबाआमाले मान्नुभएको थिएन । केटापक्षले नौ महिनादेखि ढीट गरिरहेपछि यसपालिचाहिँ ओके गरिदिनुभएछ । मेरो सानो उमेर, खेल करियर र अध्ययनलाई हेरेर १५ दिन घर अनि १५ दिन माइती बस्ने सर्त राख्नुभएछ । तर, बिहे भइसकेपछि त्यो सर्त लागू भएन । कुरा छिनिइसकेपछि परिवारकै सल्लाहमा केटाकेटी देखादेख भयो, बोलचाल भने भएन । विवाहको दिन नजिकिँदै गयो । बिहेको पाँच दिनअघिदेखि सिकिस्त बिरामी भएर अस्पतालको बेडमा थिएँ । निको नभईकनै बुबाले घर ल्याउनुभयो । जन्ती आइसकेपछि लासै भए पनि जग्गेमा राख्नुपर्छ भन्ने सामाजिक मान्यता थियो । चारैतिर हावाहुरी चलिरहेको थियो । १०५ डिग्री ज्वरोले ग्रस्त बनाएकी किशोरी जग्गेमा दुलही हुनुको धर्म निर्वाह गरिरहेकी थिई । जग्गेमै निकैचोटि बेहोस पनि भएँछु, पछि आफन्तले भनेका । सिन्दुरपोते गरेको याद छैन मलाई । त्यसो त सिन्दुरपोतेको महत्त्व पनि मलाई के थाहा त्यो उमेरमा । २०४९ साल असार ११ गते शुक्रबारको दिन थियो त्यो । मेरो बिदाइमा आमा बेहोस हुनुभयो, आमालाई त्यो हालतमा देख्न नसकेर गाडीको सिसै फोरेर निस्कने कोसिस गरेकी थिएँ । छेउमै बसेको मान्छेलाई ‘ए दाइ मलाई आमा भएको ठाउँमा पुर्‍याइदिनु न’ भनेर अनुनय गरेँ । यसो फर्केर हेरेको त दूबोको माला लगाएका दुलहा पो रहेछन् । ड्राइभरजस्तो लागेर अगाडिपट्टिको बूढो मान्छेसँग सहयोग माग्दा ससुरा पो हुनुहुँदो रहेछ । यो कुरा पछिसम्म पनि बाबाआमाले सुनाइरहनुहुन्थ्यो ।
बिहे गरेर घर गएपछि पनि श्रीमान्सँग बोल्दै बोल्दिनथेँ । उहाँ एकोहोरो बोलिरहनुहुन्थ्यो, म उत्तरै दिँदैनथेँ । घुलमिल गर्न सजिलो होस् भनेर परिवारका सबै सदस्य मिलेर मलाई फेवाताल घुमाउन लैजानुभयो । त्यहाँ पनि उहाँसँग बोलिनँ । मभन्दा ६ वर्ष जेठो हुनुहन्थ्यो । त्यसपछि मलाई माइत पठाइदिनुभयो । करिब चार महिनापछि मात्रै हो, उहाँसँग अलि राम्ररी बोलेको ।
मलाई काठमाडौं ल्याएर चलचित्र लाइनमा लगाउने पनि उहाँ नै हो । कसैले यसलाई उहाँको मप्रतिको मायाको अमूर्त रूप भनेर व्याख्या गरे । तर, त्यो माया नभएर स्वार्थ लाग्छ मलाई किनकिन † बच्चा जन्मिसकेपछि मात्र फिल्म क्षेत्रमा छिरेकी हुँ ।
विवाहको दुई वर्षपछि पहिलो सन्तान बिकी जन्मियो । त्यसपछि मलाई जिम्मेवारीले झनै थिच्यो । हाम्रो सम्बन्धमा मायाभन्दा पनि कर्तव्यले बढी बाँधिरहेको थियो । कर्तव्य बढी भएपछि मान्छेलाई सम्बन्ध झिँजो लाग्दो रहेछ । मायासहितको सम्बन्ध कर्तव्यहरूबीच पनि सजिलो हुन्छ तर आपसी माया भएन भने सम्बन्ध चिसिएर जाँदो रहेछ ।
जबसम्म म उहाँको नाममा जोडिएकी थिएँ, एउटी कठपुतलीजस्ती थिएँ । उहाँले भनेका जाऊ, खाऊ, आऊ, सुत आदि–इत्यादि कुरामा अल्झिरहेकी । उमेर सानै भएकाले विद्रोह गर्ने आँट पनि थिएन । सुटिङलगायत सम्पूर्ण कुरामा श्रीमान्ले भनेअनुसार गर्नुपर्ने मेसिनजस्ती थिएँ । उमेर बढ्दै जाँदा मलाई अनुभूति भयो– म एउटा पुरुषको घोडा भएर दौडिरहेकी रहेछु । विवाहित भएर पनि एक्लो महसुस हुन थाल्यो । उहाँले आफ्नो जिम्मेवारीबोध गर्नुभएन । काठमाडौंजस्तो ठाउँमा १० वर्षजति एक्लै कमाएर बच्चा हुर्काएर बस्नुपर्ने अवस्था आयो । पतिपत्नीबीच हुनुपर्ने प्रेमानुभूतिबाट वञ्चित थिएँ ।
दर्शकहरूले मलाई अभिनेत्रीका रूपमा जति सफल देख्नुभएको छ, पतिपत्नीबीच हुुनुपर्ने मायाको सवालमा उत्ति नै अभागी । वास्तवमा मायाको अनुभूति गर्न पाएकै छैन । यिनै कारणले मनभित्र चलिरहेका आँधीबेहरी मलाई मात्र थाहा छ । मायाका नाममा सम्बन्ध अगाडि बढाए धोकाभन्दा अरू केही पाउँदिनजस्तो लाग्छ । मेरा लागि ‘माया’ शब्द शून्यबराबर भएको छ । यी कुरा भन्नुपर्दा आफैँभित्र भक्कानो छुट्न थाल्छ । उहाँसँगको असफल सामाजिक सम्बन्धलाई लिएर कुरा गर्न उति मन लाग्दैन । तर पनि यी कुरा आज पहिलोचोटि सौर्य दैनिकमा बताइरहेछु ।


त्यो अबोध उमेरमा बाबुआमाले जिम्मा लाइदिएका जीवनसाथीले धोका दिनु जीवनकै सबैभन्दा ठूलो घात महसुस हुन्छ । उमेर रहुन्जेल केटी राम्रा लाग्छन् केटा मान्छेलाई । त्यहाँ तृष्णा हुन्छ । जब महिला बच्चाकी आमा बन्छे, उसमा केही देख्दैनन् केटाहरू । पत्नीमा विभिन्न समस्या मात्र देख्न थाल्छन् । पत्नीका चाहनालाई पूरै बेवास्ता गरेर आफ्नै पारा सुरु गर्छन् । यस्तो भयो हाम्रो सम्बन्धमा पनि । उहाँ आफ्नै पारामा लागेपछि मलाई हाम्रो सम्बन्ध उचित लागेन । १० वर्ष लामो वैवाहिक सम्बन्धलाई डिभोर्ससम्म पुर्‍याउने सहमति भयो हामीबीच ।
डिभोर्स हुँदा जेठो छोरो बिकी सात वर्षको थियो, कान्छो छोरो चार वर्षको । डिभोर्स भएकै अहिले नौ वर्ष पुगेछ । आमा र बुबा दुवै आफैँ बनेर छोराहरुलाई हुर्काएँ, शिक्षादीक्षा दिलाएँ । ती भोगाइ सम्झँदा अहिले पनि आँखा रसाउन थाल्छ । तर पनि खुसी छु, जेठो छोरा बिकी फिल्म लाइनमै आएको छ । कान्छो छोरा आफ्नै कमाइबाट लन्डनमा संघर्ष गरिरहेको छ । दुवैको जिम्मेवारी मेरो काँधमा छ, म कहीँकतै डगमगाउनु हुँदैन ।
डिभोर्स भएपछिको समाजलाई भोग्न सजिलो थिएन । फिल्म लाइनमा लागेकी केटी मात्तिएर श्रीमान् छोडी भन्नेहरू थुप्रै थिए । ती सबै तीखा वचनलाई आत्मसात् गरेर यहाँसम्म आइपुगेकी छु । बुबाआमाले रोजेर दिएको सम्बन्ध त गतिलो भएन भने आफूले रोजेको सम्बन्ध झन् के राम्रो होला र ? यही कारण म अर्को सम्बन्ध गाँस्नतिर लागिनँ । अहिलेका लागि ती कुरा सबै बन्द भएको छ । वैवाहिक सम्बन्धका लागि भनेर आउने केटाहरूलाई विश्वास गर्न छाडेकी छु म ।
दुवै छोरा बुझ्ने भइसकेका छन् । उनीहरूले कहिल्यै मेरो विगत सम्बन्धबारे सोध्दैनन् । बरु कहिलेकाहीँ जिस्कँदै भन्छन्– ‘कसैसँग लभ परेको भए कन्यादान दिनुपर्‍यो ।’ छोराहरूले यस्तो भनेको देख्दा अचम्म लाग्छ । सोच्छु– किन भनेका यस्तो † यस्तो पनि लाग्छ– बुढेसकालमा नपाल्ने पो हुन् कि क्या हो † छोराहरूले भनेको कुरा साथीहरूलाई सेयर गर्दा प्रतिक्रिया पाउँछु– ‘छोराहरूले तेरै भविष्य सुनिश्चित गर्न खोजेका हुन्, तेरै लागि भनेका हुन् †’ तर, हाम्रो समाज यति सजिलो कहाँ छ र ? हरिवंश दाइले भाउजू भित्र्याउनुभएजस्तो सजिलो हामी महिलालाई पक्कै छैन ।
प्रस्तुति : विशाल राई
(तस्बिर पनि)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय