खुलेन शिक्षा कार्यालयको ताला

इलाम, ८ भदौ । सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्ने प्रक्रियामा पैसाको चलखेल भएको भन्दै शिक्षा कार्यालयमा तालाबन्दी गरिएपछि भएको वार्ता विफल भएको छ । वार्ता विफल भएपछि शिक्षा कार्यालयको ताला खुलेको छैन ।
बिहीबार आन्दोलनरत विद्यार्थी र कार्यालयबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्तामा विद्यार्थीले कार्यालयसमक्ष पेस गरेका दुईवटा मागका सम्बन्धमा कार्यालय सकारात्मक नभएपछि वार्ता विनानिष्कर्ष सकिएको अनेरास्ववियुका केन्द्रीय सदस्य नवराज शंकरले बताए ।
विद्यार्थीले बुधबार कार्यालमा लगाएको ताला छलफल नगरी फोरिएकोमा शिक्षा अधिकारीले आत्मालोचना गर्नुपर्ने र समस्या समाधानका लागि २४ घन्टाभित्र प्रशासनमा उपस्थित भएर वातावरण बनाउनुपर्ने माग वार्तामा प्रस्ताव राखेका थिए । ‘कार्यालयका तर्फबाट दुवै माग स्वीकार नभएकाले वार्ता विनानिष्कर्ष टुंगियो,’ केन्द्रीय सदस्य शंकरले भने, ‘जिशिअले फोनमार्फत दुवै माग पूरा गर्न सक्दिन, बरु सरुवाको माग गरून् भन्ने अभिव्यक्ति दिएकाले सहमति हुन सकेन ।’ जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी गोष्ठीका लागि २८ साउनदेखि जिल्लाबाहिर छन् ।
वार्तामा कार्यालयका तर्फबाट सिडिओ बाबुराम खतिवडाको नेतृत्वमा डिएसपी विष्णु केसी, सशस्त्रका डिएसपी गणेश संग्रौला र निमित्त शिक्षा अधिकारी गिरिराज दवाडीको टोली र आन्दोलनरत संयुक्त संघर्ष समितिका तर्फबाट चार विद्यार्थी संगठनका नेताको सहभागिता थियो ।
शिक्षा अधिकारी पुरीले फोनमार्फत आफू गोष्ठीका लागि काठमाडौं रहेकाले तत्काल उपस्थित हुन नसक्ने जानकारी गराउँदै समस्या समाधानका लागि निमित्त जिशिअ र सिडिओलाई जिम्मा दिएको बताए । ‘समस्या समाधानका लागि उहाँहरूलाई जिम्मेवारी दिएको छु,’ जिशिअ पुरीले भने, ‘यदि सहमति नभए आफू जिल्ला आएर सबै पक्षसँग छलफल गरी समस्या समाधान गर्नेछु ।’
शिक्षक नियुक्तिमा रकमको चलखेल हुँदासमेत शिक्षा कार्यालय गम्भीर नभएको भन्दै अनेरास्ववियु, नेविसंघ, अखिल
(क्रान्तिकारी) र संघीय विद्यार्थी युनियन लिम्बुवान सम्मिलित संयुक्त संघर्ष समितिले आन्दोलन सुरु गरेको हो । आन्दोलनअन्तर्गत संघर्ष समितिले शिक्षक नियुक्तिमा विकृति र विसंगति बढ्दै गएको भन्दै बुधबार कार्यालयमा लगाएको ताला प्रशासनको सहयोगमा बुधबार साँझ ७ बजे फोरिएको थियो । समस्या समाधानका लागि पहल गर्नुको सट्टा उल्टै प्रशासनको सहायतामा कार्यालयले आफूहरूसँग कुनै छलफल नै नगरी ताला फोरिएको भन्दै आक्रोशित विद्यार्थीले बिहीबार फेरि तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया