नगरपालिकाद्वारा दुईवटा दर्ताचलानी सञ्चालन

राजविराज, ८ भदौ । नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै सरकारी कार्यालयले दर्ताचलानी किताब परिवर्तन गर्छन् । तर, सप्तरीको राजविराज नगरपालिकाले नयाँ र पुराना दुईवटा दर्ता चलानी किताब प्रयोगमा ल्याएको छ ।
नगरपालिकाले १ साउनदेखि नै दर्ता र चलानीका लागि नयाँ रजिस्टर खडा गरेको छ तर पुराना दर्ताचलानी किताब हालसम्म बन्द गरेको छैन । कार्यालयका कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठलगायत माथिल्लो स्तरका कर्मचारीको निर्देशनमा पुराना दर्ता चलानी किताब हालसम्म सञ्चालनमा रहेको कर्मचारीहरूले बताएका छन् । ती कर्मचारीले भने, ‘गत वर्षको दर्ताचलानी किताबका बीचबीचमा खाली ठाउँ राखिएको छ, जुन हालसम्म पनि पूरा हुन सकेको छैन ।’
नगरपालिकाको आव ०६८/६९ को दर्ता किताब
(ख) मा बुधबारसम्म ३ जेठदेखि ३१ असारसम्म ३५ वटा दर्ता नम्बर खाली छाडिएको छ भने चलानी किताबमा २२ वैशाखदेखि २७ असारसम्म ४२ वटा चलानी नम्बर खाली छाडिएको ती कर्मचारीले जानकारी दिए । गत वर्षका दर्ताचलानी खाली राखेपछि मोटो रकम लिएर पुराना काम दर्ताचलानी गर्न सजिलो हुने योजनाअनुसार यो काम भएको बताइन्छ । कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठभन्दा पहिलाका प्रमुख कृष्णकुमार निरौलाको कार्यकालमा पनि यसैगरी दर्ताचलानी खाली राख्ने काम हुने गरेको ती कर्मचारीको भनाइ छ ।
निमित्त कार्यकारी अधिकृत हरिनारायणराम रौनियारले कार्यकारी अधिकृत श्रेष्ठ काजमा काठमाडौं गएको र यस विषयमा जानकारी नभएको बताए । रौनियारले यस्तो बताए पनि यसअघि बुधबार फाँटका कर्मचारीले पुरानो दर्ता चलानी किताब खाली राखेको विषयमा सोध्न जाँदा ‘यो कार्यालयको आन्तरिक कुरा हो, यसबारे किन हल्ला गरेको ?’ भन्दै थर्काएको ती कर्मचारीको गुनासो छ ।

प्रतिक्रिया