टेलिकममा सेवाग्राहीको भिडभाड

जाजरकोट, ७ भदौ । नेपाल टेलिकम जाजरकोट शाखाले आजदेखि स्काई फोनको रिम कार्ड वितरण शुरु गरेपछि कार्यालयमा सेवाग्राहीको भिड लागेको छ ।
ल्याण्डलाईन टेलिफोन र नमस्ते मोबाईलको सेवा प्रभावकारी नभएपछि टेलिकमले जाजरकोटमा स्काई रिम वितरण गरेको हो । रिम लिन सेवाग्राहीको थेग्नै नसकिने भिड लागेको कर्मचारीहरुले बताएका छन् ।
कार्यालयका अनुसार यसपटक पाँच सय मात्र रिम वितरण गरिने छ । यद्यपी कार्यालयमा रिमका लागि करिब १८ सय बढिले फारम भरेका छन् ।
कार्यालयमा सेवाग्राहीको भिड बढ्न थालेपछि फराम दर्ता कार्य रोकिएको कार्यालय प्रमुख हरिजङ शाहले जानकारी दिए । कार्यालयले मंगलबार र बुधवार स्काई रिमको लागि फारम लिएको थियो ।
सेवाग्राहीहरुले कार्यालयले फारम नभरेकालाई पनि नियम मिचेर रिम दिएको आरोप लगाएका छन् । कार्यालयले भने नियम विपरित रिम वितरण नगरेको दावी गरेको छ ।
स्काईको रिम कार्ड लिन आएकाहरु अधिकांश सदरमुकाम बाहिरका छन् । गाउँमा नमस्ते मोबाईलले राम्रोसँग काम नगर्ने भएपछि स्काईको रिम लिन आएको झाप्रा–१ का राजु सिंहले बताए ।
जाजरकोटका दर्जन बढि गाविसहरुमा अझै फोन सेवा पुग्न सकेको छैन ।

प्रतिक्रिया