एड्रियानोको नयाँ जीवन फ्लेमिंगोमा

रियो द जेनेरियो : इन्टरमिलान तथा ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वफुटबलर एड्रियानोले खेलजीवनमा अर्को एकपटक पुनरागमनको मौका पाएका छन् । विगत केही वर्षदेखि चोटसँग संघर्ष गरिरहेका एड्रियानोलाई फ्लेमिंगोले अनुबन्ध गरेको छ । कोरिनथिएन्ससँग मार्चमा सम्झौताको तयारी भए पनि अनफिट देखिएका एड्रियानोलाई फ्लेमिंगोले यस सत्रको अन्त्यसम्मका लागि सम्झौता गरेको हो । कुनै समय ‘इम्पेरियर’ नामले चिनिने एड्रियानो सन् २००४–०५ मा खेलजीवनकै माथिल्लो उचाइमा रहेका थिए । त्यसै समय उनी इन्टरमिलानका प्रभावकारी खेलाडी थिए भने पेरुमा भएको कोपा अमेरिका कप र जर्मनीमा भएको कन्फेडेरेसन कपमा शीर्ष गोलकर्ता पनि भएका थिए ।
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा कमजोर प्रदर्शन गरेपछि उनको खेलजीवन खस्किएको थियो । निराशा, मादक पदार्थ सेवन र मोटोपनका कारण समस्यामा रहेका एड्रियानोले गत सत्र कोरिनथिएन्समा रहँदा सात खेल मात्र खेले भने दुई गोल गरे । तौल घटाउन मौका दिइए पनि उनको तौल अझै १०० किलोभन्दा बढी रहेको छ । साथै गोलीगाँठोको चोटले पनि उनी बारम्बार सताइएका छन् ।
गत मार्चमा कोरिनथिएन्सको प्रशिक्षणमा पनि अनुपस्थित उनले चिकिस्तकसँग तौल जाँच गराउन अस्वीकार गरेका थिए । एड्रियानोसँगै ब्राजिलको राष्ट्रिय टिममा रहेका रोनाल्डिन्होलाई पनि फ्लेमिंगोले खेलजीवनमा पुनरागमनको मौका दिएको थियो । सन् २००९–१० को सत्रमा फ्लेमिंगोलाई माथिल्लो उचाइ दिलाएकै कारण एड्रियानोलाई यसपटक क्लबले मौका दिएको जनाइएको छ । सन् २००९–१० को सत्रमा एड्रियानो फ्लेमिंगोको तर्फबाट संयुक्त शीर्ष गोलकर्ता बनेका थिए । उनी १९ गोलसहित संयुक्त शीर्ष गोलकर्ता भएका थिए । ‘म यो जर्सीलाई सधैँ सम्मान गर्छु । यो सधँै मेरो हो । म यसका लागि प्रतिबद्ध छु,’ एड्रियानोले भने । एड्रियानोले यसअघि एएस रोमा, पार्मा, फियोरेन्टिना र साओ पावलोका लागि खेलिसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया