१८ वर्षपछि रसियालाई डब्ल्युटिओको सदस्यता

काठमाडौं, ७ भदौ । विश्व व्यापार संगठन (डब्ल्युटिओ) ले बुधबार औपचारिक रूपमा एक सय ५६औँ सदस्यका रूपमा रसियालाई स्वीकार गरेको छ । त्यसैगरी आगामी २४ अगस्टमा भनुआटालाई सदस्यता दिइएपछि विश्व व्यापार संगठन एक सय ५७ सदस्यीय हुने भएको छ । विश्व व्यापार संगठनका महाप्रबन्धक पास्कल लामीका अनुसार बहुपक्षीय व्यापार व्यवस्थापनका लागि रूसको व्यापार संगठनमा संलग्नतासँगै ऐतिहासिक अर्थ रहेको छ । रूसको प्रवेशसँगै विश्व व्यापार संगठनले विश्वव्यापी रूपमा ९७ प्रतिशत व्यापार ढाकेको छ । रसियाले सदस्यता प्राप्त गरेसँगै डब्ल्युटिओका सम्पूर्ण प्रावधानलाई अक्षरश: पालना गर्ने प्रतिबद्धता जनाएको छ । औसतमा रसियाले सरसामान ७ दशमलव ८ प्रतिशतसम्म अनिवार्य भन्सार दर लागू गर्नेछ भने ११ वटा सेवा क्षेत्रमा विशेष प्रतिबद्धता जाहेर गरेको छ ।

करिब १८ वर्षको अथक प्रयासपछि रसिया डब्ल्युटिओको सदस्य बन्न सफल भएको हो । करिब एक दशकअघि मात्र चीनले डब्ल्युटिओको सदस्यता प्राप्त गरेको थियो । नेपालले भने सन् २००४ को अप्रिल २३ मा एक सय ४७औँ सदस्यका रूपमा डब्ल्युटिओ प्रवेश गरेको थियो । विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यासको निर्यातकर्ता राष्ट्र रसियाले सन् १९९३ को जुन महिनामा सदस्यताका लागि आवेदन दिएको थियो । डब्ल्युटिओबाहिर रहेको अहिलेसम्मकै ठूलो अर्थतन्त्र रसियाको संगठनमा प्रवेशले एक सय ६२ अर्ब अमेरिकी डलर बराबरको आर्थिक उत्पादनमा बजार पहुँच पुगेको विश्व बैंकले जनाएको छ ।
डब्ल्युटिओको सदस्यता नभएकै कारण अन्य ब्रिक्स राष्ट्रका तुलनामा रसियालाई लगानीकर्ताले कम महत्त्व दिने गरेको स्टकहोमस्थिति इस्ट क्यापिटलका प्रमुख अर्थशास्त्री मार्कस स्भेडबर्गले बताए । युरोपियन युनियनका व्यापार कमिसनर करेल दी गुचले रसियाको डब्ल्युटिओमा प्रवेशले विश्व अर्थतन्त्रसँग एकीकृत हुने दिशामा फड्को मारेको बताए । ‘यसबाट रसियामा बाहिर विश्वको लगानी र व्यापार प्रवद्र्धन गर्न सहयोग पुग्नेछ,’ उनले भने । रसियाको व्यापार संगठनमा प्रवेशपछि सम्भवत: अमेरिकासँग विगतमा भएको शितयुद्धको दौरान जारी गरिएको व्यापार प्रतिबन्ध हटाइने आशा संगठनका महाप्रबन्धक लमीले गरे । अमेरिकाका बहुचर्चित कम्पनी क्याटरपिलर, बोइङ, जनरल इलेक्ट्रिक्सले रसियामाथि सन् १९७४ मा लगाइएको प्रतिबन्ध हटाउन अनुरोध गरेका पनि छन् । रसियासँग स्थायी व्यापार सम्बन्धविना रसियासँगको डब्ल्युटिओ विवाद समाधान इकाईको पूर्ण उपयोग गर्न नसकिने निष्कर्ष ती कम्पनीहरूको छ ।
रसिया विश्वको प्रमुख तेल र प्राकृतिक ग्यासको निर्यातकर्ता राष्ट्र हुनुका साथै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र पनि हो । १४ करोड जनसंख्या भएको रसिया मात्रै डब्ल्युटिओ सदस्य हुन बाँकी मुख्य अर्थतन्त्र थियो ।

प्रतिक्रिया