‘बाले कान्छी ल्याए आमा पोइल गइन्’

जाजरकोट, ७ भदौ । ‘बाबुले अर्को बिहे गरेपछि आमा पनि विदेश गइन् र उतै अर्को विवाह गरिन्,’ जाजरकोटसँग सीमा जोडिएको रुकुम विजयश्वरी–५ की १५ वर्षीया पुष्पा चन्दले भनिन्, ‘अभिभावकविहीन बनेपछि भविष्य अन्योलमा परेको छ ।’

चन्दका बाबुले ०६४ चैतमा स्थानीय पोखरेल थरकी युवतीसँग दोस्रो विवाह गरेका थिए । बाबुले दोस्रो विवाह गरेको चार वर्ष नबित्दै आमा ललिता मल्लले ०६८ मंसिरमा अर्को विवाह गरेपछि पुष्पासहित ११ वर्षीया बहिनी पूर्णिमा र आठ वर्षीय भाइ प्रशान्तको बिचल्ली भएको हो । उनीहरू अहिले ७५ वर्षीय हजुरबुबा इन्द्रबहादुर चन्द र ६४ वर्षीया हजुरआमा शकुन्तलासँग बसिरहेका छन् ।
‘वृद्ध भइसकेका हजुरआमा र हजुरबासँग बस्दा केही राहत मिले पनि अप्ठेरो भएको छ,’ चन्दले भनिन्, ‘काकाहरू सामाजिक परम्पराअनुसार आफ्नो भाग लिएर छुट्टै बसेका छन् । बाजेबज्यैलाई तलमाथि केही भयो भने हामी सहाराविहीन हुन्छौँ ।’ आफूसहित भाइबहिनीको भविष्य अन्योल भएपछि चन्द चिन्तामा छिन् । घरमा पतिसँग ‘कुरा’ नमिलेपछि माइतीमा बस्दै आएकी युवतीसँग बाबुले प्रेमविवाह गरेका हुन् । उनीबाट हाल चार वर्ष र दुई महिनाकी दुई छोरीको जन्म भइसकेको छ । विवाहपश्चात् सानीआमासहित भारत बस्दै आएका बाबु गएको तिहारमा घर आएका थिए । पति अर्की युवती टिपेर हिँडेपछि तनावमा परेकी ललिता छोराछोरी ‘पाल्न’ भन्दै दुई वर्षपछि वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएकी थिइन् । उनी पनि वैदेशिक रोजगारीबाट गत सालको दसैँमा घर फर्केकी थिइन् ।
स्थानीय छिमेकीका अनुसार दिनेश तिहारमा घरमा आएका बेला ललिता र उनीबीच सम्बन्ध राम्रै थियो । बोलचाल पनि भएको थियो । त्यतिबेला ललिताले आफू केही महिनाका लागि बिदामा आएको बताउँदै दिनेशलाई पनि वैदेशिक रोजगारीमा जान सल्लाह दिएकी थिइन् । ललिताले पतिसँग कान्छीलाई ल्याएर घरमै राखेर छोराछोरी र घरको हेरचाह गरौँ भनेर सल्लाह पनि गरेकी थिइन् । पत्नीसँग भएको सल्लाहबमोजिम नै दिनेश तिहारपछि कान्छी पत्नीलाई लिन भारत गएका थिए । त्यसपछि उनी कान्छी पत्नी र छोरीलाई लिएर मंसिर दोस्रो साता घर फर्केका थिए । तर, दिनेश भारत गएलगत्तै ललिताले मंसिर ९ गते भिसा आइसकेको भन्दै घर छाडेर हिँडिसकेकी थिइन् । ‘भिसा आइसक्यो भनेर गएकी हुन्,’ स्थानीय एकले भने, ‘तर, घर छाडेर गएको केही दिनपछि विवाह गरेको खबर आयो ।’ सुरुमा त विश्वास लागेको थिएन तर उनले नै फोन गरेर ‘मैले विवाह गरेँ’ भनेपछि पतिले पत्याएका थिए । वैदेशिक रोजगारीबाट फर्केपछि ललिताको व्यवहार पहिलेको भन्दा निकै भिन्न भएको थियो । ‘राति मोबाइलमा पुरुषसित कुरा गर्थिन्, विवाह गर्लिन् भन्ने विश्वास लागेको थिएन,’ उनका छिमेकीले भने ।
ललिता वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमै छिन् । उनले कहिलेकाहीँ छोराछोरीसित फोनमा कुरा गर्ने गरेकी छन् । आफू विदेशबाट आइसकेपछि छोराछोरीलाई भेट्ने आश्वासन दिएको छोरीहरूले बताए । कान्छी पत्नीसहित फर्केका दिनेश भने जेठी पत्नीसँगको सल्लाह ‘तोडिएपछि’ हाल ससुरालीमा बस्दै आएका छन् । नजिकै भए पनि उनी कहिलेकाहीँ मात्र घरमा आउँछन् । आमाबाबुको साथ नपाएपछि हजुरआमा र हजुरबासँग बस्दै आएका पुष्पा, पूर्णिमा र प्रशान्त स्थानीय निम्न माध्यमिक विद्यालयमा कक्षा आठ, पाँच र दुईमा पढिरहेका छन् ।

प्रतिक्रिया