पूर्व मन्त्री खड्का जेल चलान

काठमाडौं, ६ भदौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहरीएका पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का आज जेल चलान भएका छन् ।
खड्कालाई साउन–३० गते सर्वोच्चले डेढ बर्ष कैद र करिव ९४ लाख रुपियाँ जरिवाना र सोही बराबरको विगो फैसला गरेको थियो । कानून व्यवसायी र केही सहयोगीका साथ दिउसो दुई बजे काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भएर धरौटी वापतको ७५ लाख ८९ हजार रुपियाँ नगद बुझाए ।
खड्काका शुभेच्छुकले प्रदर्शन गर्ने आशंकामा प्रहरीले अदालत परिसरमा उच्च सुरक्षा सतर्कता अपनाएको थियो । खड्का आए पछि अदालत प्रवेश गर्ने मुल गेट बन्द गरिएको थियो । खड्का ललितपुरको सानेपास्थित निवासबाट समर्थक र सहयोगीहरुका साथ आएका थिए ।
खड्काले कैद सजायमा पनि वीस प्रतिसत छुट पाएका छन् । अदालतबाट फैसला भएको ६० दिनभित्र अभियुक्त स्वयं उपस्थित भए २० प्रतिशत सजाय माफी हुने कानूनी व्यवस्था छ ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाएको थियो ।
उनले १८ लाख ९४ हजार रुपियाँ छुट पाएका हुन् । खड्का अब एक वर्ष २ महिना ९ दिनमात्रै बस्नुपर्नेछ । उनी २०७० साल कार्तिक–१४ गते रिहा हुनेछन् ।
यसैवीच, पूर्वमन्त्री खड्काले आफूमाथि अन्याय भएको बताएका छन् । ‘सर्वोच्चको फैसलामा मेरो विमत्ति रहे पनि कानूनी राज्यलाई सम्मान गर्छु,’ धरौटी बुझाएर बाहिर निष्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘मलाई अन्याय भएको छ ।’

प्रतिक्रिया