एमाओवादीबाट राष्ट्रपति त्रसनु हुँदैनः नेपाल

काठमाडौं, ६ भदौ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्तारुढ एमाओवादीले राष्ट्रपतिलाई धम्क्याएर तथा त्रसाएर आफ्नो दुनो सोझ्याउन खोजेको आरोप लगाएका छन् ।
युवा संघ नेपालले राजधानीमा आज आयोजना गरेको कार्यक्रममा नेपालले एमाओवादीको धम्कीवाट राष्ट्रपति त्रसनु जरुरी नभएको वताए ।
उनले एमाओवादीको धम्कीवाट नत्रसे ऊ आफैं पुच्छर लुकाएर भाग्ने ठोकुवा गरे । ‘संविधानका सबै अंग सिध्याएर एकमात्र निर्वाचित संस्था राष्ट्रपतिलाई धम्क्याउन र त्रसाउन खोजिरहेका छन्’ नेपालले भने, ‘राष्ट्रपति उनीहरुको धम्कीवाट त्रसिनु जरुरी छैन, नत्रसिए उनीहरु आफैं पुच्छर लुकाएर भाग्छन् ।’
आफू प्रधानमन्त्री भएका वेला पनि सत्ता कब्जा गर्ने योजनाका साथ तर्साउन खोजेको तर, आफू नत्रसे पछि एमाओवादी पुच्छर लुकाएर भागेको नेपालले वताए ।
नेपालले एमाओवादीलाई देशको उपद्रो सन्तान भएको बताए । ‘पहिले एमाओवादीले सेनामा कब्जा गर्न खोज्यो, त्यसपछि अदालत, संबैधानिक अंगहरुलाई निश्क्रिय बनाएयो,’ उनले भने, ‘राष्ट्रपतिलाई धम्क्याएर सत्ता कब्जा गर्न सकिन्छ भन्ने गलत विश्वासमा अझै एमाओवादी छ ।’
नेपालले एमाओवादीको सत्ता कब्जा गर्ने योजनालाई एमालेले सफल हुन नदिने वताए । ‘एमालेको चुनौती छ, एमाओवादीले सत्ता कब्जा गर्न खोजेको हो भने लोकतन्त्रका लागि बलिदान दिन तयार छौं,’ उनले भने, ‘एमाले कदाप सत्ता कब्जालाई सफल हुन दिने छैन ।’

प्रतिक्रिया