नेपालको सान्त्वना जित

मेलबर्न, ६ भदौ । नेपालले जारी आइसिसी यु–१९ विश्वकप प्रतियोगितामा नामिबियालाई हराएर पहिलो जित हात पारेको छ । लगातार चार हार बेहोर्दै विश्वकप र प्लेट च्याम्पियनसिपको उपाधि होडबाट पनि बाहिरिइसकेको नेपालले मंगलबार १३आँै स्थानका लागि भएको प्लेअफमा नामिबियालाई ३९ रनले पराजित गर्‍यो । समूहचरणका सबै तीन खेलमा पराजित भएको नेपालले सोमबार प्लेट च्याम्पियनसिपको क्वार्टरफाइनलमा श्रीलंकासँग आठ विकेटले हार व्यहोरेको थियो ।
पहिलो जित हात पार्ने क्रममा नेपालले केही सुधारिएको प्रदर्शन गर्‍यो । टस जिती पहिला ब्याटिङ गरेको नेपालले प्रदीप ऐरीको आकर्षक इनिङपछि ५० ओभरमा सात विकेट गुमाउँदै २१९ रन जोडेको थियो । प्रदीपले ९८ रन जोडे ।
नामिबिया भने ४६.३ ओभरमा १८० रनमा सीमित भयो । नामिबियालाई अलआउट गर्ने क्रममा स्पिनर भुवन कार्कीले पाँच विकेट लिए । ७.३ ओभर बलिङ गरेका भुवनले २१ रन खर्चिएका थिए । कुनै समय ७२–४ को स्थितिमा रहेको नामिबियाले पाँचाँै विकेटका लागि ७१ रनको साझेदारी गरेपछि नेपाल संकटमा परेको थियो तर प्रदीपले ५६ रन जोडेका कप्तान स्टेफान वार्डलाई बोल्डआउट गरी उक्त साझेदारी तोड्दै नेपालको आशा जोगाएका थिए ।
यसअघि विकेटकिपर सुभाष खकुरेलबाहेकका भरपर्दा ब्याट्सम्यानले पुन: कमजोर प्रदर्शन गरे पनि नेपालको इनिङ प्रदीपकै वरिपरि घुम्यो । ७६ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरेर नटआउट पनि भएका उनी जारी प्रतियोगितामा अर्धशतकीय इनिङ खेल्ने सुभाषपछि पहिलो नेपाली खेलाडी बने । छैटाँै नम्बरमा ब्याटिङ गर्न आएका प्रदीपले कुनै समय ७२–५ को स्थितिमा पुगेको नेपाली टोलीका लागि राजेश पुलामीमगर (२४) सँग मिलेर छैटाँै विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । उनी सातौँ विकेटका लागि हसिम अन्सारी (१८) सँग ६० रनको साझेदारी गरे । फैजलुर रेहमान ५, सागर पुन ७ र पृथु बास्कोटाले १८ रन जोडे पनि सुभाष खकुरेलले व्यक्तिगत ३५ रन जोड्दै आफ्नो स्थिर प्रदर्शनलाई जारी राखेका थिए । अस्ट्रेलियाविरुद्ध १२ रन जोडेका सुभाषले आयरल्यान्डविरुद्ध ३१ रन जोडेका थिए भने इंगल्यान्डविरुद्ध ५५ रन जोडेका थिए । सोमबार श्रीलंकाविरुद्ध पनि उनले २२ रन जोडेका थिए । सानदार बलिङ प्रदर्शन गरेका भुवन म्यान अफ द म्याच भए । नेपालले १३आँै स्थानका लागि पपुआ न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । १३आँै स्थानका लागि भएको अर्को सेमिफाइनल प्लेअफमा पपुआ न्युगिनीले जिम्बावेलाई १२ रनले पराजित गर्‍यो । जारी प्रतियोगितामा एसोसिएट तथा एफिलिएटेड टोलीसँग पराजित हुने एक मात्र टोलीका रूपमा जिम्बावे रहेको छ । यसअघि जिम्बावे स्कटल्यान्डसँग पनि पराजित भएको थियो ।
अफगानिस्तान प्लेट फाइनलमा
स्कटल्यान्डलाई १२६ रनले पराजित गर्दै अफगानिस्तान प्लेट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नवाँै स्थानका लागि भएको सेमिफाइनल प्लेअफमा अफगानिस्तानले सानदार ब्याटिङ प्रदर्शन गर्‍यो । जावेद एहमादीको १३४ र नाजिवुल्लाह जद्रानको ८३ रनको योगदानपछि अफगानिस्तानले निर्धारित ५० ओभरमा ३३६ रन जोडेको थियो । स्कटल्यान्ड भने ३९.४ ओभरमा २१० रनमा सीमित भयो । अफगानिस्तानले उपाधिका लागि श्रीलंका र आयरल्यान्डबीचको खेलका विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
अस्ट्रेलियाद्वारा दक्षिण अफ्रिका पराजित
दक्षिण अफ्रिकालाई चार विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनल प्रवेश गरेको छ । अस्ट्रेलियाले प्राप्त १९२ रनको लक्ष्य ४८.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । तीन खेलाडी शून्यमै आउट भए पनि अस्ट्रेलियाले क्यामरन ब्यानक्रफ्टको ६६, कुर्तिस प्याटर्सनको ४९ र विलियम बोसिस्टोको ४० रनको योगदानपछि जित हात पार्न सफल भएको हो । प्रारम्भिक ब्याट्सम्यान जिम्मी पायरसन, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मेरिक बुचानन शून्य (०) र छैटाँै नम्बरमा ब्याटिङ गर्न आएका ट्राभिस हेड शून्य (०) मा आउट भए ।
३–२ को स्थितिमा प्याटर्सनसँग तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरेका ब्यानक्रफ्न म्यान अफ द म्याच भए । यसअघि दक्षिण अफ्रिका निर्धारित ५० ओभर खेले पनि खेलभर दबाबमा रहयो । दक्षिण अफ्रिकाका लागि चाद वोएसले ४६, मर्रे कोएटजीले ५० र प्रेनेलान सुब्रायेनले ३० रन जोडेका थिए । अस्ट्रेलियाले उपाधिका लागि न्युजिल्यान्ड र भारतबीचको खेलका विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

प्रतिक्रिया