अमेरिकालाई रुसको चेतावनी

मस्को : एकपक्षीय निर्णय गरी सिरियाविरुद्ध कुनै कदम नचाल्न रुसले पश्चिमी राष्ट्रलाई चेतावनी दिएको छ । सिरियाली राष्ट्रपति बसर अल असदलाई अपदस्थ गर्न अमेरिकी सैनिक सिरिया प्रवेश गर्न सक्ने भनाइ अमेरिकाले सार्वजनिक गरेको भोलिपल्ट मंगलबार रुसले यस्तो चेतावनी दिएको हो । रुसको मान्यतामा चीनसमेत सहमत
रहेको बताइन्छ ।
सिरियाली सेनाले विद्रोहीविरुद्ध रासायनिक हतियार प्रयोग गर्न खोजे सिरियाली सत्तासीन असदलाई अपदस्थ गर्न अमेरिकी फौज सिरिया प्रवेश गर्न सक्ने चेतावनी अमेरिकी राष्ट्रपति ओबामाले सोमबार दिएका थिए । साथै उनले सिरियासँग रहेका रासायनिक लगायत आम विनासकारी हतियारको सुरक्षाको प्रतिबन्ध खस्किन नहुने समेत प्रष्ट पारेका थिए ।
ओबामाको भनाइको प्रतिरोधमा रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघ चार्टरको उल्लंघन रुस र चीनलाई स्वीकार्य नहुने भनाइ सार्वजनिक गरेका हुन् । सिरियासँग निकट सम्बन्ध रहेका चीन र
रुसले यसअघि पनि सिरियामाथि हुन सक्ने बाहय सैन्य हस्तक्षेपको सम्भावनाको विरोध गर्दै आएका छन् । सिरियामाथि दबाब सिर्जना गर्न राष्ट्रसंघ सुरक्षापरिषद्मा पेस गरिएका प्रस्तावलाई रुस र चीनले मिलेर पटक–पटक तुहाइसकेका छन् । स्मरण रहोस्, रुस र चीन दुवै सुरक्षा परिषद्मा भिटो शक्ति भएका राष्ट्र हुन् ।
अमेरिका, युरोपेली युनियन, अरब लिगलगायतले विद्रोहीको मागबमोजिम सत्ता त्याग गर्न राष्ट्रपति असदलाई दबाब दिइरहेका छन् । प्रदर्शनकारीको आवाजलाई सिरियाली सरकारले बर्बर ढंगले दबाउन खोजेको भन्दै उनीहरूले सिरियाली सरकार आम नरसंहारमा संलग्न भएको आरोप लगाएका छन् । तर, रुस र चीनले भने सिरियाली राष्ट्रपति असदको पक्षमा अन्तर्राष्ट्रिय जनमत जुटाउने प्रयास गर्दै आएका छन् । उनीहरूको यस्तो प्रयासमा इरानले पनि सक्रिय ढंगले सहयोग गरिरहेको छ ।
यस्तो बेला अमेरिकी राष्ट्रपतिले सिरियामाथि हमला गर्न सक्ने आशयको भनाइ सार्वजनिक गरेपछि यसलाई ज्यादै गम्भीरतापूर्वक लिइएको छ । चीनका उच्च अधिकारीसँगको भेटका क्रममा विदेशमन्त्री लाभ्रोभले यस्तो बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे । संकट समाधानका लागि अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघ चार्टरको अक्षरश: पालना एक मात्र उपाय भएको जिकिर उनले गरे ।
सिरियाले आम विनासकारी हतियारको राम्रो ढंगले सुरक्षा र व्यवस्थापन गर्न नसके सिरियाले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी अमेरिकी राष्ट्रपति ओबामाले दिएका थिए । रासायनिक हतियार गलत व्यक्तिको हातमा गएको अवस्था अमेरिकाका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने ओबामाले प्रष्ट
पारेका थिए । (एजेन्सी)

प्रतिक्रिया