राष्ट्रघातविरुद्ध युवाको भूमिका

राजा रहे राष्ट्र रहन्छ, अस्तित्व लोप भइसकेका सामन्तहरू भन्छन् । तर, लिम्पीया धुरा बेच्नेको होस् कि, ज्ञानेन्द्रको दुवैको चरित्र ठीक उल्टो छ । अब दिल्लीले नपुगेर वर्घिङगम दरबार लागेका छन् । हाल ज्ञानेन्द्रको वर्घिङगम यात्रा सुशील र झलनाथको अनि प्रचण्ड र बाबुरामको बान कि–मुन लुम्बिनी ल्याउने अभियानको फरक–फरक कित्ताका एकै सहयात्रीहरू हुन् अथवा देखाइ र बुझाइमा मात्रै फरक हो ।
वर्घिङगम दरबार भनेको बेलायती साम्राज्यवादको प्रतीक हो । अप्रत्यक्ष अमेरिकी साम्राज्यवादको रूप हो । अमेरिकी साम्राज्यवादको मुख्य लक्ष्य भनेको गरिबी, जनजाति, दलित, आदिवासीलाई सहयोग गर्ने नाममा क्रिस्चियन बनाउने हो । बौद्ध गुम्बा र पशुपति आदि मन्दिरको सट्टा चर्च नै चर्चले नेपाललाई भर्ने हो । सबैलाई पादरी बनाउने हो । त्यही पादरीमार्फत राजनीति गर्ने हो । दोस्रो काम भनेको चीन र भारतका विरुद्ध नेपालीलाई उकास्ने हो । दुवै विश्वको उदाउँदा देशमाथि प्रहार गर्ने हो । नेपाली जनतालाई चीन, भारतका विरुद्ध ‘हतियर’ बनाउने हो । शान्तिको माला जपेर राष्ट्रसंघको नाममा प्रवेश गर्ने हो । अनमिनलाई आधार बनाएर कुनै न कुनै षड्यन्त्रको उद्देश्यले सेनालाई थप सैनिक प्रशिक्षण भन्दै प्रवेश गर्ने र हतियार नेपाली जनतालाई बेच्ने हो । दुवै शक्ति राष्ट्र ‘चीन र भारतीयको निसानामा नेपाली मार्ने खेलमैदान’ बनेपछि, शान्ति र मानवअधिकारको ताली बजाउने रणनीति हो । सिआइएको उक्साहाटमा नेपालीको अस्थिपञ्जरको थुप्रो लगाउनु हो । हालको वर्घिङगम यात्रा नेपाली मानव अस्थिपञ्जरको थुप्रो लगाउने सिआइए अभियानमा थप सहयोगी बन्नु हो । ‘भीरमा लड्ने गाईलाई राम राम’ भन्न सकिन्छ तर, वार्घिङगम राष्ट्रवादलाई कसैले काँध हाल्न सक्दैन । सामन्तवाद भनेको राष्ट्रवाद भन्ने युगको अन्त्यसँगै दलाल युगको सुरुआत पनि हो । यसले नेपाली सभ्यता र संस्कृतिलाई त जोगाउँदैन, स्वयं ज्ञानेन्द्रलाई राम्रो हुँदैन । त्यसकारण कमल थापा, सूर्यबहादुर थापा, पशुपति शमशेर र संघीयताले देश टुक्रन्छ भन्दै सात राज्यको प्रस्ताव लैजाने हँसिया हतौडावाला मोहनविक्रम र चित्रबहादुर केसीको राष्ट्रवाद पनि एकै हो । यस कुरालाई एपेकमा पारस शाह उपाध्यक्ष बस्नुले नै पुष्टि गर्दछ ।
त्यसैले सामन्तवादको नायक ज्ञानेन्द्र, कम्युनिस्ट नामको पार्टी र कांग्रेस आदि नामको पुँजीवादी पार्टीहरूको सबैखाले भ्रमलाई चिन्न सक्नु र नसक्नुले नै युवाको क्रान्तिकारी भविष्यको निर्धारण गर्दछ । पुँजीवादी र सामान्तवादी दलालहरूसँग लड्नुभन्दा कम्युनिस्ट नामको हरियो अजिंगरजस्ता ‘लाल दलाल’ सँग लड्नु नेपाली जनताका लागि कम मूल्यवान हुने छैन । यस्ता लाल दलालहरूका विरुद्ध उठ्ने आजका अगुवा भनेकै देशविहीन जीवन बिताइरहेका विदेशिएका युवाहरू हुन् । देश दिनदिनै पछाडि धकेलिनु भनेको आजको राजनीतिको चलखेल गर्ने अघिल्लो पुस्ता हो । अघिल्लो पुस्ता उमेरले होइन, विचार र चेतनाको भ्रष्ट पुस्ता हो । यी–यस्ता दलाल राजनीतिक संस्कृति, देश बेचेर खाने संस्कृति र पार्टी फुटको संस्कृतिजस्ता भ्रष्ट विचार, चिन्तन र व्यवहारलाई युवा पुस्ताले जबरजस्ती खोसेर लिनुपर्छ । पैसाविना राजनीति हुन्न (भ्रष्टाचार गर्नुपर्छ) र झोला बोकेर एक कप चियाका भरमा पुरानो चिन्तनका पछाडि दौडने पुरानो युवा पुस्ताको चिन्तनबाट उठ्नुपर्छ । क्रिस्यिनीकरण गर्न ज्ञानेन्द्र र ठूला दलका ठेकेदारहरूका विरुद्ध युवाहरू मुकाबिला गर्न स्वस्फूर्त रूपमा तयार बन्नुपर्छ । आजको नवऔपनिवेशिक युगमा नेपालीको साझा शत्रु भनेको साम्राज्यवाद र विस्तारवाद हो । त्यसलाई पालेका भनेका नेपालका ठूला दलका शीर्ष दलालहरू हुन् । तिनीहरूका विरुद्ध साम्राज्यवाद, विस्तारवाद दलाल मुर्दावाद भनेर जानुपर्छ । भोलिका उदाउँदा युवाको भविष्य साम्राज्यवाद, विस्तारवाद मुर्दावादभित्र छ । अन्त्यमा, ज्ञानेन्द्रलगायत सबै दललाई चेतना हुनुपर्छ । सिआइएको आशीर्वादले राष्ट्र बँच्दैन । बरु जनता मार्ने खेलमैदान बन्नेछ । त्यसकारण ज्ञानेन्द्रका पिएचडीवाला सल्लाहकारको सल्लाहले वर्घिङगम जानुभन्दा जनताको घरघर गए बेस होला । ज्ञानेन्द्रको वर्घिङगम राष्ट्रवाद (अमेरिकी दलाल) लाई चिर्दै देश बेचेर खाने दलालहरूको हातबाट राष्ट्रलाई जोगाउनु आजका युवाको मुख्य क्रान्तिकारी काम हो, नेपाली जनवादी क्रान्ति हो । सर्वहारा वर्गको मुक्तिको अभियान हो । र, यो राष्ट्र बचाउने एक मात्र शक्ति युवा नै हो ।

प्रतिक्रिया