हेपाटाइटिसका डरले २१ दिनदेखि विद्यालय बन्द

जाजरकोट, ६ भदौ । हेपाटाइसिस ‘बी’ बाट शिक्षकको मृत्यु भएपछि कार्कीगाउँका दुई विद्यालयका विद्यार्थी विद्यालय आउन डराएका छन् । विद्यार्थी नआएपछि कार्कीगाउँका दुई विद्यालयको पठनपाठन २१ दिनदेखि ठप्प छ । कार्कीगाउँ–४, काँडास्थित हिमालय प्राथामिक विद्यालय र कार्कीगाउँ–३ मा रहेको जनकल्याण माध्यमिक विद्यालय बन्द रहेको हो ।

वर्षे बिदापश्चात् १५ साउनदेखि विद्यालय खुले पनि विद्यार्थी उपस्थित नभएपछि पठनपाठन सुचारु हुन नसक्दा विद्यालयको शैक्षिक कार्यतालिकासमेत प्रभावित भएको छ । विद्यालयका शिक्षक आनन्द अधिकारीको हेपाटाइटिस ‘बी’ का कारण मृत्यु भएपछि विद्यार्थीमा त्रास फैलिएको हो । गत चैतमा वीर अस्पताल काठमाडौंमा स्वास्थ्यपरीक्षण गराउँदा उनमा हेपाटाइटिसको संक्रमण देखिएको थियो । स्वास्थ्यपरीक्षणपछि घरमै रहेका अधिकारीको ११ साउनमा मृत्यु भएको हो ।
विद्यालयमा आफूहरू हाजिर भए पनि विद्यार्थी नआएपछि फर्कने गरेको प्रधानाध्यापक डिल्लीबहादुर खत्रीले जानकारी दिए । उनले भने, ‘विद्यार्थी एउटा पनि आएनन्, कसलाई पढाउनु ? हाजिर गरेर मात्र फर्कने काम भएको छ ।’
शिक्षक अधिकारीको मृत्युपछि विद्यार्थीमा मात्र होइन, पूरै गाउँमा सन्त्रास फैलिएको छ । गाउँका स्थानीय हेपाटाइटिस ‘बी’ को त्रासले गाउँ छोडेर सदरमुकाम आएका छन् । शिक्षक अधिकारीको मृत्यु भएको थाहा पाएपछि गाउँलेहरू आत्तिएका हुन् । सुरुमा काँडागाउँका स्थानीय मात्र सदरमुकाममा आए पनि अहिले गाविसका अन्य गाउँका स्थानीय पनि स्वास्थ्यपरीक्षणका लागि सदरमुकाम आउन थालेका छन् ।
गाउँका २० जनाले कोहलपुर गएर स्वास्थ्यपरीक्षण गराएको हिमालय प्राविका शिक्षक कर्णबहादुर अधिकारीले बताए । गाउँमा हेपाटाइटिसको त्रास फैलिएर मान्छे विस्थापन हुन लाग्दा पनि जिल्ला स्वास्थ्य कार्यालयले कुनै चासो नदेखाएको शिक्षक अधिकारीले बताए । उनले भने, ‘मान्छे डरले गाउँ नै छाड्न थालिसके तर कसैलाई वास्ता छैन ।’
खोप लगाउन र रगतपरीक्षण गर्न स्थानीय गाउँ छाडेर सदरमुकाम आएको स्थानीय नरबहादुर वलीले बताए । सदरमुकाममा महंगो शुल्क तिरेर खोप लगाउन र रगतपरीक्षण गर्न उनीहरू बाध्य छन् । सरकारले एक वर्षमुनिकालाई मात्र हेपाटाइटिस ‘बी’ को खोप उपलब्ध गराउने भएकोले आफूहरू निजी स्वास्थ्य संस्थामा महंगो शुल्क तिरेर रोग जँचाउन तथा खोप लगाउन बाध्य भएको स्थानीय लक्ष्मण खत्रीले बताए ।
सदरमुकामको रोकाय मेडिकलले एउटा खोपको ६ सय रुपियाँ र रगतपरीक्षणको तीन सय रुपियाँ लिने गरेको छ । रोग लागेका बिरामीको उपचार जिल्लामा नहुने भएपछि स्थानीयमा झन् चिन्ता बढेको छ । आफूहरूले अहिले हेपाटाइटिस ‘बी’ नभएकाका लागि मात्र खोप दिने गरेको रोकाय मेडिकलका सञ्चालक लोशप्रकाश रोकायले जानकारी दिए । रोग प्रमाणित भएको कुनै आधार नभए पनि धमाधम रगतपरीक्षण गरिरहेकोप्रति कुनै निकायले चासो देखाएको छैन ।
यता जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख डा.विवेककुमार लालले अहिलेसम्म जिल्लामा तीन जना मात्र हेपाटाइटिस ‘बी’ का बिरामी भेटिएको जानकारी दिए । सदरमुकामस्थित मेडिकलमा भइरहेको स्वास्थ्यपरीक्षण गैरकानुनी भएको उनले बताए । स्थानीयलाई गैरकानुनी रूपमा स्वास्थ्यपरीक्षण वा उपचार गराए पनि स्थानीय प्रशासन बेखबर बनेको छ । स्वास्थ्य सेवा विभागको अनुमति र स्वीकृति नलिएर रगतजाँच गर्ने र खोप लगाउने मात्र होइन कुनै पनि उपचारसम्बन्धी सेवा दिन नपाइने व्यवस्था छ ।

प्रतिक्रिया