एक वर्षमा कति कमाए बैंकहरुले

काठमाडौं, ५ भदौ । विभिन्न प्रतिकूलताका बाबजुद गत आर्थिक वर्षमा देशका वाणिज्य बैंकले उच्च दरमा मुनाफा हात पारेका छन् । आर्थिक वर्ष ०६८/६९ मा सबैभन्दा बढी कृषि विकास बैंकले मुनाफा आर्जन गरेको छ भने सबैभन्दा कम सेन्चुरी बैंकले ।

अत्यधिक तरलता र घट्दो कर्जा मागका बीच वाणिज्य बैंकहरूको खुद मुनाफामा करिब १३ प्रतिशतको समग्र वृद्धि देखिएको हो । आर्थिक वर्ष ०६७/६८ को तुलनामा गत आवमा वाणिज्य बैकहरूले १ अर्ब ७७ करोड ३२ लाख रुपियाँ बढी मुनाफा आर्जन गरी कुल १५ अर्ब ४९ करोड ८७ लाख रुपियाँ पुर्‍याएका छन् । नेपालमा सञ्चालित कुल ३२ वाणिज्य बैंकमध्ये ७ वटाको खुद मुनाफा १ अर्ब रुपियाँभन्दा बढी छ । वाणिज्य बैंकहरूले प्रकाशन गरेको गत आवको वित्तीय विवरणअनुसार सरकारी स्वामित्वको कृषि विकास बैंकले सबैभन्दा बढी १ अर्ब ८६ करोड रुपियाँ खुद मुनाफा गरेको छ ।
यसैगरी, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि १ अर्ब ४४ करोड खुद मुनाफा गरेर तेस्रो स्थानमा आएको छ । प्रत्येक वर्ष सबैभन्दा अग्रस्थानमा रहने गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंक गत वर्ष भने पाँचाँै स्थानमा झरेको छ । अन्तर्राष्ट्रिय लगानी रहेको यस बैंकले गत वर्ष १ अर्ब १६ करोड रुपियाँ मात्र खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । निजी क्षेत्रका वाणिज्य बैंकमध्ये नबिल बैंकले सबैभन्दा बढी १ अर्ब ७१ करोड रुपियाँ मुनाफा गरेको तथ्यांक छ । यो समग्र बैंकहरूको सूचीमा दोस्रो स्थानमा छ । नेपाली मात्रैले सञ्चालन गरेको नेपाल इन्भेस्टमेन्ट बैंकले पनि राम्रो प्रगति गर्दै गत आवमा १ अर्ब ३१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेर चौथो स्थानमा आएको छ । १ अर्ब रुपियाँभन्दा बढी खुद मुनाफा गर्ने बैंकमा एभरेष्ट बैंक र हिमालयन बैंक थपिएका छन् । खुद मुनाफाको पहिलो १० सूचीभित्र पर्न सफल अन्य बैंकमा एनबी बैंक, बैंक अफ काठमाडौं र नेपाल एसबीआई बैंक रहेका छन् ।

प्रतिकूल अवस्थाका बाबजुद पनि आययोग्य सम्पत्ति वृद्धि गरी खर्च घटाउनमा बैंक व्यवस्थापन सफल भएकाले बैंकहरूको आम्दानी बढ्न गएको नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष एवं सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी दिए । बैंंकहरूले खुद मुनाफाको ३० प्रतिशत करस्वरूप राज्यलाई बुझाउने हुँदा यो सरकारका लागि पनि खुसीको खबर भएको उनको भनाइ छ ।
वित्तीय विवरणअनुसार सबैभन्दा बढी नाफा कमाउन सफल कृषि विकास बैंकले आºनो खराब कर्जा प्रतिशतलाई ८ दशमलव ९९ प्रतिशतबाट घटाएर ६ दशमलव ३३ प्रतिशतमा झारेको छ । बैंकले कर्जा नोक्सानी व्यवस्थाबाट मात्र २ अर्ब १७ करोड ५९ लाख रुपियाँ फिर्ता लिएकाले खुद नाफाको सूचीमा उच्च स्थानमा पुग्न सफल भएको हो । बैंकको खराब कर्जा नोक्सानी व्यवस्था गर्नुअघिको सञ्चालन मुनाफा भने १ अर्ब ८३ करोड रुपियाँ रहेको छ ।
अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि दर सबैभन्दा उच्च छ, एनबी बैंकको । सो बैंकले खराब कर्जा रकम असुल गरेकाले खुद मुनाफामा समेत वृद्धि भएको हो । बैंकले गत आवमा कर्जा नोक्सानी व्यवस्थाबाट ४० करोड २६ लाख रुपियाँ रकम फिर्ता गरेको बैंकद्वारा प्रकाशित चौथो त्रैमासिकको वित्तीय विवरणमा उल्लेख छ । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले पनि सम्भावित कर्जा नोक्सानीबाट ९९ करोड ४८ लाख फिर्ता लिएकाले उच्च मुनाफा गर्न सफल भएको हो । यस बैंकको अघिल्लो वर्ष खराब कर्जा १० दशमलव ९१ प्रतिशत रहेकामा गत आवमा यो घटेर ७ दशमलव २७ प्रतिशतमा पुगेको छ ।
वाणिज्य बैंकहरूले आºनो खराब कर्जालाई औसत १ दशमलव ९८ प्रतिशतमा राख्न सफल भएका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरूको खराब कर्जा प्रतिशत २ दशमलव ५ प्रतिशतसम्म रहेको थियो । निक्षेप संकलन लागत विस्तारै बढ्दै जानु, खराब कर्जा असुलीमा प्रगति हुनु एवं विस्तारै सुलभ दरमा कर्जा विस्तारलाई बढाउँदै लगेकाले बैंकहरूको नाफामा गुणात्मक वृद्धि भएको उपाध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया