अनशनकारीको अवस्था गम्भीर

काठमाडौं, ५ भदौ । नि:शुल्क उपचारको माग गर्दै अनशनमा बसेको मिर्गाैला रोगीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । मिर्गौला रोगी २५ साउनदेखि नेपाल किड्नी समाजको नेतृत्वमा मिर्गौला रोगी अनशन बसिरहे पनि सरकारले कुनै ध्यान दिएको छैन ।

दस दिनदेखि रिले अनशनमा बसेका अधिकांश रोगीमा शरीर सुन्निने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप तलमाथि हुने, वाकवाक लाग्ने, रिँगटा लाग्ने र बेहोस हुनेजस्ता समस्या देखिएको छ । ‘उसै त रोगी झन् अनशनका कारण थप अन्य समस्याले सताउन थालेको छ,’ मिर्गौला रोगी पत्रकार रमेश चालिसेले भने । उनका अनुसार दुवै मिर्गाैलाले काम नगरेपछि डायलोसिस गराइरहेका बिरामी दिनभर भोकभोकै बसेपछि स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको हो ।
उनीहरूले सरकारले मिर्गौला रोगीको नि:शुल्क उपचार र हेमोडायलासिसमा लाग्ने सम्पूर्ण खर्च नि:शुल्क गराउनुपर्ने, उपचारका लागि एकमुष्ट आर्थिक सहयोग गर्नुपर्ने, स्वैच्छाले अंगदान गर्न पाउनुपर्ने, ब्रेन डेथ भएकाहरूको मिर्गाैला निकाली प्रत्यारोपण गर्ने व्यवस्था गरिनुपर्नेलगायत माग राखेको छ । यस्तै, प्रत्येक जिल्लामा कम्तीमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नुपर्ने, डायलासिस सेवा २४ घन्टै सञ्चालन गर्नुपर्ने, बन्द–हडतालका बेला मिर्गौला रोगीलाई अस्पताल लान–लैजान छुट्टै सवारीसाधनको व्यवस्था गरिनुपर्ने माग छ ।

प्रतिक्रिया