८५ प्रतिशत नेपाली लामखुट्टेजन्य रोगको जोखिममा

काठमाडौं, ५ भदौ । झन्डै ८५ प्रतिशत नेपाली लामखुट्टेजन्य रोगको जोखिममा रहेको नयाँ तथ्यांक सार्वजनिक भएको छ । नेपालको कुल जनसंख्या दुई करोड ६६ लाखमध्ये दुई करोड ५० लाख नेपाली लामखुट्टेजन्य रोगको जोखिममा रहेको स्वान्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका दुई करोड ५० लाखभन्दा बढी नेपाली लामखुट्टेको टोकाइका कारण हुने रोग औलो, कालाजार, हात्तीपाइले, डेंगु, जापनिज इन्सेफलाइटिसजस्ता रोगको जोखिममा छन् । महाशाखाका प्रमुख जिडी ठाकुरले नेपालमा बर्सेनि दुई लाखभन्दा बढी मानिसलाई लामखुट्टेजन्य रोग लाग्ने गरेको बताए । ‘साढे दुई करोड जनता लामखुट्टेजन्य रोगको जोखिममा रहेको हाम्रो मुलुकमा बर्सेनि करिब दुई लाख शंकास्पद रोगीको उपचार गरिन्छ,’ प्रमुख ठाकुरले भने, ‘लामखुट्टेजन्य रोगको खतरामा वर्गीकृत ६७ जिल्लाका बासिन्दा ढुक्क भएर बस्ने अवस्था नरहेकाले देशका ८५ प्रतिशत जनसंख्याले औलोबाट सचेत रहनुपर्छ ।’ उनका अनुसार नेपालमा समुद्र सतहबाट १५ सय मिटरमाथिका हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, बाजुरा, रसुवा, सोलुखुम्बुबाहेकका सबै जिल्लाका सर्वसाधारण रोगको जोखिममा छन् ।
विश्व तापक्रममा आएको वृद्धि तथा मौसम परिवर्तनका कारण नेपालको तराई तथा केही पहाडी जिल्लामा लामुखट्टेजन्य रोको बिरामी बढी देखिन थालेका हुन् । महाशाखाका अनुसार तापक्रममा आएको वृद्धिका कारण देशभरका ६७ जिल्लामा बसोवास गर्ने दुई करोड ५० लाखभन्दा बढी लामखुट्टेजन्य रोगको जोखिममा रहेको र तिनीहरूलाई जुनसुकै बेलामा पनि औलो, कालाजार, हात्तीपाइले, डेंगु तथा जापनिज इन्सेफलाइटिस लाग्न सक्छ । जलवायु परिवर्तन र विश्व तापमानमा भएको वृद्धिको असरसँगै नेपालको भित्री मधेस र तराईको रोगका रूपमा परिचय बनाएको लामखुट्टेजन्य रोग अहिले पहाडको माथिल्लो भाग हँुदै केही हिमाली जिल्लामा पनि देखा पर्न थालेको चिकित्सक बताउँछन् । ‘तापक्रम बढ्दै गएकाले यसको जोखिममा रहनेको संख्यामा पनि वृद्धि हँुदै गइरहेको छ,’ डा. ठाकुरले भने, ‘विगतका वर्षमा चैतदेखि भदौसम्म धेरै मात्रामा देखिने यो रोग पछिल्लो समयमा कात्तिकसम्म देखिन थालेको छ । केही हिमाली जिल्लाका तल्लो भेगमा पनि देखिन सुरु भइसकेको छ ।’ उनले लामखुट्टेजन्य रोगको जोखिम बर्सेनि बढिरहेको बताए ।
लामखुट्टेजन्य रोगमध्ये औलोको जोखिम बढिरहेकाले सरकारले औलो नियन्त्रणका लागि कार्यक्रम विस्तार गरिरहेको छ । सरकारले केही अगाडिसम्म भारतीय सीमासँग जोडिएका जिल्लामा कार्यक्रम गर्दै आएकामा अहिले कार्यक्रम विस्तार गरी ३१ जिल्लामा पुगेको छ । ‘प्रत्येक हजार व्यक्तिमा औलो रोगीको संख्या २ जनामा झार्ने उद्देश्यसाथ सरकारले औलो नियन्त्रण कार्यक्रम १८ जिल्लामा थप गरेर देशभरका ३१ जिल्लामा सञ्चालन गरिरहेको छ,’ डा. ठाकुरले भने, ‘हालसम्म सरकारले भारतीय सिमानासँग जोडिएका तराईका १३ जिल्ला झापा, इलाम, मोरङ, महोत्तरी, धनकुटा, सिन्धुली, काभ्रे, नवलपरासी, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा र बाँकेलाई औलोको उच्च जोखिममा राखेर कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।’
देशभरका ६७ जिल्लाका झन्डै २ करोड ५० लाख जनसंख्या औलोको जोखिममा रहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औलोको जोखिम बढिरहेका १८ वटा जिल्लामा कार्यक्रम थप गरेको डा. ठाकुरले बताए । उनका अनुसार सन् २०१६ सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि ग्लोबल फन्डले ३२ मिलियन डलर सहयोग गरेको छ । गत वर्षदेखि कार्यक्रम थपिएका जिल्लामा डोटी, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, उदयपुर, सप्तरी, सुनसरी, धनकुटा, पाँचथर र सिरहा रहेका छन् ।
पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइका कारण हुने औलो रोग लागेपछि मानिसलाई एक्कासि कामज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या उत्पन्न हुने उनले जानकारी दिए । लामखुट्टेजन्य रोगबाट बच्ने उपाय सबैको एकै खालको भएकाले औलोका कार्यक्रमले नै सबैजसो लामखट्टेजन्य रोग नियन्त्रणमा सहयोग पुग्ने डा. ठाकुरको भनाइ छ । उनका अनुसार लामखुट्टेबाट जोगिन झुल वितरणदेखि कीटनाशक औषधि छर्कने तथा सरसफाइका कार्यक्रम देशभर सञ्चालन गरिएको छ ।

प्रतिक्रिया