सरकार बहिर्गमन कांग्रेसको पूर्व सर्त

काठमाडौं, ४ भदौ । कांगे्रस सभापति सुशील कोइरालाले वर्तमान सरकारको बहिर्गमनपछि मात्रै राजनीतिक निकासका विकल्पमा छलफल गर्न सकिने बताएका छन् ।
महाराजगन्जस्थित आफ्नै निवासमा आज बिहान बसेको पदाधिकारी तथा प्रभावशाली नेताहरुसँगको बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले कामचलाउ सरकारको बहिर्गमन भएपछि जुनसुकै विकल्पमा छलफल गर्न कांग्रेस तयार रहेको बताए ।
सभापति कोइरालाले एमाओवादी र मधेसी मोर्चालगायत दलहरूबीच भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनलाई सत्ता लम्ब्याउने षड्यन्त्रका रुपमा मात्रै लिएको टिप्पणी गरे । उनले भने, ‘गठबन्धनले सत्ता दुरूपयोग गर्ने र मुलुकलाई दुर्घटनातर्फ लैजाने काम गरेको छ ।’
उनले राष्ट्रिय सहमतिलाई पुनःजीवन दिन वर्तमान सरकारको बहिर्गमन अति आवश्यक रहेको उल्लेख गरे ।
पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै आन्तरिक विवादमा पनि छलफल भएको थियो ।
वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय विभाग प्रमुख र अञ्चल संयोजकहरूले राजीनामा दिएको विषयमा बैठकमा छलफल भएको प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
उता, आजै झापाको भद्रपुरमा सञ्चारकर्मीसँग कुरागर्दै सभापति कोइरालाले एमाओवादीले सहमतिको कार्यान्वयन व्यवहारमा नगरेको बताए ।
उनले राष्ट्रपति संविधानको रक्षक र पालकसमेत भएकाले विधेयक फिर्ता गर्नु कुनै नौलो विषय नरहेको बताए । उनले भने, ‘विधेयक फिर्ता गरेकै विषयमा राष्ट्रपति सक्रिय हुन खोजे भन्न मिल्दैन ।’

प्रतिक्रिया