लिभरपुल पहिलो खेलमै पराजित

लन्डन, ४ भदौ । लिभरपुलले यस सत्रको इंग्लिस प्रिमियरसिपको पहिलो खेलमै पराजयको सामना गरेको छ । शनिबार राति भएको खेलमा वेस्टब्रोमविचले लिभरपुललाई ३–० ले पराजित गर्‍यो । लिभरपुलका डानियल अगारले दोस्रो हाफको सुरुवातमै राडो कार्ड पाएका थिए । रोबिन भान पर्सीविनाको आर्सनल सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकियो । हाटन बेन अर्फले गरेको पेनाल्टी गोलमा टोटनहाम हस्टस्पर्सले न्यु क्यासल युनाइटेडलाई २–१ ले पराजित गर्‍यो । डेमियन डेम्बाले ५४औँ मिनेटमा न्यु क्यासललाई अग्रता दिलाएको खेलमा ७६औँ मिनेटमा जर्मियन डिफोले टोटनहामका लागि गोल गरेका थिए । न्यु क्यासलका प्रशिक्षक एलान पार्डेइले म्याच अफिसियललाई धकेलेका कारण रातो कार्ड पाए । उनीमाथि फुटबल संघले थप कारबाही गर्ने सम्भावना रहेको छ ।
वेस्टहाम र रिडिङले प्रिमियरसिपमा बढुवा पाएयता पहिलोपटक पहिलो खेलमा हार जोगाउन सफल भएका छन् । वेस्टहामले अस्टनभिल्लालाई १–० ले पराजित गर्‍यो भने रिडिङले स्टोकसँग १–१ गोलको बराबरी गर्‍यो ।

स्पेनिस ला–लिगा
स्पेनिस ला–लिगामा फाब्राइस ओलिंगा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । उनकै गोलमा मालागाले शनिबार राति भएको खेलमा सेल्टा भिगोलाई १–० ले पराजित गर्‍यो । क्यामरुनका स्ट्राइकर फाब्राइसले ८३औँ मिनेटमा गोल गरेका थिए । बेन्चबाट आएर गोल गरेका उनको उमेर १६ वर्ष तीन महिना ६ दिनमात्र छ । खेलको पहिलो हाफमा फेब्रीको फाजियो र अल्भारो नेग्रोडोले गरेको गोलमा सेभियाले गेटाफेलाई २–१ ले पराजित गर्‍यो ।
यो सिजनको स्पेनिस लिगमा रियल म्याड्रिडले उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । प्रशिक्षक होसेमाउरिन्होले टोलीको लक्ष्य च्याम्पियन्स लिगसमेत जित्ने रहेको बताइसकेका छन् । पछिल्लो दुई सिजनमा रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमीफाइनलमै पराजित भएको थियो । सन् २००३ देखि रियल म्याड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । घरेलु लिगमा भने यो सत्र पनि रियल र बार्सिलोनाबीच नै उपाधिको भिडन्त हुने अनुमान गरिएको छ । एजेन्सी

प्रतिक्रिया