५४ कम्पनीको सेयर अंकित मूल्यभन्दा तल

कठमाडौं, ४ भदौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमध्ये एक चौथाई कम्पनीको कारोबार अंकितमूल्य (फेस भ्यालु) भन्दा तल कारोबार भइरहेको छ ।
गत वर्ष जेठमा सेयर बजारमापक नेप्से परिसूचकमा गिरावट आएर तीन सय बिन्दुभन्दा तल गई हाल चार सयको हाराहारीमा रहे पनि धेरै कम्पनीको सेयर अंकित मूल्यभन्दा मुनि नै रहेको छ । हाल एक्सचेन्जमा दुई सय २२ कम्पनी सूचीकृत रहेकामा ५४ कम्पनीको कारोबार एक सय रुपियाँभन्दा तल भइरहेको छ । प्राय: कम्पनीले प्रतिकित्ता एक सय रुपियाँ अंकितमूल्य राखेर प्राथमिक सेयर निष्काशन गर्छन् । सूचीकृत कम्पनीमध्ये पनि आधाभन्दा बढी कम्पनीको सेयर मूल्य एक सय ५० रुपियाँभन्दा तल कारोबार भइरहेको छ ।
५ महिनामा सेयर मूल्य घटबढका आधारमा तय गरिने नेप्से परिसूचक चार सय २५ को बिन्दुसम्म पुगेको थियो । सरकारले सेयर बजार उत्थानका लागि गरेका केही सकारात्मक क्रियाकलाप एवं तत्कालीन समयमा स्थिरतातिर उन्मुख राजनीतिक वातावरणका कारण बजार केही बढे पनि संविधानसभाको अवसानसँगै सेयर बजारमा पनि गिरावटको पुनरावृत्ति भएको छ ।
नेप्सेमा सूचीकृत ६४ फाइनान्स कम्पनीमध्ये १५ कम्पनीको सेयर मूल्य एक सय रुपियाँभन्दा कम छ भने ७१ विकास बैंकमध्ये २१ विकास बैंकको सेयरमूल्य अंकित मूल्यभन्दा तलमा कारोबार भइरहेको छ । त्यसैगरी होटल समूहका दुई, उत्पादनमूलक समूहक सात, बिमा समूहका दुई, जलविद्युत् समूहका एक र नेपाल चलचित्र विकास संस्थानको सेयर मूल्य सयभन्दा मुनि कारोबार भइरहेको छ । नेपालको सेयर बजार बढ्न र घट्न अहं भूमिका खेल्ने वाणिज्य बैंक समूहका कुनै पनि सेयर एक सय रुपियाँभन्दा तल कारोबार भइरहेका छन् । एक्सचेन्जमा सूचीकृत २४ मध्ये पाँच कम्पनीको सेयर मूल्य एक सय ५० भन्दा मुनि कारोबार भइरहेको छ ।
‘सेयर बजार केही ठूला वाणिज्य बैंक, जलविद्युत् कम्पनी र नेपाल टेलिकमको सेयरले मात्रै धानिरहेको छ । तोकिएका १०/१२ वटा कम्पनीको मूल्यमा गिरावट आउँदा नेप्से परिसूचकमै असर पर्ने गरेको छ । ‘साना विकास बैंक र फाइनान्स कम्पनीको सेयर आकर्षक मानिदैन,’ सेयर विश्लेषक रवीन्द्र भट्टराईले भने । गत वर्ष नेपाल सेयर मार्केट्स, गोर्खा विकास बैंक, सम्झना फाइनान्स, कस्मिक मर्चेन्ट बंैकिङ एन्ड फाइनान्स, पिपल्स फाइनान्सलगायता वित्तीय संस्था समस्यामा परेर नेपाल राष्ट्र बैंकले कारबाही प्रक्रिया अगाडि बढाएकाले अझै पनि ती कम्पनीमा लगानीकर्ताको विश्वास नरहेकाले पनि ती कम्पनीका सेयर अंकित मूल्यभन्दा पनि तल कारोबार भइरहेको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले वित्त कम्पनीको निक्षेप परिचालन र ऋण दुवैमा गिरावट देखाएको छ । निक्षेप र कर्जा परिचालन दुवैमा गिरावट देखिएपछि ती संस्थाको खुद मुनाफामा पनि असर परेको छ । वित्तीय संस्थाको मुनाफा आकर्षक नभएकाले पनि ती कम्पनीका सेयर अंकित मूल्यभन्दा तल कारोबार भइरहेको विश्लेषक भट्टराईले बताए । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत करिब आधादर्जन कम्पनीले गत वर्ष एक अर्ब रुपियाँभन्दा बढी मुनाफा आर्जन गरे पनि अधिकांश कम्पनीले बैंकले निक्षेपमा दिने ब्याजदर जति पनि प्रतिफल दिन नसक्ने स्थिति देखिएको छ ।
जेठ महिनामा तीन लगानीकर्ता संघसँगको सहमतिमा सरकारले अंकित मूल्यभन्दा तल गएको सेयर मूल्य कम्पनी आफैँले किन्न सक्ने निर्णय कार्यान्वयनमा ल्याउने उल्लेख थियो । नेपाल धितोपत्र बोर्डलाई अंकित मूल्यभन्दा तल कारोबार भएका कम्पनीको सेयर आफँै किन्नेसम्बन्धमा नीतिगत व्यवस्था गर्न भनिएको थियो । कम्पनी ऐनमा साधारणसभाले आफ्नो सेयर किन्न प्रस्ताव पारित भएमा र कम्पनीसँग सञ्चित नाफा प्रशस्त भएमा सेयर किन्नसक्ने उल्लेख छ । तर, अंकित मूल्यभन्दा कम मूल्यमा सेयर कारोबार हुने कम्पनीको सञ्चित मुनाफा एकदमै कम हुने हुँदा सेयर खरिद गर्न सक्ने अवस्था भने देखिँदैन ।

प्रतिक्रिया