सहकारी ज्ञान नभएका सञ्चालकलाई कडाइ गरिने

काठमाडौं, ४ भदौ । सहकारीबारे कम ज्ञान भएका व्यक्तिले संस्था खोल्ने क्रम बढेकाले यसलाई सहकारी विभागले नियन्त्रण गर्ने भएको छ । त्यस्ता व्यक्तिले सहकारी खोल्दा संस्था धराशयी बन्दै गएको भन्दै सहकारी विभागले यसलाई नियन्त्रण गर्न सहकारी शिक्षालाई व्यापक बनाइने जनाएको छ । केही सहकारीको बदमासीका कारण सम्पूर्ण सहकारी नै मुछिने गरेपछि विभाग यसलाई नियन्त्रण गर्ने अभियभानमा लागेको हो ।

सहकारीमा विकिृति र विसंगति देखिनुमा सहकारी शिक्षाको कमी मुख्यकारण रहेको सहकारी विभागका रजिस्ट्रार केदार न्यौपाने बताउँछन् । ‘सहकारीको गुणात्मक विकास गर्न शिक्षा, तालिम आवश्यक छ,’ रजिस्ट्रार न्यौपानेले भने, ‘शिक्षा तालिमविना सहकारी स्थापना हुँदा पछि दुर्घटना पर्नसक्छ ।’ बैंक तथा वित्तीय संस्थामा दक्ष जनशक्ति हुनेहुँदा सफल र सक्षम हुन्छन् र सहकारीमा अदक्ष मानिस हुनेहुँदा सहकारी शिक्षा, तालिमलाई आनिवार्य गरी समय अनुरूप परिवर्तन गर्दै लैजानु पर्ने रजिस्ट्रार न्यौपानेको भनाइ छ ।
‘संस्थाका सञ्चालक, सदस्यलाई तथा सहकारीसँग प्रत्यक्ष सरोकार राख्ने निकायलाई शिक्षा र तालिम जरुरी छ ।’ जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाले भने, ‘प्रत्येक सहकारीका सेयर सदस्यसमेतले सहकारी बुझेको हुनुपर्छ ।’ अन्यथा सहकारीमा बस्नुको औचित्य र सहकारीललाई विकास गर्न नसकिने उनको भनाइ छ । केही व्यक्तिले सहकारीको खोल ओडेर सम्पूर्ण सहकारी आन्दोलको नै बदनाम गरेको उनले बताए । ‘सहकारीलाई पारदर्शी एवं व्यवस्थिततवरले सञ्चालन गर्न शिक्षा, सूचना र तालिमको ठूलो हात हुन्छ,’ उनले भने, ‘जसका लागि अब सहकारी विषय औपचारिक रूपमा पठनपाठन हुनु पर्छ ।’ ठुल्ठूला लगानी सहकारीबाट नै हुन थालेकाले सधैँ अनौपचारिक शिक्षाले मात्र नपुग्ने उनको तर्क छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघद्वारा प्रतिपादित सिद्धान्त र मूल्यको पाँचौँ सिद्धान्त– ‘शिक्षा, तालिम र सूचनामा सहकारीले आºना सदस्य, निर्वाचित प्रतिनिधि एवं प्रबन्धक तथा कर्मचारीलाई आºनो संस्थामा प्रभावकारी रूपले योगदान दिनसक्ने तुल्याउन शिक्षा र तालिम प्रदान गर्नेछन्,’ भनिएको छ । त्यस्तै, सहकारीले सर्वसाधारण खासगरी युवा र बौद्धिक व्यक्तित्वलाई सहकारी र सहकारिताका विषय र फाइदाबारे जानकारी गराउनुपर्ने’ सिद्धान्तमा उल्लेख छ ।
देशभर दुई लाखका हाराहारीमा सञ्चालक, व्यवस्थापक र लेखासमिति रहेका छन् । संस्था व्यवस्थापन, नेतृत्व विकास, क्षमता विकास, बजार प्रवद्र्धन, रणनीतिक योजना तर्जुमाजस्ता तालिम आवश्यकपर्ने केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रले १५ दिने प्रशिक्षक प्रशिक्षण, एकमहिने सहकारी व्यवस्थापन तथा लेखापाल, १० दिने नेतृत्व विकास, सातदिने संस्थागत क्षमता विकास तालिम दिँदै आएको छ । त्यस्तै १० दिने रणनीतिक योजना तर्जुमा, १० दिने सहकारी व्यवसाय बजार प्रवद्र्धन र १५ दिने व्यवस्थापन तथा सीप विकास तालिम प्रदान गर्दै आएको छ । वार्षिक नौ सय ५० जनालाई तालिम दिने केन्द्रको क्षमता रहेको छ । तर, सीमित बजेटका कारण सीमित व्यक्तिले मात्र तालिम पाउने गरेको केन्द्रको स्वीकारोक्ति छ । विभिन्न जिल्ला संघ, केन्द्रीय संघले पनि तालिम दिँदै आएको छ । देशभर २५ हजार तीन सय ३५ सहकारी सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया