सरकारका काम सबै कानून विपरित

काठमाडौं, ३ भदौ । साना विभिन्न १७ दलले लोकतान्त्रिक तथा प्रजातन्त्रवादी शक्ति एकजुट भएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बताएका छन् ।
उनीहरुले मुलुकमा जारी संवैधानिक तथा राजनीतिक संकटको अन्त्य गरी मुलुकलाई निकास दिनका लागि चाँडो सहमति कायम गर्न ठूला दलहरुलाई दबाब दिनुपर्ने बताए । उनीहरुले कामचलाउ सरकारका गैरजिम्मेवार काम कारवाही रोक्न पनि माग गरे ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनीहरुले वर्तमान सरकार संविधानसभाको विघटनसँगै असंवैधानिक भइसकेको बताए । वर्तमान सरकारले गर्ने हरेक कार्य कानूनविपरित भएकाले त्यसले सहमतिको वातावरण सिर्जना हुन नसकेको साना दलहरुको आरोप थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकार अध्यादेशबाटै मुलुक चलाउन उद्दत रहेको आरोप लगाए । उनले एमाओवादी मधेसवादी दलहरुसँग मिलेर मुलुक बाँडिचुँडी खान लागिरहेको आरोप लगाए ।
नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारका पछिल्ला गतिविधिले मुलुकको राष्ट्रियता र स्वाधिनता दिनानुदिन कमजोर भइरहेको बताए ।

प्रतिक्रिया