लक्ष्मणद्वारा सन्न्यासको घोषणा

नयाँदिल्ली, ३ भदौ । भारतका भेट्रान क्रिकेटर भिभिएस लक्ष्मणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनी १६ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । वास्तवमा समयसमयमा निकै दबाबबीच उनले खेलेका टेस्ट इनिङहरूको भारतमा मात्र होइन विश्वभर नै सदैव चर्चा भइरहनेछ ।
३७ वर्षीय लक्ष्मणलाई भारतमा हुन लागेको न्युजिल्यान्डविरुद्ध दुई टेस्ट म्याचको शृंखलाका लागि टोलीमा समावेश गरिएको थियो तर यस घोषणापछि अब उनी भारतीय टोलीमा उपलब्ध हुनेछैनन् । करिब डेढ दशकको अन्तर्राष्ट्रिय करियरमा लक्ष्मणले १३४ टेस्ट म्याच खेल्दै १८ शतक प्रहार गरेका थिए भने ८६ एक दिवसीय म्याच खेलेर ६ शतक बनाएका थिए ।
‘आकस्मिक असरका कारण मैले सन्न्यास लिएको हुँ । मलाई लाग्छ, यो नै उपयुक्त समय पनि हो सन्न्यासका लागि ।’ घरेलु भूमि हैदराबादमा शनिबार पत्रकार सम्मेलन आयोजना गरी केही भावुक भएका लक्ष्मणले भने, ‘मैले जहिले पनि राष्ट्रिय सफलतालाई आफ्नो लक्ष्य बनाएँ । जब मैले इंगल्यान्ड र अस्ट्रेलियाजस्ता टोलीविरुद्ध उत्कृष्ट खेलेर टोलीको सफलतामा साथ दिएँ त्यसरी नै अहिले अब नयाँ खेलाडीलाई अवसर दिनुपर्छ भन्ने विचार मनमा आयो ।’ उनलै निकै तनावपछि आफूले सन्न्यास लिएको पनि बताए । ‘मैले जहिले पनि भित्री आत्माको कुरा सुनेँ । सन्न्यास लिने विषयमा पनि मैले यसै गरेँ,’ लक्ष्मणले भने, ‘पछिल्ला चार/पाँच दिन अनेक तर्कना र विवादहरू भए सन्न्यासका विषयमा । गत रातिसम्म म निकै अन्योलमा थिएँ, तर अन्तत: मैले अन्तरात्माको कुरा सुनेँ । अन्तरात्माले सन्न्यास लिन नै भन्यो ।’
पछिल्लो समय लक्ष्मणको प्रदर्शन सन्तोषजनक थिएन । उनले अस्ट्रेलिया र इंगल्यान्ड भ्रमणताका ८ टेस्ट खेल्ने क्रममा ३३७ रन मात्र जोड्न सकेका थिए । न्युजिल्यान्डविरुद्ध आसन्न शृंखलाका लागि लक्ष्मणलाई टोलीमा समावेश गरेको भन्दै भारतीय क्रिकेट कमेन्टेटर सुनिल गावस्कर र कपिलदेवले त्यस निर्णयको आलोचना गरेका थिए । हैदराबादका यी क्रिकेटरले सन १९९६ मा यसै ठाउँमा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । पहिलो टेस्ट खेल्ने क्रममा दोस्रो इनिङमा अर्धशतक प्रहार गर्दै उनले ५१ रन जोडेका थिए ।
सुरुआती दिनमा राम्रो क्रिकेटरको छवि बनाए पनि उनले सन् २००० सम्म शतक बनाउन सकेनन् । अस्ट्रेलियाविरुद्ध १६७ रन बनाएर उनले पहिलो शतकको क्षणलाई स्मरणीय बनाएका थिए । सन् २००१ मा उनले अस्ट्रेलियाविरुद्ध नै २८१ रन जोडेर जितको आधार तयार गरेका थिए । कोलकाताको इडेन गार्डेनमा खेलिएको खेलमा उनले फलोअनमा परेको भारतीय टोलीलाई उद्धार मात्र गरेनन् जित दिलाएर अप्रत्यासित् नतिजा पनि दिलाए । भारतको यस जितले अस्ट्रेलियाको १६ खेलको विजयी यात्रा टुंग्याएको थियो ।
क्रिकेटसम्बन्धी विश्वचर्चित पत्रिका विजडनले लक्ष्मणको उक्त इनिङलाई टेस्ट क्रिकेटको छैटौँ उत्कृष्ट इनिङका रूपमा सूचीबद्ध गरेको थियो । सन् २००० को दशकमा लक्ष्मण अस्ट्रेलियाविरुद्ध खरो उत्रिई नै रहे । सन् २००३–००४ को शृंखलामा लक्ष्मणले अस्ट्रेलियाविरुद्ध दुई शतक बनाएका थिए । यस दशकमा लक्ष्मणले अस्ट्रेलियाविरुद्ध ६ शतक बनाएका थिए ।
लक्ष्मणले आफ्ना ६ एकदिवसीय शतकमध्ये चारचाहिँ अस्ट्रेलियाविरुद्ध नै प्रहार गरेका थिए । यद्यपि उनी सीमित ओभरका खेलमा भारतीय टोलीका लागि कहिले पनि प्रभावकारी र उल्लेखनीय हुन सकेनन् ।
यसबीचमा लक्ष्मणले ४५.९७ को औसतमा टेस्टमा ८ हजार ७८१ रन बनाए भने एकदिवसीयमा ३०.७६ औसतमा २ हजार ३३८ रन जोडेका छन् । लक्ष्मणले अन्तिमपटक सन् २००६ मा एकदिवसीय खेल खेलेका थिए । एजेन्सी

प्रतिक्रिया