भाइबहिनी हो, तिमीहरूलाई आदिकवि भानुभक्त आचार्यका बारेमा त थाहै छ । उनी नेपालीभाषाका पहिलो कवि हुन् । त्यस्तै नेपाली भाषामा सबैभन्दा पहिला गीत रेकर्ड गराउने को होलान् ? उनी हुन्, गायक सेतुराम । उनलाई नेपालका आदिगायक भनिन्छ । काठमाडौंको असन कमलाक्षीमा १९४० साल मंसिरमा जन्मेका थिए उनी, कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोरा बनेर । उनका दाजु कृष्णदास प्रधान पनि संगीतमा धेरै झुकाउ राख्थे । उनकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुरामचाहिँ गायनकलामा मन, वचन र कर्मले नै समर्पित थिए । त्यसैले बुबा कृष्णधर प्रधानले सेतुरामलाई यस क्षेत्रमा लाग्न थप वातावरण पनि तयार पारिदिएका थिए ।
उनले १९६५ सालमा नै गीत गाए । नेपाली सांगीतिक आकाशमा गीत रेकर्डिङ गर्ने पहिलो गायक भए । सबैभन्दा पहिले उनले मोतीराम भट्टद्वारा लिखित ‘यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्’ बोलको गजल गाए । यसको धुन पनि उनैले बनाएका थिए । गजलसहित लोकशैलीका झ्याउरे गीतमा पनि उनी त्यत्तिकै समर्पित थिए । उनको गायनकलाको त्यति बेला जनस्तरका साथै राणाका दरबारमा पनि निकै प्रशंसा हुन्थ्यो । त्यही कारण उनले बबरमहलमा जागिर पनि पाएका थिए ।
उनी कोलकाता पुगेका थिए । कोलकाता पुर्याएर जनकलाल श्रेष्ठले सेतुरामको स्वरमा मात्र सातवटा रेकर्ड बनाएका थिए । ती सातवटा रेकर्डमा चौधवटा गीत भरिएका थिए । सेतुरामका गीतले हलचल पैदा गर्दा उनीप्रति राणा सरकारको कान पनि ठाडो भएको थियो । त्यसैले उनले चाँडै राणाका दरबारमा प्रवेश पाएका थिए । सेतुरामका ओजपूर्ण गीत स्वयंमा आकर्षक थिए । खासमा उनले त्यस युगमा पनि निर्धक्क गीत गाएर नेपाली सांगीतिक आकाशमा नयाँ आयाम थपेका थिए । आधुनिक झ्याउरे गीत पनि उनको रुचि थियो ।
‘ए आमा सानीमा
फूलको थुँगो खस्यो पानीमा †’
उनले गाएको गीतको बोल हो यो । उनी काठमाडौं उपत्यकामा हुने गायनका जुनसुकै कार्यक्रममा पनि पुग्थे । गीत गाएरै सारालाई मख्ख पार्न सक्थे । उनले गीत गाउने भनेपछि मान्छेको घुइँचो लाग्थ्यो । जुनसुकै उमेरका मान्छेलाई मोहित पार्ने गायनकला उनीसँग थियो ।
सेतुराम बालककालमा गोरो अनुहारका थिए । सेता भएकैले उनलाई सेतुराम भन्ने गरिएको थियो भन्ने भनाइ छ । उनको रहनसहन, लवाइखवाइ, बोलीचाली, हिँडाइडुलाइ राजषी ठाँटको भए तापनि उनी एउटा मध्यम वर्गीय परिवारका थिए । उनको पेसाचाहिँ भाँडाकुँडाको व्यापार नै थियो । सेतुरामले काठमाडौंकै असनस्थित बालकुमारीमा भाँडादोकान थापेका थिए । त्यहाँ उनी तामा, पित्तल र काँसका भाँडाकुँडा बेच्ने गर्थे । पसल हेर्दै गीत गायनमा लाग्दै गर्दा उनको पसल त्यति उच्चकोटिको हुन सकेन ।
उनले नेपाली भाषाका कुल १६ गीत रेकर्ड गराए । तीमध्ये गजल, भजन, झ्याउरे छन् । १२ वटा नेवारी गीत पनि गाएका थिए ।
त्यसबेला उनका गीतका चक्का निकै बिक्थे । यद्यपि त्यतिखेर नेपाली भाषाका गीतका चक्का पाउनै मुस्किल थियो । उनका स्वरहरू सजिएको ग्रामोफोन नेपाल भित्रिएपछि उनको ख्याति चम्केको थियो । त्यस बेला नेवारी गीतको रेकर्ड गरेकाले सेतुराम काठमाडौं उपत्यकाको नेवार समुदायमा सबैका मन परेका गायक भएका थिए । ‘राजामति कुमति’ भन्ने गीतको स्वरांकनपछि काठमाडौं सहरमा उनी धेरैका हाई–हाई भए । उनी गीत गाउँदा नाच्ने पनि गर्थे । ठट्टा गरी–गरी नाच्ने र गाउने कलामा उनले ख्याति कमाएका थिए । सेतुराम गीत गाउँदागाउँदै बिरामी भए । जिब्रोमा घाउ भएका कारण उनी १९९७ सालदेखि नै थला परेका थिए । त्यही रोगले नै उनी दिवंगत भए । (सौस)
प्रतिक्रिया