रुकुमको चौरजहारीमा खानेपानीको अभाव

रुकुम, २ भदौ । एक हप्ता अगाडि परेको बर्षाले पानीको मुहान भत्काएपछि रुकुमको चौरजहारीमा खानेपानीको अभाव भएको छ ।
एक हजार घरधुरीका लागि सञ्चालित चौरजहारी खानेपानी आयोजनाबाट वितरित पानी बन्द भएपछि पिउने पानीको अभाव सृजना भएको हो ।
अहिले चौरजहारीका स्थानीय बासिन्दा बर्षा र भेरी नदीको दुषित पानी पिउन बाध्य भएका छन् । भेरी नदी पुग्न पनि डेढ घण्टा लाग्ने स्थानीय शिक्षक गोपाल शर्माले बताए ।
दैनिक एक/दुई घण्टा संकलन गरेको आकासे पानीले नपुग्ने भएकाले धमिलो पानी खान बाध्य भएको शर्माले बताए ।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य, चौरजहारी अस्पतालका कर्मचारी, नेपाली सेना तथा प्रहरीहरु पहिरो हटाउन लागि परेपनि पहिरो जाने क्रम नरोकिएकाले समस्या भएको छ ।
खानेपानीको ट्याङकी र चार सय मिटर लामो पाईपमा क्षति पुराएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर गिरीले जानकारी दिए ।
पानीको अभाव हुँदा चौरजहारी अस्पतालको सेवा समेत प्रभावित भएको छ । इलाका प्रहरी कार्यालयमा समेत पानीको अभाव भएको छ ।
शान्ति मन्त्रालयको सहयोगमा निर्माण भैरहेको खानेपानी आयोजना जिल्लाको सबैभन्दा ठूलो खानेपानी आयोजना हो ।
२०६६ सालदेखि सुरु भएको आयोजनामा अहिलेसम्म २ करोड रुपियाँ खर्च भैसकेको छ । यस बर्ष मात्रै करिब ११ लाख खर्च भैसकेको जिविसले जनाएको छ ।
खानेपानी आयोजना पूर्ण रुपमा सम्पन्न नभएपनि अस्थायी रुपमा चौरजहारीका करिब एक हजार घरधुरीमा खानेपानीको सुबिधा पुगेको छ ।

प्रतिक्रिया