ककाप, भवानी दाइ र हीरा आकाश

भोक कविता आन्दोलनको दौरानमा थियौँ । झापाका अधिकांश साहित्यिक तथा साप्ताहिक पत्रिकाहरूले ‘भोक कविता’ स्तम्भ बनाएर हरेक अंकमा एउटा कविता छापिदिन्थे । झापाली साहित्यिक शान्त वातावरणमा एकाएक देखापरेको यो कविता आन्दोलनले झापाली बुद्धिजीवी तथा प्रशासकहरू बीच निकै चर्चा पाउन थालेको थियो । भवानी घिमिरेको संयोजकत्वमा सुरु भएको यस अभियानमा तात्कालीन झापाली नौ युवाको सशक्त संलग्नता थियो । हीरा आकाश, अमृतलाल श्रेष्ठ, केशव आचार्य, कृष्ण धरावासी, लक्ष्मण ढकाल, दुर्गा दाहाल, प्रकाश बुढाथोकी, डिकमान विरही, देवेन्द्र किशोर ढुंगाना । यता काठमाडौंमा त्यसै साल घोषित आन्दोलनका रूपमा सुरु भएको थियो ‘तरलवाद’ । यसमा फणीन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठ ‘फविती’ थिए । यो ०४० सालको कुरा हो । तरलवादीहरूले कवितामा क्लिष्टताको विरुद्ध अभियान थालेका थिए र भोक कविहरूले अभाव, गरिबी र बेरोजगारीका विरुद्ध आन्दोलन थालेका थिए ।
तरलवादमा संलग्न तीनैजना कविहरू प्रजातन्त्रवादी थिए । भोक कविताका नौजनामा ‘ककाप’ संलग्न थिए । ‘ककाप’ अर्थात कम्युनिस्ट कांग्रेस र पञ्च । यो ककापको सिद्धान्तकार थिए भवानी घिमिरे । राजनीतिक दृष्टिकोण, विचार र आस्था आ–आफ्नो ठाउँमा उपयुक्त बेलामा प्रयोग गरिनुपर्छ तर जब साहित्यको कुरा उठ्छ त्यहाँ वाद र पार्टीलाई बिर्सनुपर्छ भन्थे । भवानी घिमिरेको यो ककाप सिद्धान्तले पूर्वाञ्चलको साहित्यिक गतिविधिमा ठूलो भूमिका खेलेको थियो । यही सिद्धान्तअन्तर्गत वरिष्ठ पञ्चका रूपमा परिचित गणेशबहादुर प्रसार्इं, वरिष्ठ कांग्रेसका रूपमा चिनिएका वैरागी काइँला तथा विशिष्ठ वामपन्थीका रूपमा स्विकारिएका स्वयं भवानी घिमिरे एउटै साहित्यिक मञ्चमा थिए । त्यही मञ्चमा थपिएका थिए खनुपरुदे रामबाबु प्रसार्इं र दान खालिङ पनि । छुट्टै राजनीतिक विचारअनुसार साहित्यलाई हाँक्नुपर्छ भन्ने प्रगतिवादीहरूको अर्काे संगठन पनि स्वतन्त्र रूपमा क्रियाशील थियो । तर, मैदानमा देखिने संगठनका रूपमा थियौँ हामी अर्थात् अघोषित ककापहरू ।
भवानी घिमिरे, वैरागी काइँला र गणेशबहादुर प्रसाईंका बीच कहिल्लै कुनै प्रकारको राजनीतिक बहस र विवाद भएको हामीले थाहा पाएनौँ । हामी सबै विचारका युवाहरू भवानी दाइको नेतृत्वमा सशक्त रूपमा उत्रिएका थियौँ । त्यसबेला वैरागी दाइ र गणेशबहादुर सरले हामीलाई यो आन्दोलन ठीक छैन भनेर कहिल्यै भन्नुभएन । हीरा आकाश, देवेन्द्रकिशोर ढुंगाना र प्रकाश बुढाथोकीबाहेक अरू हामी कुनै न कुनै रूपमा सरकारसँग जोडिएको संस्थाका जागिरे थियौँ । जब प्रशासनलाई यो शंका पस्न थालेछ कि यो आन्दोलन भनेको वामपन्थीहरूको हो भनेर, अनि हाम्रापछि गुप्तचरहरू लाग्न थालेका थिए । तैपनि हामीमा कुनै डर उम्रेन किनकि हामी कुनै विशिष्ट शक्तिबाट सञ्चालित थिएनाँै । हामीलाई थाहा थियो त्यसबेला भवानी घिमिरे रुसी खेमाको कम्युनिस्ट हुनुहुन्थ्यो र उहाँले बर्मा समूहको नेतृत्व गर्नुहुन्थ्यो तर साहित्यका सन्दर्भमा उहाँले कहिल्यै पनि हामीसँग यो पार्टी संलग्नताका बारेमा कुरा गर्नुभएन । भवानी घिमिरेसँग जोडिएको हुनाले प्रशासनले निकै भित्रसम्म पस्न खोजेछ तर ‘भित्र’ नै नभएकामा पस्न पनि कसरी सक्नु, पस्ने दुलो त हुनुपर्‍यो नि । पछि थाहा भो हामीमध्येका एकजना साथीले दोहोरो भूमिका खेलिरहेका रहेछन् र बिस्तारै उनी यो आन्दोलनबाट बाहिरिए ।
भवानी घिमिरेको साहित्यमा यो ककाप सिद्धान्तले झापालाई धेरै नै प्रभावित गरेको छ । आज पनि वैचारिक मतभेदहरू हुँदा हुँदै पनि थुपै्र त्यस्ता साहित्यिक संस्थाहरू छन् जसमा सबै विचारका लेखकहरू अत्यन्त सौहाद्रपूर्ण रूपले संलग्न छन् । नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समिति, सासंक प्रतिष्ठान, जीवनस्मृति प्रतिष्ठान, लेखनाथ पुस्तकालय, साहित्य चौतारी, भेटघाट चौतारी, कन्काई साहित्यक प्रतिष्ठान, नवरंग प्रतिष्ठान आदि । यी सबै संस्थामा ‘ककाप’ शैलीकै संलग्नता आज पनि पाइन्छ ।
साहित्यमा भवानी घिमिरेको मेलमिलापवादी नीतिकै परिणाम हो आजसम्म पनि हामी झापाली लेखकहरूमा त्यति ठूला–ठूला भेदभाव र झगडा छैनन् । यो कुराले साहित्यमा मात्र नभई सञ्चारका क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्‍यो, किनकि साहित्यकै क्षेत्रका मान्छे सञ्चार जगत्तिर पनि प्रवेश गरेका थिए । झापाली पत्रकारितामा सबैभन्दा धेरै पत्रकार जन्माउने पत्रिकामा विवेचना, साप्ताहिक विचार, र पूर्वाञ्चल दैनिक मानिन्छन् । यी पत्रिकाका आ–आफ्नै धारहरू थिए तर यिनकामा काम गर्दै उत्तीर्ण भएका पत्रकारहरू भने आ–आफ्नै स्वतन्त्र आस्थाले उठेका थिए । कहिल्यै पनि नकुल काजी, तारा बराल, गोविन्दचन्द्र क्षेत्री र मदन ढकालहरूले आफूसँग काम गर्ने युवालाई आफ्नो प्रभावमा पार्न चाहेनन् न ‘आफ्नो आस्था मिल्नेलाई मात्र काम दिन्छु’ भने । आजका झापाली पत्रकारितामा सशक्त प्रतिभाका रूपमा उभिएका युवा कलमहरू त्यही मेलमिलापशैलीको उपलब्धि थियो । वैचारिक रूपमा आपसी विवाद देखिए तापनि पत्रकार महासंघमा सधैँ सन्तुलन मिलाउने पहल गरिएकै हुन्छ ।
भवानी घिमिरेपछि हाम्रै पुस्ताको भए पनि उमेरले जेठोसमेत भएकाले हामी सबैका नेता थिए हीरा आकाश । ०१० सालमा झापाको शिवगञ्जमा जन्मेका उनी फुटबल खेलाडीका रूपमा स्थापित थिए । तर, मैले उनलाई ०३८ सालमा पहिलोपल्ट कविकै रूपमा भेटेको थिएँ । हीरालाई नेता मानेर हामी समकालीन साहित्यिकहरूले लामो साहित्यिक यात्रा गर्‍यौँ । ०४४ सालमा उनकै संयोजकत्वमा स्थापित मन्थन झापाले हामीभन्दा पछिल्लो पुस्ताका भीष्म उप्रेती, टंक उप्रेती, मिश्र वैजयन्ती, जयन्ता पोखरेल, भवानी क्षेत्री, रश्मीशेखर, पुण्य बराल, अर्जुन बराल, मुकुल दाहाल, ज्योति जंगल, विश्वप्रकाश शर्मा, राजेन्द्र लिङदेन, आदिहरूलाई स्थापित र चर्चित बनायो । पञ्चायती निरंकुशताका बेला प्रतिबन्धित राजनीति गर्ने नेताहरूका लागि कुनै त्यस्तो उपयुक्त मञ्च थिएन, जहाँ गएर उनीहरू केही भनुन् । त्यस्ता बेला कांग्रेसका रामबाबु प्रसाईं, चक्र बाँस्तोला, कृष्णप्रसाद सिटौला, मालेमाका नन्द्रकुमार प्रसार्इंजस्ता नेता तथा लीला उदासी, नरेशकुमार बर्माजस्ता वकिलहरू, तात्कालीन युवा पञ्चदेवी बर्मा, रवीन्द्र चक्रवर्ती, प्रजापति कोइरालाजस्ता व्यक्तिसमेत त्यहाँ हुन्थे । विपरीत धुरीका विद्यार्थी नेताहरू विश्वप्रकाश शर्मा र राजेन्द्र लिङदेन पनि सँगै हुन्थे । तर, मन्थन झापाका परिसरभित्र पसेपछि दलगत राजनीतिक विवादहरू हुँदैनथ्यो ।
आज पनि ती दिन सम्झिँदा रमाइलो लाग्छ । आज भवानी दाइ र हीरा आकाश दुवै छैनन् । तर, उनीहरूको संस्थागत धरातल सुषुप्त रूपमा आज पनि झापामा कायम छ । अहिलेको पुस्ताले पनि त्यो परम्परालाई धानी आएकै छ । माओवादीको दस वर्षे जनयुद्धका बेलासमेत जंगलबाट लडाकु भाइबहिनीहरूले फोन गरेर भेटघाट चौतारीको खबर सोध्थे र साथीहरूलाई सम्झिन्थेँ ।

प्रतिक्रिया