चरा बोल्छ

मधुमेहको पुरानो रोगी म । हिँड्दाहिँड्दै मथिंगल एक्कासि फनन्न घुम्यो । काटिएको रूखझैं बीच बाटोमा गर्लाम्म लड्न पुगेँ । महानगरको सडक वा पेटीमा मर्ने मान्छे कति हुन्छन् कति । नजिक जाने फुर्सद
कसलाई ? मान्छे, बस, कार, ट्याक्सी, सडकमा हुर्रिंदै छन् । एकछिनपछि होस खुलेपछि घिसिँरदै घिसिँरदै सडक पेटीसम्म पुग्न सफल भएँ । टाउको समातेर धेरैबेरसम्म त्यहीँ बसिरहेँ । देब्रे कन्सिरी र ओठबाट रगत बग्दै थियो । रुमाल झिकी पुछेँ ।
डेरामा फर्किएको छु । श्रीमतीको अनुहारभरि पोतिएको वेदनाको पहेँलो रङले मलाई भित्रैबाट कमाइदिएको छ ।
छेउमा आउनासाथ बोझिलो मुन्टो उठाई ‘गाउँबाट फोन आएको थियो । आमा सिकिस्त हुनुभयो अरे ।’
लगभग चार–पाँच घन्टासम्म हाम्रो बोलचाल भएन । खाना खाएपछि ओछ्यानमा श्रीमतीले सोधी, ‘अनि के गर्ने ?’
‘खोइ, जाने हो भने पनि पैसा छैन । तर आमा…।’
‘काठमाडौंमा उधारो–पैँचो पनि कसले दिन्छ ? यो कुरा हजुरका धनसेठ दाजुभाइले बुझे पो ।,’
‘अनि, तिमीले फोनमा के भन्यौ ?’
‘शम्भुबाबुको फोन थियो । झुठो बोलँ । भन्दिएँ, दाजु इलाम जानुभएको छ ।’
‘ठीक गर्‍यौ । तर यसपालि आमा साँच्चै मर्नुभयो भने ?’
श्रीमती एकछिन घोत्ली । भनी, ‘हो, त्यो त । आगो त पशुपति दाइले दिनुहुन्छ, तर श्राद्ध खर्च त हजुरले नै बेहोर्नुपर्छ । शम्भुबाबु कान्छो पर्नुभो । श्राद्धको खर्चमा पर्नुभन्दा त अहिलै ओखती पानीमा खर्च गर्नु बेस ।’
‘तर पैसा खोइ त ?’
श्रीमती केहीबेर चुप रही । अनि भनी, ‘म त भन्छु, बुढियाको ज्यान यति सजिलो उडेर जाने कुनै किरो फट्यांग्रामा त छैन क्यार ।’
मेरो चेतनाको तारतारमा आमाको स्मृति झनझनाउँदै थियो । खरले छाएको आफ्नो पुरानो घर सम्भेँm । जम्माजम्मी तीनोटा कोठा थिए । उत्तरपट्टिको कोठामा पशुपति दाइ र उनको परिवार । दक्षिणतर्फकामा शम्भु भाइ र बीचको कोठामा हामी । कोठामा ताल्चा मारेर आएकी थिई मेरी श्रीमती । हामी जाँदा मात्रै त्यो खुल्थ्यो । आमाको ठाउँ कि आँगन हुन्थ्यो कि त बार्दली । आँगनमा हालिएको एउटा गुन्द्रीमा आमालाई राखिएको दृश्य म झल्झली सम्झन्छु । हर्नियाले गर्दा सधैँ पेट दुख्ने हुँदा सुत्दा घुँडामा मुख जोर्नुहुन्थ्यो । कसैले थाङ्नोले छोपेपछि उहाँको जर्जर शरीर एउटा सानो गुन्टोभैँm देखिन्थ्यो ।
पेटको तल्लो तह फटाएर आन्द्रा बाहिर निस्केको थियो अरे, डाक्टरले भनेको । कहिलेकाहीँ छटपट गरेर उठबस गरिरहनुहुने आमा रात–रातभरि सुत्नु हुन्नथ्यो । लुगामै मलमूत्र गर्ने हुँदा सबैका वाक्वाणको प्रहार खानुहुन्थ्यो निरन्तर । भात पस्केर थाल अगाडि हुत्याइदिएर आँचल उठाई भगवान्सित उनको मृत्युको याचना गर्न थाल्थिन् । उही निस्तो भात आँसुमा मुछ्नुहुन्थ्यो । घन्टाँै गाँस हाल्नुहुन्न्थ्यो । अनि फेरि हप्कीखप्की खप्नुपथ्र्यो । दुई–दुई बुहारी, ६–६ नातिनातिना भएर पनि तिर्खा लागेको बेला एक अम्खोरा पानी दिने कोही थिएन । कराउनुहुन्थ्यो — ए पशुपति † ए शम्भु † ए जेठी । ओ गौरव † ‘ओ सौरव ।’ अनि घरभरिका मान्छे कुकुरलाई धपाएभैँm हर्कान थाल्थे– एकछिन आरामले बस्नु पनि सपना भयो । हे भगवान् † पिण्ड खान ठिक्क परेकी बुढियालाई कति भोक र तिर्खा लाग्छ कुन्नि † मर्ने बेला भैसक्यो तर स्वर कत्ति ठूलो छ ?’
फेरि सबैको रिसको तारो हुन्थ्याँै हामी । जेठी बुहारी भन्थिन, ‘अहिल्यै आउलान् नि प्यारा माइला छोरा, बुहारी, गोकर्ण र सविता । भाषण छाटेर मात्र हुन्छ ?’
कान्छी भन्थिन्, ‘हाम्रा लागि त ससुरा पनि बेइमानै भए । माइली दिदीको विवाहमा पाँच–पाँच तोला त सुनै गएको थियो अरे †’
तिनका संवाद सुनेर आमा कन्न थाल्नुहुन्थ्यो ।
आमालाई सम्झँदै छु । छेउमा सुतेकी श्रीमती कोल्टे फेर्छे । आँखामा निद्रा छैन ।
कानमा ट्याक—ट्याक—ट्याक आवाज निरन्तर आउँदो छ । म चिन्दछु । त्यै सिलाइ मेसिनले अरूका लुगाफाटा सिएर बडो दु:खले आमाले हामी दाजुभाइ र दिदीबहिनीलाई हुर्काउनु भो ।
बुबा हुलाकमा पियन हुनुहुन्थ्यो । तलब पाएको दिन फलफूल किनेर ल्याइदिनुहुन्थ्यो । आफू केही खानु हुन्नथ्यो । हाम्रै लागि निकै दु:ख सहनुभो । मेरो आत्मालाई थाहा छ तर यिनलाई के थाहा ? उहाँहरूले हाम्रा लागि सहनुभएका दु:खका गाथा मुटुभित्र छन्, यी अर्काका छोरीलाई के थाहा ? आमा त्यतिखेर पनि रुनुहुन्थ्यो जतिखेर हामी भात खाँदैनथ्यो । आमा यतिखेर पनि रुनुहुन्छ, जतिखेर हामी उहाँलाई भात खान दिन सकिरहेका छैनौँ ।
‘आमा, यो सिलाइ मेसिनको ट्याक—ट्याक—ट्याक ट्याक आवाजले मेरो मुटुभित्र सियो रोप्छ । यो कहिले रोकिन्छ आमा ?’ मैले आमालाई सोधेको थिएँ । ‘जुन दिन तिमीहरूले कमाएर मलाई खान दिन्छौ,’ आमाले हाँसेर जवाफ दिनुभएको थियो ।
‘सुर्ता लिएर हुने भए त हुन्थ्यो । सुत्नोस् न ।’
बोल्दिनँ । उत्तानो परेकै अवस्थामा पत्नीतिर हेर्छु । उसले पनि सुतेको स्वाङ मात्रै पारिछ क्यार । परेला हल्लिँदै छन् ।
भोलिपल्ट चिया पिउने बेला मौनता भंग गर्दै भनँे’ ‘राति अनिँदो भइछौ । आँखा राता छन् । खाएर सुतिहाल ।’
सविता हाँसी । ‘किन र ? हजुर सुत्नुभयो ?’
बोलिनँ । यसपालि सविताले मौनताको बादल उघारी, ‘मेरो विचारमा गाउँ नगई धरै छैन । त्यसो त मलाई हजुरको गाउँलाई थुक्न पनि घीन लाग्छ ।’
पुराना घाउ कोट्याउन थाली, ‘हजुरसित आएर कुन–कुन दु:ख मैले त्यो घरमा बेहोर्नुपर्‍यो, मेरै आत्माभित्र सुरक्षित छ । सुमित्रा नन्दको बाला चोर्‍यो कल्लेकल्ले, अत्तो मलाई । घरभरिका मान्छेले बाकस पेटी उधिने, हजुर मेरो पक्षमा एकवचन बोलिस्सिएन । सुमित्रा नन्दले दूध पोखिदिई, सासुले हिर्काइन् मेरो गालामा । बुआको गोजीबाट हजार रुपियाँ हराउँदा पनि आमाले मलाई नै चुल्ठो समातेर घिसारेकी थिइन । त्यो घरमा कुन–कुन आरोप लागेन ? चोर्नी, पातर्नी, फटाही, छुल्याही..। आमाबाबुले कसरी पुल्पुलाएर पालेका थिए । हजुरसँग आएर…’ हुँक्कहुँक्क र सँुक्कसुँक्क गरेर रुन पो थाली ।
मरेकी हाम्रो सन्तानको नाउँ लिएर विलाप गर्न थाली, ‘अघाउँजी खान दिइएन । माइतबाट ल्याएको लुगाबाहेक एक सरो लुगा दिइएन । कान्छी छोरीलाई बोकेको बेला दूध, घिउ त परै जाओस्, बेलामा खान पाइएन । जिउ सुन्नियो । सुत्केरी हुँदा घरमा एक्लै कन्दै कराएँ । परालको थुप्रोमा जन्मिई, र चल्मलाउँदा–चल्मलाँउदै गई ।’
म भन्न चाहन्थेँ, ‘त्यतिखेर मेरा बाबुआमाको हैसियत के नै पो थियो र ?’ तर श्रीमतीको डरले
चुप लागेँ ।
एकछिनपछि मेरा बाआमालाई सराप्दै भन्न थाली, ‘बूढा त कहर काट्दै नर्क गए, बूढी पनि कोरका पीप पुछ्तै, किरा टिप्दै त्यहीँ पुग्छे ।’
अर्को रात फेरि हामी सुतेनौँ । सविताले घरपपट्टीकी श्रीमतीसित मागेर सात सय रुपियाँ ल्याइन् । यसरी रातरातभरि जाग्राम बस्नुभन्दा बरु घरै जाने निर्णय लियौँ ।
०००
काठमाडौंबाट जनकपुर आउने बस ‘हरहर महादेव’ समातेर हामी जनकपुर पुग्नुभन्दा अगाडि नै महेन्द्रनगर चोकमा ओर्लिन्छौँ । छोरो लक्षु र हामी दुई रिक्सा कुरेर त्यहीँ उभिन्छौँ । मनमा धेरै छटपटी छ । बाआमाले हाम्रा लागि गरेका त्याग तपस्याहरू एकएक गरी दिमागमा घुमिरहन्छन् । मयलले कटकटिएका थोत्रा लुगाहरूको वात्सल्यपूर्ण गन्ध नाकभित्र छिर्छ । बीच आँगनमा गुन्द्रीमा एक्लै फतफताउँदैको दृश्य आँखामा नाच्छ । सके अहिले गाउँको अशिक्षित डाक्टर लम्बोदरलाई हेर्न बोलाइएको होला । टोलभरिका स्वास्नी मानिस, बूढाबूढी, बच्चाहरूले चारैतिरबाट हेरेका होलान् । पशुपति दाइ र शम्भु भाइका श्रीमतीहरू देवीदेवतालाई भाकल गर्दा हुन्, ‘बुढिया चाँडै मरोस् ।’ नातिनातिनाहरूलाई चाहिँ अलिअलि माया लाग्दो हो ।
रिक्सा आउँछ । कुम्लो कुटुरो लादेर त्यसैमा बस्छौँ । इच्छापुर पुग्दापुग्दै सूर्यास्त हुन लागेको छ । यतातिर धानकटाइ सकिएको छ । खेतखेतमा झुलेका तोरीका फूल कमलपित्तका रोगीभैँm देखिन्छन् । गाउँमा अहिलेसम्म बिजुली आएको छैन । झुपडीजस्ता ससाना घरमा लाल्टिनको प्रकाश मृत्युशय्यामा पल्टिएकी बूढी आमाका आँखाका ज्योतिभैँm देखिन्छन् । गाईभँैसीको बथान लिएर चरुवाहरू फर्किंदै छन् । तिनका घाँटीमा झुण्डिएका घन्टीहरू टङटङ…टङटङ बज्दा मृत्युको घन्टा तारन्तार बजाएको प्रतीत हुन्छ । स्यालले बाटो काट्छ । म झस्किन्छु ।
गाउँमा पुग्नुभन्दा पहिले काइँला बाबुको आँपघारी छ । पहिले पहिले गाउँ आउँदा निकै मान्छेको ओहोरदोहोर भएको देख्थँे । सुनसान छ । डरलाग्दो निर्जनता छ ।
पोहोर दसैँमा नै आमाले मान्छेलाई चिन्न पनि छोड्नुभएको थियो । मैलाई चिन्नु भएन । ढोग्दा कराउन थाल्नुभयो, ‘ए हेर हेर कुन लोग्नेमान्छेले मलाई छोयो । स्वास्नीमानिसलाई यसरी छुन मिल्छ ? यो गुन्डो हो, बुबालाई बोला त ।’
पशुपति दाइकी जेठी छोरी जुलीले बुझाउन खोजी, ‘हजुरआमा उहाँ काका हुनुहुन्छ, हजुरको छोरो †’ मायालाग्दो नजरले टुलुटुलु हेर्नुभो । चिन्ने प्रयास गर्दै हुनुहुन्थ्यो सायद । आमाको यो दशा देखेर भित्रैसम्म कसैले तीर हानेको थियो । आमालाई भोजनमा रुचि थिएन । बडो कर गरी दुई गाँस खान लगाएको थिएँ । राति छिनछिनमा भन्नुहुन्थ्यो, ‘पिसाब आयो † आयो है, आयो ।’
कोही समात्न आउँदैनथ्यो । समातेर बाहिर पुर्‍याउँदा पिसावै नगरी भन्नुहुन्थ्यो, ‘ए मलाई मार्‍यो, मार्‍यो । भित्र लैजा ।’ आमाको यसै अवस्थाले गर्दा कुनै छोरा, बुहारी वा नातिनातिना नजिक पर्दैनथे । कान्छो शम्भु भन्थ्यो– ‘म मात्रै छोरो होइन नि †’ जेठो पशुपति भन्थ्यो– ‘मैले मात्रै ठेक्का लिएको छु र ?’ बुहारीहरू व्यंग्य गर्थे– ‘माइला बडो श्रवणकुमार हुन् नि त, लैजाऊन् हवाइजहाजमा काठमाडौं राजधानी †’
पशुपति दाइ र शम्भु भाइका बीचमा आमा र बुबाको पेन्सन झगडाको जड थियो । एक गतेको दिन आमालाई बैंकमा आफूसितै लैजान दाजुभाइमा तँछाडमछाड भैरहन्थ्यो । जसले जति सक्यो पेन्सनको रकम खोस्थ्यो । फेरि दुवैले निर्णय गरे, आमालाई सँगै बैंक लिएर जाने र आधी आधी रकम बाँड्ने । पालो पालो गरी आमालाई सुताउने निर्णय पनि गरे । तर, आमाले जहीँतहीँ मलमूत्र विर्सजन गरिदिने भएकाले गरेनन् ।
आमा पूर्ववत् आँगनको एक टुक्रा गुन्द्रीमा गुटुमुटु हुनुहुन्थ्यो । पानी बर्सिंदा कोही आउँथ्यो र बार्दलीमा हाल्थ्यो । जति बाछिटाले चुटे पनि हेर्न निस्किँदैनथे । आमालाई हनहनी ज्वरो आयो । ओखतीमुलोको खर्चका लागि कैयौँ दिनसम्म घरमा महाभारत मच्चियो ।
पोखरी र मन्दिर छिचोलेर रिक्सा हाम्रो घरको सिमानाभित्र छिर्न लागेको हुन्छ, छिमेकी वैद्यनाथ काका कुद्दै आउनुहुन्छ र मलाई धिक्कार्नुहुन्छ, ‘फर्केर जाऊ । अब मरिसकेकी आमालाई हेरेर के हुन्छ ?’ पृथ्वी फनफनी घुम्न थाल्छ । म कुद्दै आँगनमा पुग्छु । सविता र लक्षु पनि पछिपछि कुद्छन् ।
बीच अाँगनमा मैले कल्पना गरेजस्तै त्यही सानो गुन्द्रीमा आमा पल्टिनुभएको छ । बुहारी र नातिनातिनाहरू कंकलाशब्द बिलौना गर्दै छन् । लक्षु जान्छ र हजुरआमाको नाक, मुख, कपाल, निधार छाम्न थाल्छ ।
पशुपति दाइ र शम्भुबीच भनाभन हुँदै छ । विषय छ– आमाको नाकमा भएको सुनको बुलाकी, कात्रोको खर्च । गाउँभरिका मान्छे थूथू गर्दै छन् । गोजी छामेँ, जम्मा तीन सय छब्बीस निस्क्यो । सविताले टोलमा कसैसित मागेर हजार जति उधारो ल्याइन् । आमाको दाह संस्कार गरियो । मुखाग्नि पशुपति दाइले नै दिए । आमाको मुखमा आगो झोस्ता मेरो आत्माबाट चीत्कार उठिरहेको थियो । मलाई थाहा थियो, भोलिदेखि नै आमाको नाउँमा रहेको जग्गाजमिनको अंशबन्डाका कुरा उठ्नेछ ।
चिताबाट आगोको लप्को उड्यो । धुवाँका मुस्ला उड्न थाले । बादलमा एउटा चरा कुन्नि कताबाट आएर कावा खान थालेको थियो । चराले अनौठो आवाज निकाल्थ्यो, ‘ट्वीट्..ट्वीट्…ट्वीट् ।’
एकजना मलामीले भन्यो, ‘हेर, आजसम्म बन्दी भएर बसेको बुढियाको आत्मा उन्मुक्त आकाशमा कसरी कावा खाँदै छ ?’
चरो फेरि बोल्यो, ‘ट्वीट्..ट्वीट्…ट्वीट् ।’ मैले सुनेँ धिक…† धिक् ††….धिक् †††…’
मेरो शिर ग्लानिले निहुरिन्छ । चितातिर हेर्ने हिम्मत छैन ममा ।
(हालै सार्वजिनक डा. विमलको कथासंग्रह ‘समयका आँखा’बाट । संग्रह सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।)

प्रतिक्रिया