एक निर्विकल्प यात्रा

किताबको यात्रा भनेको जीवनको यात्रा हो । किताबको यात्रा भनेको सिर्जनाको यात्रा हो । भर्खरै मैले डा. गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’, अमर न्यौपानेको ‘सेतो धरती’, हारुकी मुराकामीको ‘काका अन द सोर’ र अरहान पामुकको ‘माई नेम इज रेड’ अध्ययन गरेँ र अध्ययनकै क्रममा सोच्न थालेँ– उपन्यास भनेको के हो ? मेरो पछिल्लो उपन्यास ‘चुली’ प्रकाशित भएको एक दशकपछि अहिले लाग्न थालेको छ– अब मैले मेरो समयका उपन्यास लेख्न थाल्नुपर्छ । तर, सोचेजस्तो उपन्यास लेखनको कार्य मलाई कहिल्यै पनि सजिलो लागेन र अहिले पनि लागेको छैन । यसबीच सिर्जनापथमा मेरा अन्य केही जिम्मेवारी पनि छन् जसले मलाई अन्य महान् किताबहरूको अन्तर्यात्रा गर्न प्रेरित गर्छन् । आफ्ना विज्ञान कथाहरूलाई प्रकाशित र पुन:प्रकाशित गर्ने क्रममा म कथाहरूमा प्रयुक्त प्राविधिक पक्ष जाँच गर्दै पनि छु । यस क्रममा म विज्ञानका केही किताब, विशेष गरी स्टेफेन हाकिङको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’, जेम्स ए. कोलम्यानको ‘रिलेटिभिटी फर द लेम्यान’, चाल्र्स डार्विनको ‘द ओरिजिन अफ स्पेसिस्’ र पाउल एन्ड लेसले मर्दिनको ‘सुपरनोभा’ का अत्यावश्यक पानाहरू पनि पल्टाइरहेकै छु । बेलाबेला म सामुयल मुनद्वारा सम्पादित ‘इलेभेन सर्थ प्लेग अफ मोर्डन थियटर’, लेविस फङ्क र जोन ए बुथद्वारा सम्पादित ‘एक्टर्स टक एवाउट एक्टिङ ‘पाउलो कोयलोको ‘लाइक द फ्लोइङ रिभर’, करेन आर्मट्रोङको ‘अ हिस्ट्री अफ गड’, फिलिप केनको ‘जाइन्ड अफ साइन्स’ र सात्र्रको ‘ह्वाट इज लिटरेजचर ?’ मा आफ्ना ज्ञात अज्ञात प्रश्नका उत्तरहरू खोजिरहन्छु । किताबको यात्रा भनेको यक्ष प्रश्नहरूको यात्रा हो जुन कति उत्तरित हुन्छन्, कति अनुत्तरित हुन्छन् ।
म धवल, अन्नपूर्ण र माछापुच्छ्रेको काखमा जन्मेको मान्छे– प्रकृतिको विराटता र महानतामा आफ्नो अस्तित्वबोध गर्ने प्रयास गर्छु । मेरो अस्तित्वबोध भनेको मेरो अहम्बोध हो । कतै भूपी महान्ले कविताको रचना प्रक्रियालाई हिमालको हिमखण्ड पग्लिएर जन्मिने स्वच्छ पावन नदीसित गरेका थिए । मलाई लाग्छ, किताबको यात्रा भनेको हिमालको हिमखण्ड पग्लिएर जन्मने नदीको यात्राजस्तै हो । नदीको गन्तव्य समुद्र हो । समुद्रमा पुगेपछि नदीको जीवन यात्रा समाप्त हुँदैन । त्यो समुद्रमा विस्तारित हुन्छ । किताबयात्रीहरूको गन्तव्य पनि ज्ञानको समुद्र हो । ज्ञानका समुद्रमा पुगेपछि किताबयात्रीहरूको जीवायात्रा समाप्त हुँदैन । ऊ झन् महान् सागर याने महासागरको यात्री बन्छ ।
म केही महिनादेखि होइन, केही वर्षदेखि जापानी उपन्यासकार केन्जाबुरो ओएको ‘द साइलेन्ट क्राई’ खोजिरहेछु तर किताब दोकानहरूमा भेटेको छैन । मेरा अग्रज साहित्यकार दाजु जगदीश घिमिरेको प्रकाशोन्मुख उपन्यासको पनि म व्यग्र प्रतीक्षामा छु । हिजै राति मैले ‘भारत सन्दर्श’ मा रवीन्द्रनाथ टैगोरलाई अनुभूत गर्ने चेष्टा गरेँ । म प्राय: यात्रामा जाँदा रवीन्द्रनाथ आपैँmले अंग्रेजीमा अनुवाद गरेको र अंग्रेज कवि डब्लुबी यिट्सद्वारा भूमिका लेखिएको फुच्चे गीताञ्जलीको किताबलाई झोलामा हाल्ने गर्छु । जीवन र जगत्लाई अहम्बोध गर्ने प्रयासमा म साहित्यका किताबहरू मात्र होइन, पूर्वीय र पश्चिमी दर्शनका किताबहरू पनि स्पर्श गर्छु । यहाँ क्षमाप्रार्थना गर्दै भन्नुपर्छ, मैले महापण्डित राहुल सांकृत्यायनको ‘दर्शन दिग्दर्शन’ भन्दा बाहिर अन्त कतै इस्लामिक दर्शन अध्ययन गर्न सकेको छैन ।
ज्ञानको समुद्रमा पुग्नुभन्दा कहिलेकाहीँ जीवन खहरे बनेको बोध हुन्छ तर बोध सीमाहीन छ । त्यसैले म किताबहरूको अहम्बोधी यात्रामा निस्किरहन्छु ।
सम्झना हुन्छ, अर्धशताब्दी पहिलेको पोखरा । सानो गाउँजस्तो, म जन्मेको टोल बगरमा केही पुराना घरहरू थिए । केही घरहरूमा केही पसल थिए । हाम्रो घरभन्दा छ घर परको एउटा घरमा प्रत्येक वर्षको हिउँदमा स्वास्थानी वाचन गरिन्थ्यो । स्वस्थानी वाचन गर्ने दाइलाई हामी ‘लाटा दाइ’ भन्थ्यौँ । उनी बोल्दा ढिलोढिलो, लाटोलाटो पाराले बोल्थे । स्वस्थानी वाचन गर्ने बेला मोटामोटा कालाकाला अक्षरमा अलमलिएर उनी झन् ढिलो हुन्थे तर आफ्नो मौलिकताका लाटो शैलीमा उनी स्वस्थानी वाचन गरेरै छोड्थे । उनको ढिलाइमा मलाई, मसँगै हिँड्ने मेरो भाइ सप्तलाई र अन्य उपस्थितिलाई कुनै हतार हुन्थेन । हामी मजाले स्वस्थानी सुन्थ्यौँ र त्यसभन्दा मजाको प्रसाद खाँदै घरतिर हिँड्थ्यौँ ।
मैले देखेको नभए नजिकबाट अनुभूत गरेको पहिलो किताब यही स्वस्थानी थियो ।
लाटो दाइको मुखारविन्दबाट स्वस्थानी सुनेर ‘दीक्षित’ भएपछि एकदिन अकस्मात् मैले सुनेँ– मेरो टोलको राणाकालीन अड्डा घरमा कसैले पुराण भन्दै छन् । म दौडेँ । अड्डाघरमा मेरो बाबु पुस्ताका मानिसहरूको विशाल उपस्थितिलाई दङदास पारेर एकजना गेरुवा वस्त्र धारी मुडुला पण्डितले प्रभावशाली ढंगले पुराणका कथा भन्दै रहेछन् । म पनि दङदास परेँ । म दङदास पर्नुको आफ्नै एक कारण पनि थियो । म लाटो दाइको लाटो पारामा अभ्यस्त बालक थिएँ । मुडुलो पण्डित असाध्य बाठो र छिटो पाराका थिए । म यी दुई विपरीत ध्रुवका बीच फँसेको थिएँ ।
पछि थाहा भयो, गेरुवा वस्त्रधारी मुडुला पण्डित श्री १०८ स्वामी देवानन्द रहेछन् । उनले पुराण होइन, अठार पर्व भएको विशाल महाभारतका कथाहरू भनेका रहेछन् । मैले उनको आसन अगाडि विशाल र सचित्र महाभारतको ठेली किताब पनि देखेँ । मैले नजिकबाट अनुभूत गरेको दोस्रो किताब यही महाभारत थियो, जुन मलाई अहिले पनि विश्वको सबैभन्दा उत्कृष्ट साहित्य लाग्छ ।
मेरो किताब यात्रामा एक अप्रत्याशित मोड तब सुरु भयो जब म नेपाली आदर्श विद्यालय, बोर्डिङ स्कुल लामाचौर– हालको गण्डकी आवासीय उच्च माध्यमिक विद्यालयमा कक्षा पाँचमा भर्ना गरिएँ । म त्यसबेला एघार वर्षको थिएँ । इसाई मिसनरीहरूको सहयोगमा स्थापना गरिएको विद्यालय भएको हुनाले त्यहाँ अघोषित रूपमा इसाई धर्म प्रचार गरिन्थ्यो । हामीलाई खाने बेला, सुन्ने बेला, परीक्षा दिने बेला इसाई प्रार्थना गर्न सिकाइन्थ्यो । हामीलाई बाइबलका नयाँ नियम र पुराना नियमका किताबहरू देखाइन्थ्यो । कक्षा आठ–नौमा पुग्दासम्म हामीले इसाई धर्म प्रचारको विरोध गर्न थालेका थियौँ । प्रार्थना गर्न, इसाई भजन गाउन छोडेका थियौँ । तर, बाइबलका कथाहरूले भने मलाई आकृष्ट गरेका थिए । मैले नजिकबाट अनुभूत गरेको तेस्रो किताब बाइबल नै थियो ।
बोर्डिङ स्कुलमा अध्ययन गर्दा, मलाई सम्झना छ, शान्ति सुब्बा सरले हामीलाई पहिलोपल्ट महाकवि देवकोटाको ‘मुनामदन’ सस्वरवाचन गरी सुनाउनुभएको थियो । त्यसैले मैले नजिकबाट अनुभूत गरेको चौथो पुस्तक र पहिलो नेपाली साहित्यको किताब निश्चय पनि ‘मुनामदन’ नै थियो । पछि मैले महाकविको ‘मुनामदन’ र गोपालप्रसाद रिमालको ‘मसान’ लाई भक्त सरको आवासमा अध्ययन गर्ने टेबिलमाथि राखिएको देखेँ अनि अभिरुचिपूर्वक अध्ययन गर्ने कोसिस गरेँ ।
कक्षा दसमा पुग्दासम्म म छुट्टीमा घर जाँदा नाटक र उपन्यासका किताबहरू किनेर पढ्ने भइसकेको थिएँ । त्यस समयमा अहिलेको पालिखेचोक भन्ने ठाउँमा तीनचारवटा किताब दोकान थिए । म ती किताब दोकानबाट देवकोटा, सम, गोपालप्रसाद रिमाल, भीमनिधि तिवारी, गोविन्द गोठाले, विजय मल्ल आदिका किताब किन्थे र प्राय: एउटा किताब रातभरिमा पढिसिध्याउँथे । ती किताब दोकानमा युधिरशमशेर थापा, सुवास र दीर्घवाहुका किताबहरू पनि पाइन्थे । हिन्दीका सस्ता उपन्यास पनि पाइन्थे । म पाएजति र किन्न सकेजति सबै पढ्ने । पढाइको भूत नै सवार थियो जुन क्याम्पस पुगेपछि अरू तीव्र भयो ।

क्याम्पस पुगेपछि स्वाभाविक थियो, मेरो अध्ययनको क्षेत्र सीमित रहेन । म नेपाली साहित्यका किताबबाहेक हिन्दी र अंग्रेजी साहित्यका उत्कृष्ट किताब पनि अध्ययन गर्न थालेँ । हिन्दी र हिन्दी अनुवादमा प्रेमचन्द, बङ्किमचन्द, शरद्चन्द्र, रवीन्द्रनाथ टैगोर, अज्ञय, निर्मल वर्मा, मुक्तिबोध, रेणु, जवाहरलाल नेहरू, मोहन राकेश, बादल सरकार, विजय तेन्डुलकर, धर्मवीर भारती आदि । अंग्रेजी र अंग्रेजी अनुवादमा सेक्सपियरदेखि हेनरिक इब्सेनसम्म, थोर्टन उइल्डरदेखि युजिन आयनेस्कोसम्म, वाल्टर ह्विटम्यानदेखि पाब्लो नेरुदासम्म, तोल्स्तोयदेखि हेमिङ वेसम्म, ओ हेनरीदेखि मोपासाँसम्म, गोर्कीदेखि गार्सिया मारक्वेजसम्म, काफ्कादेखि लु सुनसम्म । मैले अध्ययन गरेका विश्वसाहित्यका केही महान् साहित्यकारहरूको नाम सम्झँदै जाने हो भने अरू सैयौँ नामको क्यु लाग्न सक्छ । क्याम्पसकालमा दार्शनिक र वैज्ञानिक अभिरुचिका कारण मैले विश्व दर्शन र विज्ञानका केही महत्त्वपूर्ण किताबहरू अध्ययन गर्ने शौभाग्य पनि पाएँ । तर, मलाई ज्ञान छ र म यो कुरा इमानदारितापूर्वक भन्न चाहन्छु, मैले नेपाली साहित्यका साथसाथै विश्व साहित्य, धर्म, दर्शन, इतिहास, विज्ञान र अन्य क्षेत्रका हजारौँ किताब अध्ययन गरेको भए पनि महान् किताब अध्येताका सामु मेरो अध्ययन नगन्य नै लाग्छ । थोरै अध्ययनले किताब यात्राको महान् अनुभूति गर्न सकिँदैन । मलाई लाग्छ, म ज्ञानको समुद्रमा होइन एउटा नदीको प्रारम्भिक रचना प्रक्रियामै छु त्यसैले मैले महान् यात्राको महान् अनुभूति सँगाल्न अरू धेरै अध्ययन गर्नु आवश्यक छ, अरू धेरै चिन्तनमनन गर्नु आवश्यक छ ।
किताबको यात्रा जीवनको एक असमाप्त यात्रा पनि हो । मलाई खुसी लागेको छ, लक्ष्य टाढा धेरै टाढा भए पनि म यो यात्रामा छु । एक समय महान् वैज्ञानिक आइन्सटाइनले भनेका थिए– कल्पना ज्ञानभन्दा महत्त्वपूर्ण हुन्छ । म सहमतिपूर्वक भन्न चाहन्छु, कल्पना ज्ञानसहित झन् महत्त्वपूर्ण हुन्छ । यो झन् महत्त्वपूर्ण उपलब्धिका लागि किताबको यात्रा सबै सापेक्षमा एक निर्विकल्प यात्रा हो ।

प्रतिक्रिया