राजधानीमा सररर रात्रिबसैमा

काठमाडौं, २ भदौ । बेलुका सार्वजनिक गाडी नपाइने चिन्ताले दिन ढल्कँदै जाँदा कामै छाडेर हिँड्नुपर्ने बाध्यताबाट राजधानीका कामकाजीले छुट्कारा पाएका छन् । महानगरपालिका र यातायात व्यवसायीको पहलमा शुक्रबारदेखि रात्रि रुटमा १४ वटा बस सञ्चालनमा आएपछि कामकाजी व्यक्तिले राहत पाएका हुन् । रात्रिबस बेलुका ८ बजेदेखि तीन घन्टा सञ्चालन हुनेछ ।
काठमाडौं र ललितपुरका रुटमा शुक्रबारदेखि तीन घन्टा रात्रिबस सञ्चालन हुने जानकारी महानगरपालिकाका प्रशासन प्रमुख साधुराम भट्टराईले दिएका छन् । चक्रपथलगायत काठमाडौंको र ललितपुरका पाच रुटमा १४ वटा बस सञ्चालन हुनेछन् । बस सञ्चालनको उद्घाटन उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले गरे । उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले महानगरपालिकाले साँच्चै महानगरपालिका बनाउन पहल गरेको यो पहिलो भएको भन्दै पं्रशंसा गरे ।
प्रशासन प्रमुख भट्टराईका अनुसार रात्रि रुटमा चल्ने बसमा विद्यार्थीलाई सहुलियत दिइनेछैन । रात्रि रुटका १४ वटा बस चक्रपथ, कलंकी र कोटेश्वरबाट दायाँ–बायाँ चारवटा गुड्नेछन् भने भित्री रुटमा वीर अस्पताल अगाडिबाट कलंकी, कोटेश्वर, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (बाँसबारी), जोरपाटी र लगनखेल हुँदै सातदोबाटो रुटमा चल्नेछन् । महानगरपालिका र व्यवसायीको सम्झौताअनुसार पाँच रूटमा एकातिरबाट बस छुटेपछि त्यसको अर्कापट्टिबाट पनि अर्को बस एकै समयमा छुट्नेछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले यात्रुको चाप र सुरक्षा अवस्था हेरेर रात्रि बस थपिँदै लगिने बताए । रात्रिबसमा टिकटको व्यवस्था पनि गरिएको छैन ।
रात्रिकालीन बसमा असुरक्षा हुने डरले प्रत्येक बसमा हतियार र सञ्चार सेटसहित दुईजना सुरक्षाकर्मी रहनेछन् । त्यसैगरी, बस स्टपमा निगरानीका लागि चारजनाको समूहमा प्रहरी मोबाइल टोली हतियारसहित रहने जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी धीरजप्रताप सिंहले दिए । बसमा सिसिटिभीसमेत जडान गरिएको छ । रात्रि समयमा पाकेटमारा, मादकपदार्थ सेवन गरेका व्यक्ति, बस दुर्घटना र महिलामाथि हुने दुव्र्यवहारलाई ध्यानमा राखी प्रहरी परिचालन गरेको बताइएको छ ।
वीर अस्पतालअगाडिको बस स्टपबाट पाँच भित्री रुटमा बस छुट्नेछन् भने कोटेश्वर र कंलकीबाट चक्रपथका लागि बस छुट्नेछ । महानगरपालिकाका अनुसार भित्री रुटको सुरु स्टप वीर अस्पतालअगाडिबाट अन्तिम स्टपका लागि ८ बजे बस छुट्नेछ भने अन्य रुटबाट पनि सोही समयमा गुड्नेछन् ।

रात्रिबस सञ्चालन हुने रुट
चक्रपथ परिक्रमा (चारवटा)
क) कलंकीबाट नयाँबसपार्क, चाबहिल, कोटेश्वर, सातदोबाटो हुँदै कलंकीसम्म
ख) कलंकीबाट सातदोबाटो, कोटेश्वर, चाबहिल, नयाँबसपार्क हुँदै कलंकीसम्म
ग) कोटेश्वरबाट चाबहिल, नयाँबसपार्क, कलंकी, सातदोबाटो हँुदै कोटेश्वरसम्म
घ) कोटेश्वरबाट सातदोबाटो, कलंकी, नयाँबसपार्क, चाबहिल हँुदै कोटेश्वरसम्म
भित्री सहरी रुट (वीर अस्पतालबाट)
क) रत्नपार्क (वीर अस्पताल अगाडि)बाट दुईवटा बस सहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन, कलंकी आवत–जावत
ख) रत्नपार्क (वीर अस्पताल अगाडि)बाट दुईवटा बस जमल, केशरमहल, लाजिम्पाट, महाराजगन्ज हुँदै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र आवत–जावत
ग) रत्नपार्क (वीर अस्पताल अगाडि)बाट दुईवटा बस भृकुटीमण्डप, कृष्ण पाउरोटी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गौशाला, चाबहिल हुँदै जोरपाटी आवत–जावत
घ) रत्नपार्क (वीर अस्पताल अगाडि)बाट दुईवटा बस सिंहदरबार, बबरमहल, तीनकुने, सिनामंगल भई तीनकुने हुँदै कोटेश्वर आवत–जावत
ङ) रत्नपार्क (वीर अस्पताल अगाडि)बाट दुईवटा बस सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, पाटन अस्पताल हुँदै सातदोबाटो रुटमा आवत–जावत

प्रतिक्रिया