गठबन्धन राष्ट्रघाती र विखण्डनवादीः खनाल

काठमाडौं, १ भदौ । एमाले अध्यक्ष झलनाथ खनालले सत्तारुढ दलहरुको वर्तमान गठबन्धन राष्ट्रघाती र विखण्डनवादी सोंचको उपज रहेको टिप्पणी गरेका छन् ।
नुवाकोटको सदरमुकाम विदुरमा आज एमालेले आयोजना गरेको कर्याक्रममा उनले एमाओवादीको तानाशाही शासन सञ्चालन गर्ने रणनीति पूरा गर्न गठबन्धन निर्माण भएको आरोप लगाए ।
अध्यक्ष खनालले वर्तमान गठबन्धन उग्रबामपन्थी र उग्रदक्षिण पन्थीहरुको गठबन्धन भएकोले यसले सहमतिको ढोका नखोल्ने दाबी गरे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा निर्माण भएको ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’को एमालेले सुरु देखिनै विरोध गर्दै आएको छ ।
उनले एमाओवादीले देखेको एकदलीय तानाशाही शासन व्यवस्था कुनैपनि हालतमा मुलुकमा नटिक्ने बताए । उनेले भने, ‘एमाओवादी रणनीतिका विरुद्ध एमालेले आफ्नो नेतृत्वमा देशव्यापी आन्दोलन गर्ने तयारी गरिरहेको छ ।’
विपक्षी गठबन्धनको प्रमुख दल कांग्रेसले पनि यथास्थितिवादी सोंच त्याग्न नसकेको उनको आरोप थियो । उनले संविधानसभाको विघठन गरेर देशलाई एमाओवादी र उसका सहयोगी दलहरुले अनिर्णयको बन्दी बनाएको बताए ।
‘वर्तमान सरकारको उदेश्य निर्वाचन गराउनु नभई देशमा अस्थिरता ल्याउनु हो,’ उनले भने, ‘राष्ट्रवादको खोक्रो आदर्श देखाउने एमाओवादीले भारतवाट ल्याईएको भाडाका बन्दुकले आफ्नै देश र जनता विरुद्ध युद्ध लडेको पुष्टि भईरहेको छ ।’
एमाले पोलिटव्युरो सदस्य महेन्द्र पाण्डे, वागमती अञ्चल ईन्चार्ज पशुपती चौलागाईलगायतले जातीय राज्यको विरोध गर्दै एकल जातीयताको कुरा गर्नेहरु आफ्नो पार्टीलाई आवस्यक नरहेको वताए । उनले मुलुकलाई जातीय राजनीतिक गर्ने नेता अवाश्यक नरहेको बताए ।

प्रतिक्रिया