पूर्वमाओवादी लडाकु गाईपालनमा

नेपालगन्ज, १ भदौं । कुनैबेला माओवादीका लागि बन्दुक बोकेर लडाइँमा तल्लीन हुने लडाकुहरू अहिले पशुपालन पेसामा लागेका छन् । बन्दुकको बिसर्जनसँगै माओवादी लडाकुहरू घरको न घाटको भइरहेका बेला बाँके कचनापुरमा तीनजना पूर्वलडाकुले व्यावसायिक गाईपालन सुरु गरेका छन् ।
विघटित जनमुक्ति सेनाको नवलपरासी शिविरमा कार्यरत रहेका कम्पनी कमान्डर रविन केसी, ब्रिगेड सहायक कमान्डर मानबहादुर रोका र सहायक कमान्डर नरेन्द्र बोहराले संयुक्त रूपमा बाँके कचनापुरस्थित टिकुलीपुरमा गाईपालन व्यवसाय सुरु गरेका छन् । सो गाई फर्ममा स्थानीय नवीन गौतमको पनि लगानी रहेको छ ।
स्वैच्छिक अवकाश रोजेर घर फर्केका उनीहरूले आत्मनिर्भर बन्न र आधुनिक कृषि प्रणालीमा जानका लागि गाई फर्म खोलेको बताएका छन् । ‘यो समयको माग हो,’ फर्म सञ्चालक रविन केसीले भने, ‘कृषिमा पनि सुधार आउनुपर्छ र काम गर्न पछि हट्न हुन्न भन्ने उद्देश्यले फर्म खोलेका हौँ ।’
चारजनाको सहकार्यमा करिब १३ लाख रुपियाँको लगानीमा बाटो, गाई गोठ निर्माण र गाई खरिद गरी ‘भूपू पिएलए नमुना गाई फर्म’ सञ्चालन गरेका पूर्वलडाकुले तत्काल १७ वटा उन्नत जातका गाई पालेका छन् ।
तत्काल थोरै संख्यामा गाई खरिद गरिए पनि यो वर्षसम्ममा एक सय गाई थप्ने र आफ्नै दूध डेरी सञ्चालनमा ल्याउने योजना रहेको पूर्वकम्पनी कमान्डर केसीले बताए । उनले अवकाश रोजेर फर्केका अन्य लडाकुले आफूहरूबाट पाठ सिक्नुपर्ने बताए । मान्छे कामले सानो नहुने भन्दै आफू कहिले कापी–कलम त कहिले गोली बारुद हुँदै अहिले गाईको थुनसँग खेल्ने मौका पाएकोमा उनी गर्व गर्छन ।
आफूले अवकाश रोजेर फर्के पनि आस्था भने नमरेको उनीहरूले बताए । ‘परिस्थितिले गर्दा मात्र हामीहरू बाहिरिएका हौँ,’ पूर्वलडाकुले भने । आफूहरूलाई अपमानजनक समायोज स्विकार्य नभएकाले अवकाश रोजेर केही गर्नुपर्छ भन्ने मान्यता लिएको र टिकुलीपुर गाईपालनको उपयुक्त क्षेत्र भएकाले सो ठाउँ रोजेको उनीहरूले बताए । अहिलेको समायोजन प्रक्रिया अपमानजनक भएको र नेतृत्व चुकेको उनीहरूको आरोप छ । अहिलको राजनीतिक माहोल डामाडोलको स्थितिमा पुगेको उनीहरूको ठहर छ । राजनीतिक निकासका लागि आर्थिक विकास आवश्यक रहेकाले गर्दा पनि आफूहरू आर्थिक क्रान्तिमा होमिन व्यवसायतर्फ लागेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया