गठबन्धनको औचित्यबारे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौं, १ भदौं । सत्तारूढ दल एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आबद्ध दलका नेताहरूले बिहीबार राष्ट्रपति डा. रामवरण यादवसँग भेट गरेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बुधबार घोषणा गरिएको गठबन्धनले बिहीबार शीतलनिवास पुगी राष्ट्रपति
डा. यादवलाई आºनो नीति तथा कार्यक्रमबारे जानकारी गराएको छ । राष्ट्रपतिसँगको भेटमा गठबन्धनमा सामेल एमाओवादी, मधेसी तथा साना २१ दलका प्रतिनिधि सहभागी थिए ।
भेटपछि गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले सञ्चारकर्मीसँग गठबन्धनको नीति तथा कार्यक्रमबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रतिक्रिया दिए । भेटवार्ताका क्रममा राष्ट्रपतिले गठबन्धनका संयोजक तथा एमाओवादी अध्यक्ष दाहाललाई सहमतिको वातावरण तयार पार्न सुझाव दिएको प्रवक्ता सिंहले बताए । ‘राष्ट्रपतिले गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा मुलुकको नेतृत्वको जिम्मेवारी दाहालको काँधमा रहेको र यसलाई गम्भीर रूपमा लिई दलहरूबीच सहमतिको वातावरण बनाउन सुझाव दिनुभयो,’ सिंहले भने ।’
प्रमुख दलहरू एक हुनुपर्ने राष्ट्रपतिको अभिव्यक्तिपछि दाहालले गठबन्धनको अध्यक्षको हैसियतले आफूले सबै दललाई एकठाउँमा ल्याउने प्रतिबद्धता जनाएका थिए ।
भेटपछि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाटै संविधान चाहेकाले गठबन्धनले नै अरू दललाई सहमतिमा ल्याउने दाबी गरे । भिडन्त ल्याउन गठबन्धन नबनेको उल्लेख गर्दै श्रेष्ठले भने, ‘हामी चाँडै कांग्रेस, एमालेलगायत दलसँगको छलफल अगाडि बढाउँछौँ ।’

राष्ट्रपति र प्रधानमन्त्री मिलेर निकासको पहल गर्ने
राष्ट्रपति र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच पनि बिहीबारै भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर निकास दिन पहल गर्ने सहमति भएको स्रोतले बताएको छ ।
भेटपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री भट्टराईले समसामयिक राजनीतिक अवस्था, दलीय सहमतिका लागि भइरहेको प्रयासलगायत विषयमा राष्ट्रपतिसँग छलफल भएको जानकारी दिए । उनले भने, ‘बाहिर हल्ला गरिएजस्तो राष्ट्रपतिसँग मेरो कुनै विवाद छैन ।’
आफूले राष्ट्रपतिलाई एक्काइस दलको मोर्चाले राजनीतिक संकट निवारणमा सकारात्मक पहल गर्ने जानकारी दिएको प्रधानमन्त्रीले सञ्चारकर्मीलाई बताए । गठबन्धन मोर्चाका नेताहरूले राष्ट्रपतिलाई भेटेलगत्तै प्रधानमन्त्री शीतलनिवास पुगेका थिए । उनीहरूबीच करिब एक घन्टा छलफल भएको थियो ।

प्रतिक्रिया